Logo

डिजेल, पेट्रोल र हवाई इन्धनमा १० रुपैयाँ पूर्वाधार कर

तत्काल मूल्य बढ्दैनः निगम

सरकारले आम उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी पेट्रोल, डिजेल र हवाई इन्धनमा थप पाँच रुपैयाँ पूर्वाधार विकास कर बढाएको छ । यस अघि प्रतिलिटरमा पाँच रुपैयाँ लिदै आएको थप पाँच रुपैयाँ बढाएर १० रुपैयाँ पु-याएको हो । इन्धनमा बढाइएको पूर्वाधार करले आम उपभोक्तालाई प्रत्यक्ष असर पार्ने छ ।
गत १२ गते बसेको मन्त्रिपरिषद्कोे बैठकले पूर्वाधार विकास करको दर परिर्वतन गरेको अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार अब प्रतिलिटर पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ कर लिइनेछ । यसअघि ५ रुपैयाँ लिने गरिएको थियो । अव प्रत्येक महिना भन्सार विन्दुमा १० रुपैयाँकादरले पुर्वाधार कर संकलन हुने छ । यसबाट उपभोक्तालाई इन्धन खरिद गर्न महङ्गो पर्ने छ ।
सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३-७४ को बजेटमा पूर्वाधार विकास कर दिने व्यवस्था मिलाएका थिए । अहिलेसम्म ४१ अर्ब रुपैयाँ भन्दा बढी रकम जम्मा भइसकेको छ । बुढीगण्डकी आयोजनाका नाममा संकलन गरिएको सो रकम खर्च नभई थन्किएको छ । नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धनमा पुर्वाधार कर बढेर १० रुपैयाँ पुगेको बताए । प्रतिलिटर, डिजेल, पेट्रोल र हवाई इन्धनमा पाँच रुपैयाँ थप पुर्वाधार कर बढेपनि तत्कालका लागि मुल्य नबढाइने उनले जानकारी दिए । अव पुर्वाधार कर वापत मासिक एक अर्ब ८० करोड रुपैयाँ जम्मा हुने छ । साथै वार्षिक रुपमा २० अर्ब रुपैयाँ संकलन हुने निगमको भनाई छ । निगमले इन्धनमा विभिन्न शीर्षकमा उपभोक्ताबाट शुल्क लिदै आएको छ ।
सरकारले यसअघि पनि विभिन्न शीर्षकमा इन्धनबाट कर लिँदै आएको छ । सडक मर्मत सुधार दस्तुर इन्धनमा प्रतिलिटर एक रुपैयाँ राखिएको छ भने मर्मत दस्तुरका लागि पेट्रोलमा ४ र डिजेलमा दुई रुपैयाँ ताकिएको छ । बिहीबार बढेको दश रुपैयाँ पूर्वाधार विकास कर र एक रुपैयाँ पचास पैसा प्रदुषण नियन्त्रण खर्च जोड्दा पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ५० पैसा र डिजेलमा १३ रुपैयाँ पाँच पैसा अतिरिक्त कर लाग्छ । सरकारले १३ प्रतिशत भ्याट र भन्सार कर यसअघिदेखि नै असुल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्