बाह्य व्यापारका अवरोध हटाऊ «

बाह्य व्यापारका अवरोध हटाऊ

अन्तर्राष्ट्रिय व्यापारमा नेपालको अवस्था निकै कमजोर रहँदै आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको निर्यात–आयात अनुपात १ः१३ पुगेको छ, जुन गत आर्थिक वर्ष ०७३-७४ को समान अवधिमा १ः१२.८ को अनुपातमा थियो भने ०७२-७३ को सोही अवधिमा १ः८ मात्र थियो । हरेक वर्ष देशको बाह्य व्यापारको अनुपात बढ्दै गएको देखिन्छ, तर आयातका तुलनामा निर्यातको अंश सानो हुँदै जाँदा यो अवस्था आएको हो । व्यापार प्रवद्र्धन केन्द्रका तथ्यांक विश्लेषण गर्दा प्रति १ रुपैयाँको निर्यात गर्दा १३ रुपैयाँको आयात भइरहेको देखिन्छ । यसरी निर्यातका तुलनामा आयात बढी हुँदा त्यसले व्यापारघाटाको अनुपात व्यापक रूपमा बढाउँदै लगेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनाकै व्यापारघाटा ४ खर्ब ९३ अर्ब ४२ करोड रुपैयाँ पुगेको तथ्यांकबाट देखिन्छ । अन्तर्राष्ट्रिय व्यापारका क्रममा जुन ढंगले आयात भइरहेको छ, त्यही अनुपातमा निर्यात बढाउनका लागि सरकारी र निजी दुवै स्तरबाट पहल हुन नसकेकै हो । देशमा बढ्दो आप्रवासन र त्यसबाट आर्जित रेमिट्यान्सले यहाँको उपभोग बढाए पनि समग्रमा प्रतिस्पर्धात्मक क्षमता कमजोर गराउँदै लगेको छ । बढ्दो उपभोग धान्नका लागि आयात बढेसँगै आन्तरिक उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता पनि कमजोर हुँदै गएको हो । लोडसेडिङ र अन्य विभिन्न कारणले उत्पादन लागत बढी भएकै कारणले जडित क्षमताभन्दा निकै कम उत्पादन गर्दै आइरहेका स्वदेशी उद्योगहरू चोरीपैठारी र न्यूनबिजकीकरण गरी आयात भइरहेका वस्तुहरूसँग प्रतिस्पर्धी हुन नसकेका हुन् ।
विश्व व्यापार संगठन (डब्लूटीओ), दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सहित बहुपक्षीय र क्षेत्रीय व्यापार सम्झौताहरूमा हस्ताक्षर गरिसकेका कारण नेपालले वस्तु आयातमा लगाउँदै आएको भन्सार दर क्रमशः घटाउँदै लगेको छ भने हालसम्म कुनै पनि उत्पादनमा परिणात्मक बन्देज लगाएको छैन । त्यसैले कानुनले निषेध गरेबाहेकका हरेक वस्तु निर्वाध आयात भइरहेका छन् । नेपालले निर्यात गर्ने अधिकांश वस्तु कम मूल्य भएका कम प्रतिस्पर्धी भएकै कारण केही प्रतिशतले निर्यात वृद्धि भइरहेको देखिए पनि त्यसले समग्र आयातका तुलनामा व्यापारघाटा कम गर्नमा खासै योगदान गर्न नसकेको हो । नेपालले व्यापारघाटा कम गर्ने हो भने बढी मूल्य अभिवृद्धि भएका वस्तुहरूको उत्पादन र निकासी गर्नैपर्छ ।
नेपाल आफैंले कुनै पनि मुलुकबाट आयातका लागि परिमाणात्मक बन्देजसहितका अन्य भन्सार र गैरभन्सारजन्य अवरोधहरू लगाउँदै नआए पनि नेपालको आयात र निर्यात दुवैमा यस्ता समस्या बग्रेल्ती छन् । हालसम्म नेपालले आयात र निर्यातका लागि प्रयोग गर्दै आएको एकमात्र भारतीय बन्दरगाह कोलकाताको भौतिक पूर्वाधार, त्यहाँबाट बाहिरिने र नेपाल प्रवेश गर्ने बाटोको दूरवस्था तथा विभिन्न नाममा हुने अवरोधहरूले बारम्बार नेपाल भित्रिने वस्तुले झन्झट बेहोर्दै आइरहेका छन् । त्यसमाथि सोही बन्दरगाहमा बिचौलिया हाबी हुँदा नेपाल भित्रिने वस्तुसमेत अनेक कारणले महँगो बन्दै जानु अस्वाभाविक कुरा हो ।
नेपाल र भारतबीच द्विपक्षीय व्यापार र पारवहनको सहजीकरणका लागि छुट्टाछुट्टै सन्धि–सम्झौताहरू भएका छन् । भूपरिवेष्टित राष्ट्रहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय अनुबन्धहरूले समेत नेपालले निर्वाध रूपमा नजिकको बन्दरगाह प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । यदि कोलकाता बन्दरगाह विभिन्न कारणले साँघुरो भएको र त्यहाँबाट आयात–निर्यातमा वास्तवमै कठिनाइ उत्पन्न भइसकेको भए हाल विकल्पका रूपमा प्रयोगमा आएको विशाखापट्टनम बन्दरगाहको अधिकतम उपयोगमा जोड दिनैपर्छ । र, यदि आपसी वार्ता र संवादबाट कोलकाता बन्दरगाहका विद्यमान समस्या हल गर्न सकिन्छ भने त्यसतर्फ पनि पहल गर्न बाँकी राख्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्