बेलायत र फ्रान्सलाई पछि पार्दै भारत विश्वकै पाँचौं ठूलो अर्थतन्त्र

नयाँ दिल्ली-भारत विश्वकै पाँचौ ठूलो अर्थतन्त्र भएको छ । २.९४ ट्रिलियन डलरका साथ भारतले २०१९ मा बेलायत र फ्रान्सलाई पछि पारेको हो । नरेन्द्र मोदीले आगामी पाँच वर्षभित्र भारतलाई ५ ट्रिलियन डलरको अर्थतन्त्र बनाउन लक्ष्य राखेका छन् ।
अमेरिकी अनुसन्धानमूलक संस्था वल्र्ड पपुलेसन रिभ्यूले आफ्नो रिपोर्टमा भनेको छ ,“आत्मनिर्भर बन्ने पहिलेको नीतिबाट भारत अब अगाडि बढ्दै खुला बजार भएको अर्थव्यवस्थाका रूपमा विकसित भइरहेको छ ।”
पीटीआईका अनुसार बेलायतको अर्थतन्त्रको आकार २.८३ ट्रिलियन डलर छ भने फ्रान्सको २.७ ट्रिलियन डलर छ । क्रयशक्ति समता (पीपीपी) का आधारमा भारतको जीडीपी १०.५१ ट्रिलियन डलरको छ । यो जापान र जर्मनीको भन्दा पनि बढी हो । तर, अधिक जनसंख्याका कारण प्रतिव्यक्ति जीडीपी आय केवल २ हजार १ सय ७० डलर मात्रै छ । अमेरिकाको प्रतिव्यक्ति आय ६२ हजार ७ सय ९४ डलर छ । यद्यपि भारतको वास्तविक जीडीपी वृद्धिदर लगातार तेस्रो त्रैमासमा पनि कमजोर हुने देखिएको छ । यो ५ प्रतिशतको आसपासमा रहनेछ ।
यसमा कंग्रेसको समयमा गरिएको उदारीकरणको प्रशंशा गरिएको छ । भारतमा १९९० को दशकमा आर्थिक उदारीकरणको सुरुवात गरिएको थियो ।
उद्योगलाई नियन्त्रणमुक्त गरिएको र विदेशी व्यापार एवं लगानीमाथिको नियन्त्रणलाई कम गरिएको थियो । साथै सरकारी कम्पनीहरूलाई पनि निजीकरण गरिएको थियो ।
यी कारणले गर्दा भारतको आर्थिक वृद्धि तीव्र दरमा भएको रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्ट सार्वजनिक गर्ने अमेरिकी संस्था स्वतन्त्र संगठन हो ।