वस्तु निर्यातभन्दा दोब्बरको इन्धन आयात «

वस्तु निर्यातभन्दा दोब्बरको इन्धन आयात

नेपालले पछिल्लो ६ महिनामा कुल वस्तु निर्यातबाट प्राप्त रकमभन्दा करिब दोब्बर रकम बराबरको इन्धनमात्र आयात गरेको छ । नेपालले पुस मसान्तसम्ममा कुल ४१ अर्ब १४ करोडको वस्तु निर्यात गरेको थियो भने पेट्रोलियम पदार्थमात्र झन्डै दोब्बर अर्थात ७५ अर्ब २० करोड रुपैयाँ बराबरको आयात गरेको नेपाल आयल निगमले जनाएको छ ।नेपालले पछिल्लो ६ महिनामा कुल वस्तु निर्यातबाट प्राप्त रकमभन्दा करिब दोब्बर रकम बराबरको इन्धनमात्र आयात गरेको छ । नेपालले पुस मसान्तसम्ममा कुल ४१ अर्ब १४ करोडको वस्तु निर्यात गरेको थियो भने पेट्रोलियम पदार्थमात्र झन्डै दोब्बर अर्थात ७५ अर्ब २० करोड रुपैयाँ बराबरको आयात गरेको नेपाल आयल निगमले जनाएको छ ।बजारमा बढ्दो खपतसँगै इन्धन आयातमा उलेख्य रूपमा वृद्धि भएको छ भने केही महिनायता इन्धनको मूल्यसमेत वृद्धि हुँदा यस्तो अवस्था देखिएको हो । गत वर्ष सोही अवधिमा ५४ अर्ब रुपैयाँ पेट्रोलियम पदार्थ आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा पछिल्लो ६ महिनामा इन्धनको मूल्य २० प्रतिशतले बढेको हुनाले कुल आयात रकम बढेको निगमले जनाएको छ । यसबाहेक भारतबाट वार्षिक १७ अर्ब रुपैयाँ बराबरको बिजुली पनि आयात हुने गरेको छ । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले ६ महिनामा ७५ अर्ब रुपैयाँभन्दा बढीको इन्धन आयात भएको बताए । बजारमा पेट्रोलियम पदार्थको खपत वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले इन्धन खरिद रकम बढेको उनले बताए । निर्यात क्षमता घट्दै गएर नेपालको ‘व्यापार शर्त’ चार प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ‘टम्र्स अफ ट्रेड्स’ अर्थात आयात र निर्यात मूल्यबीचको अन्तरमा नेपाल खस्केर २०७३ असोजमा मुलुकबाट औसत प्रतिएकाई १ सय ७२ मूल्यको सामान निर्यात हुने गरेकामा हाल १ सय ५९ मा झरेको छ । आयल निगमका अनुसार सवारी साधनको बढ्दो प्रयोगसँगै इन्धन आयात पनि उलेख्य रूपमा वृद्धि भएको छ । अघिल्लो वर्षको ६ महिनाको तुलनामा इन्धन आयात २० प्रतिशतले ७५ अर्ब रुपैयाँको आयात भएको  निगमको भनाइ छ ।  निगमले इन्डियन आयल कर्पाेरेसन (आइओसी)बाट इन्धनको कारोबार गर्दै आएको छ । मुलुकमा गत वर्षदेखि लोडसेडिङ कम भए पनि इन्धन आयात भने झनै बढेर गएको छ । निगमका अनुसार ६ महिनामा १३ लाख २५ हजार २ सय ७५ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । निगमका अनुसार जुलाईको १५ दिनमा पेट्रोल १९ हजार ७ सय ४९ किलोलिटर, अगस्तमा ३७ हजार ५ सय २३, सेप्टेम्बरमा ३५ हजार ३ सय ४८, अक्टोबरमा ४२ हजार २ सय ५५, नोभेम्बरमा ४२ हजार ७७, डिसेम्बरमा ३८ हजार ३ सय ८८ र जनवरीमा ३८ हजार ८ सय १४ किलोलिटर आयात भएको छ  । यस्तै, डिजेल जुलाईमा १५ दिनमा ५३ हजार ७ सय ७८, अगस्तमा ८४ हजार २ सय १५, सेप्टेम्बरमा ८३ जार १ सय ७७, अक्टोबरमा १ लाख ४ सय ४७,  नोभेम्बरमा १ लाख ४१ हजार ५४, डिसेम्बरमा १ लाख ३८ हजार १ सय ८७ र जनवरीमा १ लाख ४९ हजार ६ सय १० किलोलिटर आयात भएको निगमले जानकारी दिएको छ ।यस्तै, हवाई इन्धन जुलाई महिनाको १५ दिनमा ६ हजार २ सय, अगस्तमा १० हजार ५ सय ८०, सेप्टेम्बरमा १७ हजार १ सय ८०, अक्टोबर १९ हजार ४ सय, नोभेम्बरमा १९ हजार ५ सय २०, डिसेम्बरमा १७ हजार ५ सय २० र जनवरीमा १६ हजार ६ सय ८० किलोलिटर आयात भएको छ । जुलाईको १५ दिनमा खाना पकाउने एलपी ग्यास १४ हजार २ सय ६३ मेट्रिक टन, अगस्तमा २६ हजार ३५, सेप्टेम्बरमा ३० हजार ६ सय २१, अक्टोबर महिनामा २९ हजार ९ सय १६, नोभेम्बरमा ३३ हजार ८ सय ७४, डिसेम्बरमा ३१ हजार ८ सय ९ र जनवरी महिनामा ३५ हजार ३ सय ५७ मेट्रिक टन आयात भएको निगमले जानकारी दिएको छ । मासिक सरदर ७५ देखि ८० हजार किलोलिटर डिजेल माग  छ । यस्तै, पेट्रोल  मासिक २५ देखि ३० हजार किलोलिटर, हवाई इन्धन १२ देखि १५ हजार किलोलिटर र ग्यास २५ देखि ३० हजार मेट्रिक टन माग छ ।

प्रतिक्रिया दिनुहोस्