प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । सो अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ चिकित्सकको निगरानीमा उनको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । प्राडा दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्रत्यारोपणमा संलग्न हुनेछ ।
प्रत्यारोपणपूर्व ओलीको आज रगत, दिसापिसाबलगायत जाँच हुने डा ज्ञवालीले जानकारी दिए । “प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई आजदेखि ‘प्रिप्रेशन’मा राखिनेछ,” उनले भने । उनको मुटुको एञ्जियोग्राफी जाँच गर्दा भने मुटुमा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टर मुटु रोग विभाग प्रमुख प्राडा अरुण सायमीले बताए ।
यसैबीच, ओलीले मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुअघि भिडियो सन्देश जारी गरेका छन् । सन्देशमा उनले सबै सपनालाई अलपत्र छाडेर अलप नहुने बताएका छन् ।
प्रधानमन्त्रीले भनेका छन्, ‘जसरी खेलको बीचमा कुनै राम्रो खेलाडीले मैदान छाड्दैन, त्यसैगरी हाम्रा भर्खरै जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न । मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क हुनुस् ।’
उनले आफूले पहिलोपटक मृगौला प्रत्यारोपण गर्दाको अवस्था र हालको अवस्थामा स्वास्थ्य विज्ञान र प्रविधिका क्षेत्रमा धेरै प्रगति भइसकेको बताउँदै यसपटक आफ्नै मुलुकमा आफ्नै देशका चिकित्सकसँग प्रत्यारोपण गराउन पाउँदा खुशी लागेको बताएका छन् ।
उनले भनेका छन्, ‘प्रत्यारोपण पहिलेजस्तो जटिल छैन, सजिलो हुने विश्वास लिएको छु। आफ्नै मुलुकमा आफ्नै देशका चिकित्सकसँग प्रत्यारोपणको सुविधा प्राप्त हुँदा म गर्व र गर्छु र अत्यन्तै खुशी छु ।’
उनले केही दिनको अस्पताल बसाइ र आरामपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्कने र यसबीचमा सरकारबाट गर्नुपर्ने सबै काम नियमित रुपमा अघि बढाउन आवश्यक निर्णय लिनसक्ने संयन्त्रको व्यवस्था मिलाएको पनि जानकारी दिएका छन् ।