कांग्रेस केन्द्रीय समिति बैठक २६ मंसिरमा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मंसिर २६ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।
बैठकले पार्टीका केन्द्रीय विभाग गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा समेत छलफल गरी आवश्यक निर्णय गर्ने जनाइएको छ । यही मंसिर १४ गते एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्षसहित जम्मा ५२ स्थानमा उपनिर्वाचन भएको थियो ।
कांग्रेसले उपनिर्वाचनले पार्टीको सांगठनिक आत्मबलमा अभिवृद्धि गराएको र आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्ने सन्देश प्राप्त भएको जनाएको छ ।