एनआरएनएद्वारा डेढ दर्जन देशमा राहत वितरण «

एनआरएनएद्वारा डेढ दर्जन देशमा राहत वितरण

कोरोना भाइरस महामारीबाट प्रभावित देशहरूमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत वितरणलाई तिव्रता दिएको छ । समस्यामा परेका विद्यार्थीहरू, काम गुमाएका नेपालीहरूलाई लक्षित गर्दै संघले राहत वितरणलाई तिव्रता दिएको हो । कतिपय मुलुकहरूमा ‘कोभिड–१९’ ले प्रभावित परिवारका सदस्यहरूलाई खाद्यसामग्री पु¥याएर संघले सहयोग गरेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष तथा ‘कोभिड–१९’ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तका अनुसार डेढ दर्जनभन्दा बढी राष्ट्रिय समन्वय परिषद्हरू सक्रिय भइसकेको बताए । अध्यक्ष पन्तले भने, “यो बेला भनेको एकले अर्कोलाई सहयोग गर्ने बेला हो । मलाई आशा छ ८० भन्दा बढी शाखाका साथीहरू नै सहयोगी अभियानमा लाग्नु हुनेछ ।” तत्कालका लागि न्यूनतम आवश्यकता पूरा गर्न एकले अर्कोलाई सहयोग गर्नुनै अहिलेको प्राथमिकता भएको अध्यक्ष पन्तले बताए ।
एनआरएनए अष्ट्रेलियाले ३ सय ९० जना विद्यार्थीलाई राहत वितरण गरिसकेको छ । संघका महासचिव ज्ञानेन्द्र रेग्मीका अनुसार दाल, चामल, चिनीलगायत दैनिक खाद्यान्न खरिद सामग्रीहरू खरिदमा संघले २० हजार डलर खर्च गरिसकेको छ । “१ हजार १ सयभन्दा बढी नेपालीले फाराम भरेर राहतको माग गरेका थिए । हामीले ५० हजार डलरको राहत कोष बनाएर राहत वितरणलाई तीव्र पार्दै छौं ।” महाचिव रेग्मीले भने ।
अष्ट्रेलियस्थित सक्रिय पत्रकार हेमन्त काफ्लेका अनुसार एनआरएनएको राहत वितरण कार्य निकै प्रभावकारी बनेको छ । कामकाज ठप्प भएपछि विद्यार्थीहरूलाई एनआरएनको राहत प्याकेजले ठूलो सहयोग मिलेको काफ्लेको भनाइ छ ।
एनआरएनए अमेरिकाले करिब ४ सय जना विद्यार्थीहरूलाई राहत वितरण गरिसकेको छ । संघका अध्यक्ष सुनिल शाहका अनुसार उनीहरूलाई दाल, चामल, पिठो, चिनीलगायत दैनिक खाद्यान्न खरिद सामग्रीहरू वितरण गरिएको हो ।” भौतिक सामग्रीलगायत दैनिक टेलिफोन सेवा पनि संघले उपलब्ध गराएको छ । पछिल्लो दुई सातमा करिब २ हजार नेपाली कानुनी तथा जनचेतना कार्यक्रमबाट खुसी छन् ।” अध्यक्ष शाहले भने । एनआरएनए अमेरिकाले १४ हजार डलर आर्थिक संकलन गरेको छ ।
यस्तै अफ्रिका क्षेत्रमा रहेका नेपालीहरूले समेत राहत संकलन सुरु गरेका छन् । संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाका अनुसार त्यहाँ रहेका नेपालीहरूले एनआरएनए अफ्रिका क्षेत्रीय कोषको स्थापना गरेर काम अघि बढाएका छन् । हालसम्म सो कोषमा १० हजार डलर जम्मा भएको छ ।
साइप्रसमा ५ देखि ७ हजार विद्यार्थीहरू समस्यामा परेपछि एनआरएनए साइप्रसले घर–घरमै राहत पु¥याउने व्यवस्था गरेको छ । संघका प्रवक्ता दिनेश गौतमका अनुसार ४ सय ५६ जना विद्यार्थीले राहत पाइसकेका छन् । त्यहाँ अध्ययनरत विद्यार्थीहरूले आफूहरू नेपाल फर्कन चाहेको इच्छा व्यक्त गर्दै नेपाली राजदूतावास इजरायलमार्फत नेपाल सरकारलाई घर फर्काउन अनुरोधसमेत गरेका छन् ।
गैरआवासीय नेपाली संघ यूएईले वैदेशिक रोजगारीमा अलपत्रमा परेका नेपालीहरूका लागि राहत वितरणलाई तीव्रता दिएको छ । संघका अध्यक्ष प्रकाश कोराइराका अनुसार गत सातादेखि हालसम्म १ हजार जना नेपालीलाई राहत वितरण गरिएको जानकारी दिए । यस्तै गैरआवासीय नेपाली संघ कतारले तीन सयभन्दा बढी कोरोना पीडितलाई राहत वितरण गरेको संघले जनाएको छ । एनआरएनए स्पेनले १ सय ६७ जना, पोर्चुगलले १ सय ३३ जना, इटालीले २० जना नेपालीहरूलाई राहत वितरण गरिसकेको छ ।
फ्रान्स, अष्ट्रिया, बहराइन, साउदी अरब, क्यानाडा, अमेरिका, हङकङलगायतका देशहरूमा राहत वितरण कार्य सुरु भइसकेका छन् ।
संघका विश्वभर छरिएका ८० भन्दा बढी शाखाहरूमा आर्थिक तथा राहत सामग्री वितरणको विवरण संकलन गर्ने तयारी गरेको संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जनाकारी दिए । श्रेष्ठले विश्वभरको राहत संकलनमा भएका प्रगति विवरणहरूको अभिलेख लेख्ने काम सुरुभै सकेको बताए ।
प्रारम्भिक रिपोर्टअनुसार हालसम्म करिब ३ हजार गैरआवासीय नेपालीहरूले राहत प्राप्त गरेका छन् । तर, एक सातापछि ठूलो संख्यामा नेपालीहरूले राहत प्राप्त गर्ने संघले अपेक्षा राखेको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले राहतको कार्यलाई आगामी सातामा अझ तिव्रता दिनका लागि पूर्णरूपमा तयारी रहन एनसीसीहरूलाई आग्रह गरेका छन् ।
यसअघि दक्षिण कोरिया र हङकङ, अष्ट्रेलियालगायतका देशहरूले स्वास्थ्य सामग्रीसमेत वितरण गरेका थिए । एनआरएनएले दक्षिण कोरियाले गत सातामार्फत १ करोड ६० लाखबराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाएको थियो भने अन्य देशहरूले त्यहाँस्थित नेपाली समुदायलाई स्यानिटाइजर, माक्स, थर्ममिटर वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्