Logo

लमजुङ र मनाङका ३९ फार्मलाई अनुदान

लमजुङ-कृषि मोडल फर्म अनुदानका लागि लमजुङ र मनाङका ३९ वटा फार्म छनोट भएका छन् । कृषि ज्ञान केन्द्र लमजुङमा गण्डकी प्रदेश सरकार मार्फत आर्थिक वर्ष २०७६-०७७ को ‘साना कृषि मोडेल फर्म स्थापना’ सहयोग कार्यक्रम अन्र्तगत मनाङको एक सहित ३९ ओटा फार्म अनुदानका लागि छनौट भएका हुन् ।
साना कृषि फर्म मोडल फार्म स्थापना गर्न अनुदानका लागि एक सय १३ आवेदन परेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको केन्द्रमा मनाङबाट एक आवदेन र लमजुङबाट एकसय १२ आवेदन परेको थियो । जसमध्ये ३९ फार्म अनुदानको लागि छनौट भएको ज्ञान केन्द्रका प्रमुख रोहिणिराज घिमिरेले बताए ।
आवेदन परेको आधारमा केही दिन अघि छनौट मूल्यांकन समितिले किसानको घरदैलोमै पुगेर स्थलगत अनुगम निरीक्षण र प्रमाणिकरण गरी फार्म छनौट गरेको कार्यालय प्रमुख घिमिरले बताए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशबाट २० साना कृषि मोडल फार्म सञ्चालनका लागि १ करोड रुपैयाँ बजेट प्राप्त भएको कार्यालय प्रमुख घिमिरले बताए । चालु वर्षको कार्यक्रममा २० वटा फार्म सञ्चालनको लक्ष्य भएपनि किसानको क्षमता र अन्य प्राविधिक कुरा मध्यनजर गरेर फार्म छनौट र अनुदानको व्यवस्था गरिएको घिमिरेको भनाई छ ।
केन्द्रले अनुदानका लागि गत वर्षको साउन २० गते ३५ दिने सूचना प्रकाशित गरेको थियो । लमजुङको आठ वटा स्थानीय तहमध्ये बेसीशहर नगरपालिकामा ७, सुन्दरबजारमा ७, राइनास र मध्यनेपाल नगरपालिकामा ६-६, मस्र्याङ्दी गाउँपालिकामा ४, दुधपोखरीका ३, क्व्होलासोँथरमा ३, दोर्दी गाउँपालिका २ ओटा र मनाङको नासोँ गाउँपालिकाको एक फार्म छनौट भएको केन्द्रले जनाएको छ ।
तुलनात्मक रुपमा मनाङमा कृषि सहकारीका साथै सक्रिय कृषक समूहको कमी, फर्म दर्ता गरी कृृषि कर्म गर्ने किसानको संख्या कम भएकाकाले आवेदन परेको १ फर्म छनौट भएको कृषि ज्ञान केन्द्र, लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले बताए ।
प्रत्येक स्थानीय तहमा एक एक वटा फर्म अनिवार्य छनौट हुनुपर्ने भएपनि आवेदन परेका फार्मको स्थलगत निरीक्षण र कृषकहरुको अनुभव, क्रियाशिलताको आधारमा फार्म छनौट गरिएको केन्द्रले जनाएको छ ।
छनौट भएका फर्महरुलाई कम्तिमा दुईलाख ५० हजारदेखि तीनलाख रुपैयाँसम्म अनुदानको व्यवस्था रहेको छ भने ५० प्रतिशत लागानी कृषक स्वयंले गर्नुपर्नेछ । कृषि मोडल फार्मका लागि किसानले तरकारी बालिका लागि कम्तिमा ५ रोपनी, फलफूलका लागि १० रोपनी र अलैंची, कफि र चिया जस्ता बालिका लागि कम्तिमा २० रोपनी जग्गामा फार्म सञ्चालन गरेको हुनुपर्ने मापदण्ड रहेको छ ।
हाल छनोटमा परेको फार्महरुको सम्झौता कार्य भइरहेको र किसानहरुले डिजायन र स्टमेटको आधारमा प्राविधिकको परामर्शअनुसार तोकिएको समयमा काम सम्पन्न गरेपछि मात्र स्थालग निरीक्षण पश्चात अनुदान रकम वितरण गरिने कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्