प्रेसिडेन्ट सर्वेक्षणमा ट्रम्प पुछारमा «

प्रेसिडेन्ट सर्वेक्षणमा ट्रम्प पुछारमा

२ सय राजनीतिक विशेषज्ञ तथा अमेरिकी जनताले मिलेर डोनाल्ड ट्रम्पलाई अमेरिकाको २ सय २९ वर्षको लोकतन्त्रकै खराब राष्ट्रपतिका रूपमा चुनेका छन् । ग्रेट प्रेसिडेन्ट सर्भेमा ट्रम्प ४४ औं अर्थात् सबैभन्दा पुछारमा छन् । यो सर्भेमा अमेरिकी राष्ट्रपतिको उपलब्धि, असफलता, विवाद, छवि तथा कार्यकालमा भएको देशको अवस्थाका आधारमा १ सय अंक दिइएको छ । १ सय अंकलाई सबैभन्दा राम्रो र शून्य अंकलाई सबैभन्दा खराब मानिन्छ । ट्रम्पलाई १२ अंक मात्रै प्राप्त भएको छ । पूर्वराष्ट्रपति ओबामालाई ७१ अंक मिलेको छ । यो अंकका साथ ओबामा आठौं लोकप्रिय राष्ट्रपति भएका छन् ।
ओबामाको लोकप्रियतामा वृद्धि
पदबाट हटेपछि पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको लोकप्रियतामा झन वृद्धि भएको छ । उनको स्थानमा १० स्थानले सुधार भएको छ । चार वर्षअगाडि भएको सर्भेमा ओबामा १८ औं स्थानमा थिए । उक्त समयमा उनी राष्ट्रपतिको पदमै थिए । पछिल्लो ३८ वर्षमा चुनिएका अमेरिकी राष्ट्रपतिमा उनी सबैभन्दा लोकप्रिय भएका थिए । १९८० मा रोनाल्ड रेगनदेखि लिएर आजसम्मको अवधिमा बनेका राष्ट्रपतिमा ओबामा लोकप्रिय भएका हुन् ।
लिंकन सर्वाधिक लोकप्रिय
सर्भेमा अब्राहम लिंकनलाई सबैभन्दा राम्रो राष्ट्रपतिका रूपमा चुनिएको छ । लिंकनलाई १ सय अंकमा ९५ मिलेको छ । ९३ अंकका साथ जर्ज वासिङ्टन दोस्रो स्थानमा रहेका छन् । सर्भेमा सहभागिता जनाउनेमा ५७ प्रतिशत ठेमोक्र्याट, १३ प्रतिशत रिपब्लिकन तथा २७ प्रतिशत अन्य विचारधारका छन् ।
हिलारीको अभियानले बिल क्लिन्टनलाई बेफाइदा
ट्रम्पभन्दा माथि अमेरिकाका पन्ध्रौँ राष्ट्रपति जेम्स बुकेनन रहेका छन् । उनले १५ अंक प्राप्त गरेका छन् । बिल क्लिन्टन १३ औं स्थानमा छन् । तर, हिलारी क्लिन्टनको राष्ट्रपति अभियानपछि उनको लोकप्रियतामा कमी आएको हो । उनी योभन्दा अघिल्लो सर्भेको तुलनामा ५ स्थान ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्