कञ्चनपुरमा २०६ शैय्याको क्वारेन्टाइन

कञ्चनपुरमा कोरोना भाइरस (कोभिड–१९) को सर्तकता र व्यवस्थापनको प्रयासहरु गरिँदै आइएको छ । जिल्लामा क्वारेन्टाइन बनाउनेदेखि सीमा नाका बन्द गरिएको छ ।
जिल्लाको प्रमुख नाका गड्डाचौकीबाट आएका हजारौं नागरिकहरुलाई सामान्य तापक्रम परीक्षण गराएर छाडिएको छ । गएको डेढ सातायता मात्रै उक्त नाकाबाट करिब ७० हजार जना नेपालीहरु घर फर्किएका छन् ।
स्थानीय तहलगायत विभिन्न सरोकारवाला निकायले कोरोना रोकथामको उपाय गरिरहँदा स्वास्थ्यकर्मीको लागि भने स्वास्थ्य सामग्रीको अभाव भएको छ । ज्वरो नाप्ने थर्मल गनबाहेक सर्जिकल मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्रीको अभाव छ । स्वास्थ्यकर्मीले प्रयोग गर्ने पञ्जालगायत स्वास्थ्य सामग्रीको अभाव भएको महाकाली अस्पतालले जनाएको छ ।
“स्वास्थ्यकर्मीलाई न्यूनतम स्वास्थ्य सामग्रीको पनि अभाव छ,” महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “मास्क, सेनिटाइजर, व्यक्तिगत सुरक्षा उपकरण (पिपीई) को अभाव छ ।” अस्पतालले कोरोना सम्भावित बिरामीको उपचारको लागि भनेर केही दिनमै थप ३० वटा आइसोलेसन कक्ष बनाउने योजना गरेको छ । अस्पतालमा दिनहुँ जसो १४÷१५ सय बिरामी आउने भएपनि लकडाउनपछि भने सामान्य रुघाखोकी र ज्वरोको बिरामी मात्रै आउने गरेका जोशीले बताए । जिल्लाभर २ सय ६ शैयाको क्वारेन्टाइन स्थापना गरिएको छ ।