पेट्रोलियम पदार्थ आपूर्ति सहजः निगम

नयाँ सिलिण्डर बिक्रीमा रोक
नेपाल आयल निगमले कारोना भाइरसको संक्रमणका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नरहेको स्पष्ट पारेको छ ।
आइतबार प्रतिनिधिसभा अन्तर्गको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिले कारोनाका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पारेको हो । कारोना भाइरस संक्रमणको हल्लासँगै व्यापारीहरुले बजारमा एलपी ग्यास लगायतका पेट्रोलियम पदार्थको अभाव सृजना गराएको भन्दै सर्वत्र आलोचना भएसँगै समितिले निगमका प्रतिनिधिसँग छलफल गरेको हो ।
बैठकमा निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले कारोनाको त्रासका कारण खाना पकाउने ग्यास उपोभोक्ताले स्टक राख्न खोज्दा बजारमा अभाव जस्तो देखिए पनि माग अनुसारको आपूर्ति भइरहेको बताए । उनले व्यापारीहरुले माग गरेअनुसार नै पेट्रोलियम पदार्थको आयात भइरहेको भन्दै नयाँ ग्यासको सिलिण्डर बिक्रीमा रोक लगाउन निर्देशन जारी गरिसेको बताए ।
यसअघि समितिका सदस्यहरुले कोरोना भाइरसको त्रासका कारण बजारमा पेट्रोलियम पदार्थको अभाव सृजना गर्न खेजिएको भन्दै निगमको ध्यानाकर्षण गराएका थिए । उनीहरुले मन्त्री र कर्मचारीहरुले अभाव नएको भन्दै वक्तव्यबाजी गरिहँदा बजारमा अभाव देखिनु आपत्तिजनक भएको बताएका थिए ।
निगमका अनुसार पेट्रोलियम पदार्थको आयात खपत गत आर्थिक वर्षको तुलनामा यो वर्ष बढेको छ । विद्युत् आपूर्तिको समस्या समाधान भएपनि पेट्रोलियम पदार्थको खपत बढेको हो । जसमध्ये खाना पकाउने ग्यासको मासिक आयात खपत ९ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको साढे सात महिनामा एलपी ग्यास मासिक ३५ हजार ७ सय ६५ मेटिकटन औषत आयात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा मासिक ३८ हजार ८ सय ८३ मेटिकटन आयात खपत भएको छ । यस्तै, कारोना भाइरसको संक्रमण फैलिएसँगै डिसेम्बर, जनवरी र फेब्रुअरी महिनामा मात्रै १ लाख २२ हजार मेट्रिकटन अर्थात गत वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशत बढी आयात भएको छ । गत आर्थिक वर्षको डिसेम्बर, जनवरी र फेब्रुअरी महिनामा १ लाख १७ हजार मेटिकटन मात्रै ग्यास खपत भएको निगमले जनाएको छ ।