भोटखोलामा पहिलो पटक इन्टरनेट सेवा

संखुवासभा-प्रदेश नं. १ को बिकट हिमाली जिल्ला संखुवासभाको अतिदुर्गम क्षेत्र भोटखोलाको हटियामा पहिलो पटक इन्टरनेट सेवा सुचारु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा मर्कन्टायल कम्युनिकेसन प्रालिले भिस्याट प्रविधिमार्फत सञ्जाल विस्तार गरेपछि इन्टरनेट सेवा सञ्चालन सुरु भएको सेवाप्रदायक संस्था मर्कन्टायलका जिल्ला प्रतिनिधि सुगन श्रेष्ठले बताए । संखुवासभा जिल्लाका १९३ स्थानमा फाइबर, वायरलेस तथा भिस्याट प्रविधिमार्फत इन्टरनेट जडान गर्ने कार्य धमाधम भइरहेको उनको भनाइ छ ।
हाललाई जिल्लाका १० स्थानीय तह नगरपालिका, गाउँ–गाउँपालिका र प्रत्येक वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थालाई इन्टरनेट सेवासँग जोड्ने कार्य भइरहेको श्रेष्ठको भनाइ छ ।
सूचना र सञ्चारको पहुँचबाट टाढा रहेको भोटखोलामा सेवा सञ्चालन भएपछि स्थानीय बासिन्दालाई समेत सूचना आदान–प्रदानमा सहजता आउने भोटखोला गाउँपालिकाका अध्यक्ष ठिलेन भोटेले बताए । पुस १ गतेबाट इन्टरनेट चल्न थालेको छ । सदरमुकाम खाँदबारीबाट करिब १ सय किलोमिटरको दूरीमा रहेको बिकट हिमाली क्षेत्रमा यस अघि इन्टरनेट सेवा सञ्चालन नहुँदा गाउँपालिका र वडाको सूचना प्रवाह, बैंकिङ सेवा सञ्चालन, कार्यालय सञ्चालनलगायत दैनिक जीवनयापनमा समस्या हुँदै आएको अध्यक्ष भोटेको भनाइ छ ।
इन्टरनेट सेवा नहुँदा स्थानीय तह संगको बैंकिङ कारोबार शून्यप्राय थियो अव इन्टरनेट सेवा सुचारु भएको छ । बैंकिङ कारोबारमा थप सहजता आउने भोटखोलामा रहेको एकमात्र बैंक ग्लोबल आईएमई बैंकका ब्रान्च म्यानेजर गौरव त्रिताल बताउँछन् । अब यसको दिगोपना र नियमितताका लागि थप लगानी गर्न जरुरी रहेको उनको भनाइ छ । पुसदेखि फागुन अन्त्यसम्मै त्यस क्षेत्रका बासिन्दाका अधिकांश इष्टमित्र, आफन्तजन जाडो छल्न तराईका जिल्ला र भारतको सिक्कीम दार्जिलिङसम्म पुग्ने गर्छन् । अहिले पनी त्यस क्षेत्रका बासिन्दाहरू इन्टरनेट र टेलिफोन चलाउन ३ दिनको पैदल दूरी पार गरेर सदरमुकाम खाँदबारीसम्म आउनुपर्ने बाध्यता रहँदै आएकाले अव स्थानीयलाई समेत इन्टरनेट सेवासँग जोड्न आवश्यक रहेको भोटखोला २ च्याम्ताङका सचिन लामाले बताए । सूचना र सञ्चार अहिले जीवनको अभिन्न अंगका रूपमा रहेकाले स्थानीयको जिवनस्तर र समृद्धिका लागि पनि सूचना र सञ्चारको महत्वपूर्ण भूमिका रहेको स्थानीय जीवनाथ खनालको भनाइ छ । त्यस क्षेत्रका जनताका लागि शिक्षा स्वास्थ्य जस्तै सूचना र सञ्चार पनि अति नै महत्वपूर्ण र अभिन्न अंग रहेकाले इन्टरनेट सेवाबाट त्यस क्षेत्रका जनता बाह्य संसारसँग जोडिने आधार तैयार भएकोमा खुसी प्रकट गरे ।
अहिले जडान गरिएको इन्टरनेट सेवाको दिगोपनाका लागि अझै धेरै काम गर्न आवश्यक छ । उच्च हिमाली क्षेत्र भएकाले चट्याङ र हावा हुन्डरीको जोखिम उच्च छ । प्राविधिक समस्या निरन्तर आउन सक्ने हुनाले स्थानीय गाउँपालिका र स्थानीय समुदायले थप पहल गर्न जरुरी रहेको सेवाप्रदायक संस्थाका प्रतिनिधि सुगन श्रेष्ठको भनाइ छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको त्यस क्षेत्रमा अधिकांश समय मौसममा प्रतिकूलता आउने भएकाले दक्ष प्राविधिकको व्यवस्था मिलाई इन्टरनेट सञ्चालनमा निरन्तर ध्यान प¥याउन जरुरी रहेको श्रेष्ठको भनाइ छ । इन्टरनेट सेवाबाट त्यस क्षेत्रको स्थानीय निकायले प्रवाह गर्ने सेवा सुविधालगायत जनजीवन सहज तुल्याउने, व्यापार व्यवसाय सञ्चालन, सूचना आदान प्रदान र शान्ति सुरक्षा चुस्त दुस्त राख्न समेत महत्वपूर्ण योगदान पुग्ने संखुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी मिमबहादुर लामाले बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा मर्कन्टायल कम्युनिकेसन प्रालिमार्फत एक्सप्लोर टेक्नोलोजी प्रालि संखुवासभाले निःशुल्क रूपमा आवश्यक सामग्री तथा २ वर्षसम्म इन्टरनेट ब्यान्डविथ उपलब्ध गराउने जनाएको छ ।
नेपाल सरकारलो घरघरमा इन्टरनेट सेवा पु-याउने लक्ष लिएअनुरूप भोटखोलाका अन्य क्षेत्रहरू हुङगुङ, चेपुवा, पावाखोला, किमाथांकालगायतका क्षेत्रमा इन्टरनेट जोड्ने काम भइरहेको सेवा प्रदायक संस्था मर्कन्टायलले जनाएको छ । मर्कन्टायल कम्युनिकेसन प्रालिले संखुवासभाका दशवटै स्थानीय तह नगरपालिका, गाउँपालिका र वडाकार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट सेवा सञ्चालनका लागि जम्मेवारी लिएको छ ।
कृष्णराज शाक्य