व्यवसायमैत्री वातावरणमा सुधार «

व्यवसायमैत्री वातावरणमा सुधार

नेपालमा लगानीमैत्री वातावरण बन्न नसकेको गुनासो लामो समयदेखि निजी क्षेत्र र बाह्य लगानीकर्ताले गर्दै आएका छन् । नेपालले २०४६ को राजनीतिक परिवर्तनपछि सुरु गरेको खुला बजार अर्थनीतिका कारण फस्टाएको निजी क्षेत्र र आकर्षित भएको प्रत्यक्ष वैदेशिक लगानीका कारण अर्थतन्त्रको आकार र क्षितिज दुवै फराकिलो भएको परिदृश्यमा माओवादी विद्रोह र अस्थिर राजनीतिका कारणले लगानीको वातावरण धुमिल हुँदै गएको हो । माओवादी विद्रोहले निजी लगानीलाई पनि निसाना बनाउन थालेपछि कतिपय वैदेशिक लगानी फिर्ता भएको तथा स्वदेशी लगानी पनि खुम्चिएको इतिहास ताजै छ ।  
राजनीतिक अवस्थामा सामान्य हुँदै मुलुकले राजतन्त्रात्मक व्यवस्थाबाट गणतान्त्रिक शासन व्यवस्थामा सहज अवतरण गरे पनि लगानीमैत्री वातावरण बन्न नसकेको तीतो यथार्थ हो । जुनसुकै शासन–व्यवस्थामा पनि नीति–नियमभन्दा शासनसत्तामा पहुँचका आधारमा मात्र व्यवसाय सञ्चालन गर्न सकिने अवस्थाले लगानीको वातावरण कहिल्यै सुधार गर्दैन । व्यापार–व्यवसायमा जो–कोही पनि सहजै प्रवेश गर्न सक्ने र कानुनले दिएको सुविधा उपयोग गर्दै प्रतिस्पर्धा गर्न सक्ने वातावरणले एकातर्फ विधिको शासन स्थापित गर्छ भने अर्कातर्फ स्वस्थ प्रतिस्पर्धात्मक अर्थतन्त्रको विकास हुन्छ । यस्तै, छिमेकी र प्रतिस्पर्धी मुलुकभन्दा खुकुलो कानुन र यथेष्ठ सुविधाले मात्रै लगानीमैत्री वातावरण बन्न सक्छ ।
विश्व बैंकको पछिल्लो प्रतिवेदनअनुसार नेपालको व्यावसायिक वातावरणमा केही सुधार आएको देखिन्छ । सन् २०१८ को लागि बैंकद्वारा मंगलबार प्रकाशित ‘डुङइ बिजनेस’ प्रतिवेदनअनुसार अघिल्लो वर्षभन्दा दुई स्थान सुधार गरेर नेपाल १ सय ५ औं स्थानमा उक्लिएको छ । नेपालले व्यवसाय गर्ने वातावरणमा सुधार गर्दै दक्षिण एसियामा भुटान तथा भारतपछि तेस्रो भएको विश्व बैंकको प्रतिवेदन हालै सार्वजनिक भएको छ । नेपालले गत वर्ष व्यावसायिक वातावरण सुधारका लागि धेरै नै नीतिगत सुधार गरेको छ । औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र ऐन, श्रम ऐन, सामाजिक सुरक्षा ऐनलगायतका कानुन संसद्बाट पारित हुनु तथा कम्पनी ऐनलगायतका समयसापेक्ष सुधार एवं लगानी बोर्ड, उद्योग विभाग र कम्पनी रजिस्ट्रार कार्यालयहरूको कार्य सम्पादनमा आएको सुधारले नेपालको सूचकांक माथि उक्लिएको हो । यस्तै, नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलन तथा निजी क्षेत्रले आयोजना गरेको पूर्वाधार सम्मेलनमा सरकारले जनाएका प्रतिबद्धता तथा यसबाट कानुन निर्माणमा परेको सकारात्मक प्रभावसमेतले व्यावसायिक वातावरण निर्माण भएको हो । 
विश्व बैंकको प्रतिवेदनले नेपालमा व्यावसायिक वातावरण बन्दै गएको देखाए पनि यसको गति र परिणाममा भने सन्तुष्ट हुन सक्ने ठाउँ छैन । नेपालले तीव्र आर्थिक विकासका लगानीमैत्री वातावरणमा अझै धेरै नै सुधार गर्नु जरुरी छ । अहिलेको अवस्थामा सानोतिनो सुधारले मात्र मुलुकको आर्थिक रूपान्तरण सम्भव छैन । ठूलो मात्रामा वैदेशिक लगानीका लागि राज्यले प्याकेजसहितको कार्यक्रम ल्याएर विदेशीको विश्वास जित्न सक्नुपर्छ । स्वदेशमै निजी क्षेत्रले सरकारलाई विश्वास गर्न सके मात्र विदेशीले पनि सरकारलाई पत्याउने भएकाले आन्तरिक लगानीलाई पनि उत्तिकै महत्व दिइनुपर्छ । नेपालको आर्थिक सुधारको दिशा सकारात्मक नै भए पनि गति अत्यन्त सुस्त रहेको प्रतिवेदनले देखाएको छ । यसकारण बृहत् राजनीतिक सहमतिसहित आर्थिक सुधारको बाटोमा सिंगो मुलुक एकताबद्ध भएर अगाडि बढ्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्