सिरियामा रूसको अत्याधुनिक फाइटर «

सिरियामा रूसको अत्याधुनिक फाइटर

वासिङ्टन-रूसले सिरियामा अत्याधुनिक फाइटर जेट पठाएको अमेरिकी सैन्य अधिकारीले बताएका छन् । यसले सिरियामा काम गरिरहेका अमेरिकी सेनाका लागि खतरा बढेको बताइएको छ ।सु–५७ मस्कोको सर्वाधिक परिष्कृत सैन्य जेट हो र यसमा गोप्य (स्टिल्थ) क्षमता पनि रहेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा आफ्नो सेनाको उपस्थितिलाई कम गर्ने प्रतिबद्धता जनाए बाबजुद रूसको यो कदम आएको हो ।
“सिरियामा पाँचौं पुस्ताको फाइटरको उपस्थितिले सिरियाबाट सेना फिर्ता हुने पतिबद्धता पूरा भएको छैन,” पेन्टागनका प्रवक्ता एड्रियन राङ्किन ग्यालेवेले बताए ।
सिरिया समर्थित सेनाले अमेरिका समर्थित बलमाथि फेब्रुअरी ७ मा आक्रमण गरेपछि अमेरिकाले अत्याधुनिक फाइटर जेट एफ–२२ परिचालन गर्ने निर्णय गरेपछिको अवस्थामा रूसको यस्तो कदम आएको हो ।सिरियामा अमेरिकी सेना र उसका गठबन्धनले अखडा बनाएर बसेको ठाउँमा भएको आक्रमणमा शासक समर्थित ५ सय सेना संलग्न भएको अनुमान अमेरिकी अधिकारीहरूको छ ।डिसेम्बरमा दुईवटा एफ–२२ ले दुई रूसी एयरक्राफ्टलाई पछ्याएको थियो । अमेरिकी जेटले रूसी र अमेरिकी जेट आमने–सामने भएको समयमा चेतावनी समेत जारी गरेको थियो ।
रूसले सिरियाको मिमिनमा जेटका लागि आधार शिविर बनाएको अमेरिकी सैन्य अधिकारीले बताएका छन् ।
अत्याधुनिक रूसी फाइटरको परिचालनलाई अमेरिकी एफ–२२ परिचालनको प्रतिकारका रूपमा उतारिएको हो भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । रूसले सिरियाली थिएटरलाई नयाँ विमानको परीक्षणका रूपमा प्रयोग गर्न सक्ने अवसरका रूपमा पनि लिइएको हुन सक्ने अमेरिकी अधिकारीले बताएका छन् ।सु–५७ स्टिल्थ (राडारल पत्ता लगाउन नसक्ने गोप्य) प्रविधि प्रयोग गर्ने पहिलो रूसी फाइटर जेट हो । यो विमानलाई हवाई र स्थल आक्रमण गर्ने किसिमबाट बनाइएको हो ।रूसी रक्षा मन्त्रालयका अनुसार यो फाइटर विमान यसै वर्षदेखि रूसी सेनामा प्रयोग हुने अपेक्षा गरिएको छ । रूसी सरकारले सुरुमा १२ सय किसिमका विमानको अर्डर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्