कोरोना संक्रमण देखिए आफैं क्वारेन्टाइनमा बस्नूः स्वास्थ्यमन्त्री ढकाल

कोरोना भाइरस संक्रमण भएका व्यक्ति आफैं क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी अब सरकारले कसैलाई पनि नराख्ने स्पष्ट पारेका छन् । कोरोना भाइरस संक्रमण भएका व्यक्ति आफैं क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी अब सरकारले कसैलाई पनि नराख्ने स्पष्ट पारेका छन् । उनले भने, “क्वारेन्टाइन भन्ने बित्तिकै चीनबाट विद्यार्थी ल्याएर सरकारकै व्यवस्थापनमा राख्ने गर्ने भन्ने कुरा नगरौँ । अब आफैँं क्वारेन्टाइनमा बस्नुपर्छ ।”उनले ज्वरो र रुघाखोकीको परीक्षण गराउने व्यवस्था भने सरकारले गर्ने बताए । कुनै व्यक्तिमा संक्रमण भएको पाइएमा उसको उपचारको जिम्मेवारी सरकारले लिने उनको भनाइ थियो ।
मंगलबार राष्ट्रिय युवा संघ नेपालले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले भने, “ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरीपाटी क्वारेन्टाइन्मा राख्नेछ ।” उनले संक्रमित मुलुकबाट आउनेलाई त्यहाँको चिकित्सकले ७ दिनअगाडि कोरोना संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र लिएर मात्र नेपाल प्रवेश गर्न आग्रह गरेका छन् । त्यसपछि १४ दिन क्वारन्टाइनमा बसेपछि मात्रै उसले सामाजिक जीवनमा संलग्न हुन पाउने स्वास्थ्यमन्त्रीको भनाइ छ ।
युवा संघका संयोजक रामप्रसाद सापकोटाले सरकारलाई बुझाएको आठ बुँदे ध्यानाकर्षण पत्रमा सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यममा यथार्थ भन्दा अड्कलबाजीका सूचना सम्प्रेषण भइरहेका सन्दर्भमा सरकारले तत्काल सबै सञ्चार माध्यममा आधिकारिक सूचना जारी गर्ने र यसको सङ्क्रमणबाट जोगिने, सङ्क्रमित भइहालेमा आवश्यक उपचार गर्ने तथा अन्यमा फैलन नदिने विधिबारे प्रचारप्रसार गर्न व्यवस्थित कदम चाल्नुपर्ने, भाइरसबाट सङ्क्रमण भइहालेमा मृत्युदर एकदमै कम रहेको र उपचार हुने कुरामा नागरिकलाई विश्वस्त बनाउनुपर्ने, विमानस्थल, भारतीय सीमा नाकामा स्वास्थ्य चेकचाँजको प्रभावकारी व्यवस्था गर्नुका साथै भाइरस सङ्क्रमित मुलुकबाट नेपाल आउने जोकोहीलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थाले मात्रै सङ्क्रमण नफैलने सुनिश्चितता गर्नुपर्ने माग राखिएको छ ।
यस्तै भाइरस सङ्क्रमित बिरामीलाई उपचार गर्ने सामग्रीको प्रर्याप्त व्यवस्था गर्नुपर्ने, राजधानी शहर काठमाडौंँलगायत उपत्यकामा कम्तीमा तीन र देशका मुख्य शहरमा रहने गरी प्रदेशस्तरमा एक-एकवटा रुघाखोकी, ज्वरो परीक्षण र आइसोलेशन वार्डसहितको अस्थायी कोरोना फोकल अस्पताल, सम्भव भएसम्म आइसोलेशन ल्याब र नमूना सङ्कलन केन्द्र तोक्ने व्यवस्था गर्नुपर्ने माग सङ्घको छ । सङ्क्रमणको अवस्था आइहाले नागरिकको स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्नुका साथै निजी अस्पताललाई पनि सङ्क्रमणसम्बन्धी एकीकृत योजनाभित्र राखी परिचालन गर्नुपर्नेसमेत माग राखेका छन् ।