Logo

आईपीटीभीको परीक्षण एक महिनाभित्रै

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटीभी) सञ्चालनको तयारी गरिरहेको छ । कम्पनीले तारसहितको टेलिफोन (ल्याण्डलाइन) मार्फत भ्वाइस, डेटा र भिडियो सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको हो । यसका लागि कम्पनीले भियतनामको सरकारी कम्पनी भीएनपीटीसँग सम्झौता गरिसकेको छ ।
कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले ल्याण्डलाइनलाई एफटीटीएचमा रूपान्तरण गरी एउटै सेवाबाट भ्वाइस, भिडियो र डेटा सेवा दिने काम अगाडि बढाइएको जानकारी दिए । “यतिवेला आईपीटीभीको काम तिव्र रूपमा अघि बढेको छ, बढीमा एक महिनाभित्र परीक्षण सुरु हुनेछ,” प्रवन्ध निर्देशक अधिकारी भन्छन्,“पीएसटीएनतर्फ घट्दै गएको क्रेजलाई एफएफटीटीएचमार्फत पुन फर्काउने कोसिसमा छौं ।” कम्पनीको आम्दानी घट्दै गएपछि पुराना प्रविधिलाई नयाँ प्रविधिमा रूपान्तरण गर्दै गइरहेको छ ।
कम्पनीले सञ्चालनमा ल्याउन लागेको आईपीटीभीअन्य टेलिभिजन जस्तै घरमा सेटअप बक्समार्फत प्रयोग गर्न सकिन्छ । तर, यसका लागि कम्पनीको टेलिफोन लाइन भने अनिवार्य हुनेछ । ग्राहकले हाई डेफिनेसन (एचडी) स्पोट्र्स, कार्टुन लगायतका दुई सयभन्दा धेरै च्यानल रहेनछन् । ग्राहकले आफ्नो इच्छाअनुसारका प्याकेज लिएर सोहीअनुसार महसुल तिर्न सक्नेछन् । कम्पनीले ल्याण्डलाइनग्राहकका लागि आईपीटीभी र मोबाइल ग्राहकका लागि ओटीटीमार्फत टेलिभिजनको प्रयोग गर्नसक्ने सुविधा ल्याउँदै छ । विश्वव्यापी रूपमै भ्वाइसतर्फको रेभिन्यू घटेको अवस्थामा नेपालमका पनि त्यसको प्रभाव देखिएको छ ।कम्पनीले एडीएसएलतर्फ पनि लगानी बढाएको छैन ।
कम्पनीले एउटै कनेक्सनमार्फत भ्वाइस, भिडियो र डेटा सेवा दिनका लागि २५ हजारभन्दा पीएसटीएनलाई एफटीटीएचमा रूपान्तरण गरिसकेको छ । मोबाइल फोनको बढ्दो प्रयोगसंगै ल्याण्डलाइन फोनको माग घट्न थालेपछि कम्पनीले सेवामा विविधीकरण गर्दै नयाँपन दिन लागेको हो ।नियामक निकाय नेपाल दूरसञ्चार प्राधिरकणको पछिल्लो एमआईएस रिपोर्टअनुसार टेलिकमको ल्याण्डलाइनतर्फ ६ लाख ७६ हजार ग्राहक छन् । ल्याण्डलाइन फोनमा एकाधिकार भएपनि कम्पनीले आक्रामक रूपमा सेवा विस्तार गर्न सकेको छैन । मोबाइल सेवातर्फ चर्काे प्रतिपस्र्धा भएपनि ल्याण्डलाइनमा भने टेलिकमबाहेक अन्य कुनै पनि कम्पनीले ल्याण्डलाइन सेवा दिएका छैनन् । अब कम्पनीले एफटीटीएच मार्फत बजारमा आफ्नो उपस्थिति बढाउने रणनीति लिएको छ ।
प्राधिकरणले सार्वजनिक गर्ने म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईआएस) अनुसार कुल जनसंख्याको २.७ प्रतिशतमा मात्रै पीएसटीएन सेवा पुगेको छ । उसको प्रतिवेदन अनुसार १४१ प्रतिशत जनसंख्यामा कुल दूरसञ्चार सेवा पुगको छ । पीएसटीएन सेवाको तुलनामा मोवाइल सेवा सहज र छरितो हुनुका साथै पर्याप्त सुविधा भएपछि यो सेवा विस्थापित जस्तै भएको हो । अहिले नेपालमा मोवाइल प्रयोगकर्ता ४ करोड १७ लाख छन् । हातहातमा मोबाइलले सुविधाले गर्दा व्यावसायिक प्रयोजन र कार्यालय तथा आवासीय घरमा पीएसटीएन टेलिफोन राखिएपनि प्रयोग भने घट्दो छ । टेलिकमको मुख्य आम्दानीको स्रोत जीएसमएम मोबाइल हो ।

 

प्रतिक्रिया दिनुहोस्