ग्यासको नयाँ सिलिन्डर बिक्री नगर्न आग्रह «

ग्यासको नयाँ सिलिन्डर बिक्री नगर्न आग्रह

उद्योग वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले खाना पकाउने ग्यासको नयाँ सिलिन्डर बिक्री नगर्न व्यवसायीहरूसँग आग्रह गरेका छन् । बजारमा ग्यासको कृत्रिम अभाव गराएर पुराना सिलिन्डर नसाट्ने र नयाँ सिलिन्डरमात्र बिक्री गर्नेगरेको गुनासो आएपछि नयाँ सिलिन्डर बिक्री नगर्न आग्रह गरिएको हो । कोरोना भाइरसको त्रासले गर्दा बजारमा ग्यासको अभाव हुन सक्ने भन्दै उपभोक्ताले ग्यास भर्न थालेपछि बजारमा सामान्य अभाव देखिएको छ । व्यवसायीले पुराना सिलिन्डर नसाट्ने नयाँ सिलिन्डर बिक्री गर्न थालेपछि आपुर्ति सचिव अर्यालले उद्योगी व्यवसायीलाई नयाँ सिलिन्डर बिक्री नर्गन निर्देशन दिएका हुन ।
एकै परिवारले धेरै सिलिन्डर मौज्दातमा राख्न खोज्दा अभाव हुने देखिएको भन्दै सचिव अर्यालले नयाँ सिलिन्डर बिक्रीवितरण रोक्न उद्योगीहरूलाई आग्रह गरेका हुन् । मंगलबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको आपुर्ति व्यवस्थाको विद्यमान स्थितिबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले बजारमा ग्यासको अभाव नभएकाले उपभोक्तालाई नआत्तिन आग्रह गरे ।
कोरोना भाइरसको प्रभाले गर्दा बजारमा मास्कको अभाव भएको उनको भनाई छ । मास्क उत्पादन नै हुन नसक्दा यसको अभाव भएको र समस्या समाधानका लागि पहल भइरहेको बताए । अत्यावश्यक सामाग्रीहरू मौज्दात राख्ने परिपाटी छाडेर भाइरसको संक्रमणबाट जोडिन सबै सजग रहनु पर्ने बताए ।
नेपाल आयल निगमले होलीको विदानको दिनमा पनि ग्यासको आयात गरेर बजारमा आपुर्तिलाई सहज गर्ने बताएको छ । बजारमा ग्यासको आपुर्ति नियमितरुपमा भएकाले अभाव नहुने निगमको भनाई छ ।
विश्वका झन्डै एक सय मुलुकमा कोरोना भाइरस फैलिएसँगै बजारमा खाना पकाउने एलपीजी ग्यास, माक्र्स, सेनिटाइजर, सर्जिकल लगायतका अत्यावश्यक वस्तुको कृत्रिम अभाव हुन थालेको हो । बजारमा खपत बढेसँगै व्यवसायीले अभाव देखाएर बढी मूल्यमा बिक्री गर्ने गरेका हुन् ।
बजारमा अभाव हुने आशंकमा उपभोक्ताले सामान खरिद गर्न थालेका हुन । बजारमा अभाव हुन सक्ने आंशकामा उपभोक्ताले चामल, ग्यास, दाल, तेल र नुन लगायतका अत्यावश्यक भन्डारण गरेर राख्न थालेका हुन् ।
अहिले बजारमा मास्क, सर्जिकल सामान, सेनिटाइजरको भने अभाव देखिएको छ । अभाव देखाएर व्यवसायीले महँगो मूल्यमा बिक्री गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्