एपेक्सको भूतले एनसीसी बैकमा तनाव

एपेक्स डेभलपमेन्ट बैंकको भूतले एनसीसी बैकमा तनाव निम्तयाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक सञ्चालक विष्णुप्रसाद धिताललाई शुक्रबार बिहान पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । सञ्चालक धिताललाई पक्राउ गरे लगत्तै बैंकको कर्पाेरेट कार्यालय बागबजार पुगेको सीआईबीको टोलीले १३ जना कर्मचारीलाई समेत पक्राउ गरि आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।
शुक्रबार बिहान चुक्तापुँजी वृद्धिका लागि बैंक सञ्चालक राष्ट्र बैकमा पुगेका थिए । बैठक बसेपछि खानाखाने बेलामा सीआईबीले हाेटलबाट पक्राउ गरेको हो । सीआईबी ले बैंकिङ कसुर गरेको अभियोगमा एनसीसी बैकका १३ जना कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैंकका सहायक महाप्रबन्धक ऋषिराज भट्टसहित अन्य उच्च अधिकारीहरू छन् । पक्राउ परेका सबै तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारी रहेको सीबीआईले जनाएको छ । तत्कालिन एपेक्स डेभलपमेन्टका अध्यक्ष विष्णुप्रसाद धिताल, सञ्चालक इच्छाबहादुर गुरुङ सुवर्णराज भण्डारी र मधुवनलाल श्रेष्ठलाई पक्राउ गरेको छ । यस्तै तत्कालिन एपेक्सका कामु प्रमुख कार्यकारी अधिकृत ऋषिराज भटट् सहित १३ जनालाई पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ ।
०७२ मंसिर २१ गते मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरे पश्चात सोको फाइदा उठाउदै तत्कालिन एपेक्स डेभेलपमेन्ट बैंकले दरबार मार्ग , लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैया हानीनोक्सानी पुर्याउनेलाई शुक्रबार पक्राउ गरेको सीआईबीले जनाएको छ ।
सीआईबी प्रमुख पुष्कर कार्कीले बैंकमा छापा मारेर कर्मचारीलाई नियन्त्रणमा लिएको बताए । खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्सका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धितालले व्यवस्थापनसँग मिलेर कर्जाको दुरुपयोग गरेकोले एपेक्स डेभलपमेन्ट बैंकको २ अर्ब रुपैयाँ कर्जा दुरुपयोग गरेको अभियोगमा सीआईबीले अनुसन्धान थालेको थियाे । विभिन्न स्थानबाट पक्राउ गरी बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको सीआईबीले जनाएको छ ।
मर्जरमा साइन गरेपछि एक करोडमाथिको ऋण दिनु परे मर्जर समितिलाई जानकारी गराउनु पर्ने सहमति विपरित ऋण लगानी भएको थियो। एपेक्सले एक करोड भन्दा सानो फाइल बनाउँदै दुई अर्ब ऋण लगानी गरेको अनुसन्धानमा देखिएको छ।
एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्ज भइसकेको छ । एनसीसीका लगानीकर्ता, कर्मचारी सबैलाई अब एनसीसी वित्तीय रुपम बलियो भएको तथा बैंक अगाडि बढ्नेमा आशावादी थिए । तर, पुस मसान्तको वित्तीय विवरणले सबैलाई आश्चर्यमा पार्याे । बैंकको नाफा जम्मा ७ करोड ७६ लाख रुपैयाँ थियो । बैंकले नोक्सानी व्यवस्थाको लागि ६६ करोड रुपैयाँ छुट्याएको थियो । मर्जरमा जोडिन आएको एपेक्स डेभलपमेन्ट बैंकको खराब कर्जाको कारण एनसीसीको मर्जरको सुरुवात नै नराम्रो तरिकाबाट भयो ।
एपेक्सको झण्डै १ अर्ब ५२ करोड रुपैयाँ कर्जा उठ्न नसक्ने देखिएपछि नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानीको व्यवस्था (प्रोभिजन) गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको सञ्चालक समिति बैठकमा ऋण दूरुपयोगको फाइल पुगेपछि राष्ट्र बैंकले नै केही दिन अघि सीआईबीलाई १२ दिनअघि कारवाहीको सिफारिस गरेको थियो। राष्ट्र बैंकले छानविन गर्न सीआईबीमा विवरण पठाएपछि उसले अनुसन्धान थालेको हो । कमसल धितोमा ऋण दिएको २ अर्ब रुपैयाँमध्ये ४८ करोड रुपैयाँ फिर्ता भइसकेको छ ।
एनसीसीले एपेक्ससहित ४ वटा विकास बैंकलाई गाभेर एकीकृत कारोबार गरेको थियो । एपेक्स गाभ्न राष्ट्र बैंकले नै अनुमति दिएको भएतापनि बैशाख २८ मा उच्च अदालत पाटनले एपेक्स डेभलपेमन्ट बैंकको हिसाब छुुट्टै राख्न एनसीसीलाई अन्तरिम आदेश जारी गरेको थियो ।
कुनै समय अत्यन्त खराब स्थितीबाट गुज्रिएको एनसीसीमा सुधारको प्रक्रिया चलिरहेको छ । विगतमा मुख्य लगानीकर्ता रहेको विवादास्पद एनबी ग्रुपसँग सम्बन्धित ऋणहरु धेरै उठिसकेको छ । अब पुरानो मध्येको हरिसिद्दिको जग्गा बिक्रीको विषय मात्र टुंगो लाग्न बाँकी छ । अदालतमा मुद्दा परेको हुँदा जग्गा लिलामीको प्रक्रिया अघि बढेको छैन ।
तर, बैंकले मर्जरपछि बिग्रेको ऋण उठाउनको लागि लोन फाइलको शुक्ष्म अध्ययन गर्दा मर्जर सम्झौतापछि एपेक्समा ऋण दिदा कतिपय क्षेत्रमा गल्ती भेटिएको थियो ।
पक्राउ पर्नेहरु;
|
सिबिआईले एनसिसी बैंकका कर्मचारी पक्राउ गर्नुपर्ने कारणबारे यस्तो बताएको छः
– कमशल धितो, भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाहरुको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको ।
– कृतिम ऋणीहरु खडा गरिएको ।
– निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको ।
– ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको ।
– मोटर बाटो नभएको भिरालो पाखो बारीहरु खेत, वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको ।
– धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच, रोक्का, कर्जा तमसुक, कर्जा प्रवाह एकै दिनमा गरेको ।
– कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको ।
– कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको ।
– सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पुनः दोस्रो कर्जा प्रवाह गरेको ।
– एउटै व्यक्ति सञ्चालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको ।
– सर्वसाधारण निक्षेपकर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको ।
– अधिकांश धितो मूल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको ।