Logo

जमुनाह नाकाको हेल्थ डेस्कमा सेना

नेपालगन्ज, ८ चैत
नेपालगन्जको जमुनाह नाकास्थित हेल्थडेस्कमा सेना परिचालन गरिएको छ । कोरोनाको संक्रमण भित्रिन नदिन सञ्चालनमा ल्याइएको हेल्थडेस्कसमा सघाउन सेना परिचालन गरिएको हो ।
सेना परिचालन अन्य उद्देश्यले नभई भारतबाट आउने यात्रुहरूको स्वास्थ्य जाँचका लागि सहयोग गर्न परिचालन गरिएको हो । यसअघि प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा स्वास्थ्यकर्मीले भारतबाट आउँने यात्रुहरुको ज्वरो नाप्ने गर्दै आएका छन् । त्यसक्रममा धेरै यात्रु परीक्षण बिनै नेपाल भित्रिने गरेका थिए । हाल सीमामा कडाइ गरिएपछि जमुनाह नाकामा सबै नागरिकको सेनासहितको स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरिरहेका छन् । कोरोना संक्रमणको त्रास बढिरहेका बेला भारतबाट जमुनाह नाका हुँदै नेपाल भित्रिनेको संख्या बढ्दै गएपछि नाकामा निगरानी बढाइएको छ ।
स्वास्थ्य परीक्षण अनिवार्य गरेको तीन दिनमा जमुनाह नाकाबाट दैनिक ७ हजारभन्दा बढी यात्रु नेपाल भित्रिने गरेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ । यसरी प्रवेश गर्नेमा अधिकांस नेपाली छन् । त्यसबाहेक चोरबाटोबाट भित्रिनेको संख्या अत्यधिक छ । यसरी भित्रिने नागरिकका कारण नेपालगन्ज जोखिममा रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ४ का अध्यक्ष सफिक बेहनाले बताए । “यो नाका पूर्णरूपमा बन्द गर्नुपर्छ,” उनले भने, “त्यहाँबाट आउने नागरिकलाई दुई हप्तासम्म क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाउनु पर्छ ।”
जमुनाह नाकाको पूर्वतर्फ करिब डेढ किलोमिटरको दूरीमा तीनवटा सडक छन्, त्यहाँ सुरक्षाकर्मीको उपस्थिति नहँुदा अहिले साइकल, रिक्सा, मोटरसाइकल र पैदल यात्रु खुल्ला रूपमा ओहोरदोहोर गरिरहेका छन् । ओहोरदोहोर गर्नेमा प्रायः नेपालगन्जका उद्योग कलकारखानामा काम गर्ने भारतीय सीमाक्षेत्रका मजदुर र सामान क्यारिङ गर्नेहरू रहेको पाइएको छ ।

दुई देशका सुरक्षा अधिकारीद्वारा स्थलगत अनुगमन
शनिबार बिहान त्यहाँको अवस्थाको बारेमा नेपाल भारतका सुरक्षा अधिकारीहरूले ती बाटोको स्थल अनुगमन गरेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक माधव रिजाल, सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती नम्बर ४० गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक नवराज बोहरा, भारत लखिमपुरका एसएसबी डीआईजी अभिषेख पाठक, अगैयाका बटालियन कमान्डर एसपी प्रबिण कुमार लगायको टोलीले स्थलगत अनुगमन गरेका हुन । स्थलगत अनुगमन पश्चात नेपालका सुरक्षा अधिकारीहरूले अब ती बाटोहरू बन्द गर्नका लागि नेपाली सुरक्षाकर्मी परिचालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्