हात्तीपाइलेविरुद्धको अभियान प्रभावहीन «

हात्तीपाइलेविरुद्धको अभियान प्रभावहीन

नेपालगन्ज । बाँकेमा २०६७ सालदेखि हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहेको छ । आठौं वर्षको अभियान चल्ने क्रममा रहँदा जिल्लामा अहिलेसम्म ८ करोड बढी खर्च भैसकेको छ भने सात प्रतिशतमात्रै प्रगति भएको छ ।
राज्यले बर्सेनि ठूलो धनराशी खर्च गरेर चलाउने हात्तीपाइ रोग विरुद्धको अभियानमा सोचे अनुसारको प्रगति हुन सकेको छैन । लगातार औषधि खुवाएको ६ वर्षमा हात्तीपाइले एक प्रतिशतभन्दा कममा झार्नु पर्नेमा बाँकेमा आठौँ अभियानको संघारमा आइपुग्दा अझै १३ प्रतिशत रोगी रहेका छन् । अभियान सुरुवात गर्दा बाँकेमा २०.८ प्रतिशत हात्तीपाइले रोगी थिए भने सात वर्ष लगातार अभियान चलाउँदा १३ प्रतिशतमा झरेको छ ।
२०६७ सालमा अभियान सुरु गरेपछि २०७२ मा सर्वे गर्दा १६ प्रतिशतमा झरेको थियो । २०७४ कात्तिकमा सर्वे गर्दा हात्तीपाइले १३ प्रतिशत देखिएको छ । सरकारले फागुन १२, १३ र १४ गते हात्तीपाइलेविरुद्ध आम औषधी सेवन अभियान सञ्चालन गर्दैछ ।
बाँकेमा यसपाली ५ लाख ३५ हजार ७ सय ९७ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख खिमबहादुर खड्काका अनुसार, २ देखि ५ वर्षका ३४ हजार ६ सय ८८, ६ देखि १४ वर्षका एक लाख १२ हजार ८ सय ९०, १५ वर्षमाथिका ३ लाख ८८ हजार २ सय १९ जना रहेका छन् ।
एक लाख १४ हजार ९ सय ८७ घरधुरीका ती मानिसलाई औषत्रि खुवाउन ९ सय ९१ वटा बुथ बनाइएको छ । औषधि खुवाउन ३ सय ४६ जना स्वास्थ्यकर्मी, दुई हजार तीन सय स्वास्थ्य स्वयंसेवक र ५ वटा आरआरटी टीम परिचालन हुने खड्काले बताए ।
अभियानको संघारमा जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न कार्यक्रमहरू गरेर औषधि खाने वातावरण सिर्जना गरिरहेको छ । बाँकेमा हात्तीपाइलेको औषधि खान भने मानिस हच्किने गरेका छन् ।
सुरुको वर्ष स्वास्थ्यकर्मीले जथाभावी औषधि दिएर असावधानीपूर्वक खाएका कारण धेरैलाई असर गरेपछि स्थानीयहरू औषधि खाइरहेका छैनन् । जसले गर्दा पुरै अभियानलाई प्रभावित पारेको छ ।
२०६७ मा ९१, २०६८ मा ५३, २०६९ मा ६६, २०७० मा ७३, २०७१ मा ७५, २०७२ मा ६७ र २०७३ सालमा ७३ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका थिए ।
सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य राखिएको छ । नेपालका ६१ जिल्ला प्रभावित रहेकोमा अभियान सञ्चालन भए पनि ३७ जिल्लामा प्रगति भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्