भेनेजुएलाले दोस्रो डिजिटल मुद्रा ल्याउने «

भेनेजुएलाले दोस्रो डिजिटल मुद्रा ल्याउने

काराकास-पेट्रको सफल लन्चिङपछि भेनेजुएला हालै दुईवटा राष्ट्रिय क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने विश्वकै पहिलो मुलुक हुन लागेको टिभी न्युज नेटवर्क ग्लोबोभिजनले जनाएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलास माडुरोलाई उद्धृत गर्दै टिभी च्यानलले उक्त कुरा बताएको हो । नयाँ भर्चुअल टोकनलाई पेट्रो ओरो नाम दिइएको छ । यो मुद्रालाई बहुमूल्य धातुको समर्थन रहनेछ । आगामी साता यो नयाँ क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने समयतालिका मिलाइएको छ ।
“म अवस्थालाई दौडाउने पक्षमा छैन, तर पेट्रो र सुनको विषयमा हामी आश्चर्यजनक अवस्थामा छौं । यसको अवस्था तेलकै समान हुनेछ । तर, यो आगामी साताको कुरा हो,” राष्ट्रपतिले भनेको कुरा उद्धृत गर्दै टिभी च्यानलले जनाएको छ ।
यो साताको सुरुमै देशले पेट्रोको लन्च गरेको थियो । यो विश्वकै पहिलो राष्ट्रिय डिजिटल मुद्रा हो । यसलाई देशको ऊर्जा सञ्चितिको समर्थन छ ।
सुरुको बिक्रीमा तेलको समर्थन रहेको क्रिप्टोकरेन्सीले ७३ करोड ५० लाख डलर उठाउने अपेक्षा गरिएको छ ।
माडुरोले देशको राज्य ऊर्जा कम्पनी पीडीभीएसए, राज्य सञ्चालित सीभीजी र पेट्रोकेमिकल कम्पनी पेक्विभेनलाई आफ्नो खरिद र बिक्री सम्झौतामा पेट्रोको प्रयोग गर्नका लागि आदेश दिएका छन् ।
यसैबीच विश्वभरि रहेका भेनेजुएलाका राजदूतावासहरूलाई वस्तु समर्थन रहेको क्रिप्टोकरेन्सीको प्रयोगका लागि परामर्श सेवा दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्