पेट्रोल, डिजेल र मटीतेलमा २ रुपैयाँ वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मटीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको जनाएको छ । तर, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको पनि निगमले जनाएको छ । नयाँ मूल्य पुस १६ गते रातिदेखि नै लागू हुने भन्दै निगमले मूल्य समायोजनपछि पेट्रोलको मूल्य काठमाडौं, सुर्खेत र दिपायलमा प्रतिलिटर १११ रुपैयाँ र पोखरा र दाङमा प्रतिलिटर ११० रुपैयाँ ५० पैसा तथा चारआली, विराटनगर, महेन्द्रनगर, धनुषा, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढीजस्ता अन्य तराई क्षेत्रमा १०९ रुपैयाँ ५० पैसा कायम गरिएको जनाएको छ । यसैगरी, डिजेल र मटीतेलको खुद्रा बिक्री मूल्य काठमाडौं, सुर्खेत र दिपायलमा १०० रुपैया प्रतिलिटर, पोखरा, दाङमा ९९.५० रुपैयाँ प्रतिलिटर र अन्य तराई क्षेत्रमा ९८.५० रुपैयाँ प्रतिलिटर कायम गरिएको पनि जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढावसँगै भारतीय आयल कर्पोरेसनले पठाउने मूल्यसूचीका आधारमा निगमले स्थनीय बजारमा पनि मूल्य समायोजन गर्दै आएको छ । तर, निगमले अत्यधिक नाफा राखेर मूल्य बढाएको भन्दै आरोप खेप्दै आएको छ ।