‘कर छल्ने मुसाविरुद्ध बिरालो पाल्दैछ सरकार’

‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने नाराका साथ आइतबारबाट सुरु भएको कर सप्ताह कार्यक्रम शनिबार सम्पन्न भएको छ । हरेक वर्षको मंसिर १ देखि सात दिनसम्म मनाउने गरिएको कर दिवसको समापन भने यो पटक अलि रोचक र घोचक प्रस्तुतिसहित भयो ।
करमा देखिएका विकृति र विसंगतिलाई सिस्नुपानी नेपाल नामक संस्थाले समापन कार्यक्रममा व्यंग्यात्मक रूपमा प्रस्तुत ग-यो । जहाँ अर्थमन्त्री डा. युवराज खतिवडा, अर्थसचिव डा. राजन खनाल र राजस्वसचिव शिशिर कुमार ढुंगाना स्वंय उपस्थित भए भने आयोजक संस्था आन्तरिक राजस्व विभाग, विभिन्न विभागीय प्रमुखहरूलगायत कर्मचारीको बाक्लो उपस्थिति थियो । निजी क्षेत्रको तर्फबाट उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छादेखि नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर, नेपाल चेम्बर अफ कर्मशमा प्रतिनिधिलगायत थुप्रै उद्योगी व्यवसायी सहभागी थिए ।
व्यंग्यात्मक शैलीमा कलाकारहरूले प्रस्तुत गरेका गीत, गजल कविता तथा मोटिभेसनल स्पिचमा सहभागीहरूबाट तालीको गडगडाहट रोकिएन । तालीको गडगडाहटकै क्रममा बोल्ने पालो अर्थमन्त्रीको आयो । कलाकारको प्रस्तुतीबाट प्रसन्न मुद्रामा देखिएका अर्थमन्त्री खतिवडा आफैंले पनि ठ्ट्यौली पारामा तीनवटा जोक भन्न भ्याए । बजेट कार्यान्वयनको चार महिनामा विकास खर्च नाजुक देखिनु, लक्ष्य अनुसारको राजस्व नउठनु र अर्थतन्त्रका सूचकहरू नकारात्मक देखिँदा अर्थमन्त्री आलोचित बन्दै आएका छन् । तर, चुहावट रोक्न अर्थमन्त्रीले गरेका प्रयास र लगानीमैत्री वातावरणको खोजीमा रहेका मन्त्री खतिवडाले व्यंग्यात्मक शैलिमै सम्बोधन गरे । उनले गरेका सबैखाले व्यंग्य कर नतिर्ने करदाता र नियम कानुनको पालना नगर्नेहरूप्रति लक्षित थिए । सो अवसरमा उनले करछलीमा संलग्नलाई कारबाही गर्न सरकारले बिरालो पाल्न थालेको समेत सुनाए । त्यतिमात्र होइन, विकास खर्च नहुनुको सबै दोष अर्थमन्त्रालयई थुपारेको भन्दै उनले विकास साझेदार तालुक मन्त्रालयप्रति पनि व्यंग्य गर्दै भने, “जाडो भयो भनेर अर्काको खल्तिमा हात नहाल्नुस् ।” उनको यो व्यंग्य भने सरकारकै तालुकदार मन्त्रालय, आयोजन प्रमुख र अर्थ मन्त्रालय मातहतकै कर्मचारीप्रति लक्षित थियो । “विकास खर्च गर्न नसक्ने र सवै दोष अर्थ मन्त्रालयलाई दिने जुन परिपाटी छ, त्यो कुरा अर्काको खल्तीमा हात परेछ भन्ने कुरा अहिलेको विकास निर्माणका कार्यक्रमसँग मेल खान्छ,” उनले कर नतिर्ने र कर छलीमा सघाउनेहरूलाई मुसाको संज्ञा दिँदै भने, “कुटु–कुटु खाने मुसाका लागि सरकारले बिरालाको खेती सुरु गरेको छ, अब यसले छोड्दैन ।” धार्मिक सस्थाले उल्टो विवरण हालेर कर नतिर्ने र अडिटर र कर प्रशासनलाई दोष दिने परिपाटी रहेको पनि उनले ठट्यौली पारामै सुनाए । “अन्तर्राष्ट्रिय प्रयास राज्यलाई ठग्ने कोही कसैलाई छोड्दैन,” निजी क्षेत्रलाई इंगित गर्दै उनले भने, “समाजलाई प्रदूषित गर्नेसँग चियर्स गर्न मिल्दैन ।”
निजी क्षेत्रको तर्फबाट बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले सरकारप्रति व्यंग्य गर्दै निजी क्षेत्रमा चलेको डाइलग पहलमानको उदाहरण दिए । उनले सरकारले राजस्वको लक्ष्य भेटाउन नसक्दा त्यसको दोष निजी क्षेत्रलाई दिने गरेकोप्रति उनले असहमित जनाए । “बजेट अनुसार खर्च नहुँदा राजस्व उठेको छैन, लक्ष्य अनुसारको राजस्व नउठ्दा निजी क्षेत्रलाई अझ बढि निचोेर्न काम भएको छ,” उनले भने, “२२ प्रतिशत कर नउठ्नु निजी क्षेत्रले कर नतिरेर मात्रै होइन यो भ्रममा सरकार नपरोस् ।” उनले कर शिक्षा अति आवश्यक रहेको र निजी क्षेत्र कर तिर्न र मुलुकको समृद्धिकै पक्षमा रहेको जिकिर गरे ।
आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले करदातामैत्री सचेतना कार्यक्रम उत्साहप्रद भएको बताए । हरेक प्रदेशका मुख्यमन्त्री, निजी क्षेत्रका प्रतिनिधि लगायतको सहभागितामा कर सप्ताह गरेको भन्दै उनले करमैत्री शिक्षालाई पाठ्यसामग्रीकै रूपमा अघि वढाउने विभागले तयारी गरेको पनि जानकारी दिए । नेपालमा मूल्य अभिवृद्धि कर सुरु गरेको अवसरमा ८ वर्षदेखि हरेक वर्ष मंसिर १ देखि साताव्यापी रूपमा कर दिवस मनाउने गरिएको छ ।