काश्मिरमा वर्षा र हिमपात «

काश्मिरमा वर्षा र हिमपात

६२ को मृत्यु, २८ बेपत्ता र ५३ घाइते


इस्लामावाद-
पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ ।
घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना हराइरहेका अधिकारीले मंगलबार जानकारी दिएका छन् ।
उनीहरूका अनुसार कुल ५८ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अरू ८२ वटा घरमा पनि आशिक क्षति भएको छ ।
प्रकोप व्यवस्थापन कार्यालयका अधिकारीले घटनास्थलबाट थप विवरण आउने क्रम जारी रहेको र खोजी तथा उद्धार कार्य भइरहेको जनाएका छन् ।
देशको नीलम उपत्यकामा सबैभन्दा धेरै हिमपात र वर्षाको असर परेको छ । त्यस क्षेत्रमा मात्रै ५९ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् ।
उनीहरूका अनुसार निलम उपत्यकामा मात्रै ५३ जना घाइते भएका छन् भने ५० भन्दाबढी घर क्षतिग्रस्त भएका छन् ।
हराइरहेका २८ जनाको पनि खोजी भइरहेको जनाइएको प्रकोप व्यवस्थापन कार्यालयका अहमद राजा क्वाद्रीले जानकारी दिए । उनले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने पनि बताए ।
काश्मिरमा कैयौँ हिउँपहिरो गएका विवरण आएको उनको भनाइ छ । वर्षा र हिमपात भएको क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध भएका छन् । कैयौँ मानिस विभिन्न ठाउँमा फसेको जनाइएको छ ।
उक्त क्षेत्रमा विगतमा पनि बेला बेलामा प्राकृतिक विपद् आइपरिरहने भए पनि यसपटकको विपद् निकै घातक भएको छ ।
खराब मौसमले पाकिस्तानका अन्य भागमा दर्जनौँको ज्यान गएको र छिमेकी मुलुक भारत, अफगानिस्तानलगायतका देशमा पनि प्रभाव परेको समाचारमा जनाइएको छ ।

जर्मनीद्वारा लिबियासम्बन्धी सम्मेलनको आयोजना
बर्लिन, १ माघ (रासस÷सिन्ह्वा) ः जर्मनीले लिबियामा जारी संकट समाधानका लागि प्रमुख सरोकारवाला राष्ट्रका बीचमा सम्मेलनको आयोजना गरेको छ । सम्मेलन आगामी आइतबार हुने जर्मनीको संघीय सरकारका अधिकारीले मंगलबार जानकारी दिएका छन् ।
उनीहरूका अनुसार सम्मेलनमा अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन र संयुक्त अरब इमिरेट्स (युएई), टर्की, गणतन्त्र कंगो, इटाली, इजिप्ट र अल्जेरियाका प्रतिनिधि सहभागी हुनेछन् ।
त्यसैगरी संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अफ्रिकन युनियन र अरब लिगलगायतका संघ संस्थाका प्रतिनिधि पनि सम्मेलनमा सहभागी हुने जर्मनीका सरकारी अधिकारीले जारी गरेको वक्तव्यमा जनाइएको छ ।
वक्तव्यका अनुसार जर्मन चान्सलर एञ्जेला मर्केलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेससँग परामर्श गरेर सम्मेलनको आयोजना गरेका हुन् ।
“लिबियाको संकट समाधानका लागि राष्ट्रसंघीय महासचिव गुटेर्रेस, लिबियाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधि घस्सान सलामलाई सघाउने उद्देश्यले नै आगामी आइतबार बर्लिनमा हुनेगरी जर्मन चान्सलर एञ्जेल मर्केलले सम्मेलनको आयोजना गर्नुभएको हो,” जर्मन सरकारका प्रवक्ताले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्