औषधि लिमिटेडबाट सिटामोल उत्पादन सुरु «

औषधि लिमिटेडबाट सिटामोल उत्पादन सुरु

नेपाल औषधि लिमिटेडले सिटामोल उत्पादन सुरु गरेको छ । लामो प्रयाशपछि पुनर्जीवन पाएको सरकारी स्वामित्वको यो उद्योगले परीक्षणका रूपमा ८० हजार युनिट सिटामोल उत्पादन गरेको हो । २०६७ सालदेखि पूर्ण रूपमा बन्द भएको उद्योग तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको अग्रसरतामा गत वर्षदेखि सञ्चालनमा आएको थियो ।
उद्योगले  गत वैशाखदेखि जीवनजल उत्पादन गर्दै आएको थियो भने पहिलोपटक चक्की औषधि उत्पादनसँगै लय समातेको हो । पुनस्र्थापनाको एक वर्ष नपुग्दै सिटामोल उत्पादन सुरु हुनुलाई उपलब्धीका रूपमा हेरिएको छ ।  लामो समयदेखि उद्योगले सिटामोल उत्पादन गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला व्यवस्थापकीय सबलताले उत्पादन सुरु भएको हो ।
उद्योगका महाप्रबन्धक रोभसकुसम सुवेदीले यसै सातादेखि परीक्षणका रूपमा सिटामोल उत्पादन थालिएको जानकारी दिए । पहिलो चरणमा ८० हजार युनिट उत्पादन गरी परीक्षण सफल भएपछि व्यावसायिक उत्पादनमा जाने योजना रहेको उनले बताए । “हामीले सम्पूर्ण तयारी पूरा गरेका छाँं, परीक्षण सफल हुनासाथ व्यावसायिक उत्पादन थाल्ने तयारी छ,” महाप्रबन्धक सुवेदीले भने, “फागुनभरीमा सरकारी सिटामोल बजारमा पुराउने लक्ष्य छ ।”
उद्योगमा जडान भएको कम्प्रेसन मेसिनले रेगुलर ब्याचमा ३ लाख २० हजार युनिट उत्पादन गर्नसक्छ । सिटामोलपछि एमजिट, आइरन चक्की, नेमोक्सिल, डिस्टिल वाटर, कफहिष्टलगायतका औषधि उत्पादन गर्दै जाने तयारी छ । तर बजेट अभावका कारण सिटामोल पनि निर्धारित समयमा उत्पादन हुन निकै मुस्किल परेको अनुभव महाप्रबन्धक सुवेदीको छ । यसअघि माघ महिनामा सिटामोल उत्पादन गरी बजारमा ल्याउने लक्ष्य उद्योगको थियो । यसअघि उद्योगले गत वैशाख २४ गतेदेखि जीवनजलको उत्पादन गर्दै आएको छ ।सरकारले आफ्नो उत्पादन नहुँदा निजी कम्पनीसँग सिटामोल खरिद गर्दै आएको छ । अब भने अनुदान वितरणमा गर्ने निशुल्क औषधि यसै उद्योगबाट खरिद गर्नेछ । निजी क्षेत्रबाट उत्पादित औषधि खरिद गुर्नभन्दा सस्तो पर्ने जनाइएको छ । अहिले स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्युअर, विधि विकास, कच्चा पदार्थ, प्याकेजिङ सामग्रीलगायतका विधि विश्वस्तरीय मापदण्डअनुसार सिटामोल उत्पादन थालिएको छ ।
बन्द हुनुपूर्व १ सयभन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको कम्पनीमा विश्वस्तरीय जिएमपी (गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) अनिवार्य गर्न परेपछि बन्द भएको थियो । पछि सरकारले सोका लागि थप रकम निकासा गरेपछि सञ्चालनमा आएको हो । सरकारले १४ करोड ६५ लाख रुपैयाँ निकासा गर्ने भने पनि हालसम्म ६ करोड रुपैयाँ मात्रै निकासा गरेको छ । निर्धारित समयमा सिटामोल उत्पादनका लागि बजेट अभाव र भारतले हालै लगाएको वस्तु तथा सेवा कर (जीएसटी) समस्या रहेको महाप्रबन्धक डा. सुवेदीले बताए । औषधिमा आत्मनिर्भर बन्ने उद्देश्यले २०२९ सालमा स्थापना भएको थियो । विगतमा ६ सयभन्दा बढी कर्मचारी रहेको नेपाल औषधिमा हाल कर्मचारी संख्या ९६ मा सीमित गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्