खराब कर्जा घटाउँदै बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले आफ्नो खराब कर्जा अघिल्लो वर्षको तुलनामा यस वर्ष घटाएको छ । बुधबार त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले खराब कर्जा १.५३ प्रतिशतमा पु-याएको जनाएको हो ।
बैंकले यो वर्ष ०.५९ प्रतिशतले खराब कर्जा घटाएको हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकको खराब कर्जा २.१२ प्रतिशत थियो । त्यस्तै, बैंकले खुद ब्याज आम्दानी गतवर्षको तुलनामा १४ करोड ३४ लाख ९६ हजारले बढाएको छ ।
गत वर्ष सोही अवधिमा बैंकको खुद आम्दानी २ अर्ब ८७ करोड ८७ लाख ८० हजार थियो । खुद ब्याज आम्दानी १४ करोडले बढाए पनि यो पटक बैंकले खुद नाफा भने खासै कमाउन सकेन । सार्वजनिक विवरण अनुसार बैंकले चैत मसान्तसम्ममा ८७ करोड ३४ लाख ९३ हजार खुद नाफा कमाएको छ ।
यो गत वर्षको सोही अवधिको भन्दा नाफा २७ प्रतिशतले कम हो । गत वर्ष बैंकले १ अर्ब २० करोड ४६ लाखको नाफा कमाएको थियो । यो अवधिमा बैंकले ७८ अर्ब ७२ करोडको कर्जा लगानी गरेको छ भने ८९ अर्ब ७७ करोडको निक्षेप संकलन गरेको छ ।