Logo

कतारका अमिर नेपालमा

जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रमा लगानीको नयाँ सम्भावना

काठमाडौं– कतारका अमिर शेख तमिम विन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका क्रममा मंगलबार नेपाल आएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा थानी नेपाल भ्रमणमा आएका हुन् ।

राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थानीलाई स्वागत गरे । त्यसक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल पुगेका थिए ।

थानी यसअघि बंगलादेशको राजकीय भ्रमणमा थिए । उनी बंगलादेशबाटै नेपाल आएका हुन् । कतारका अमिर थानी र राष्ट्रपति पौडेलबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ । त्यसक्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्ता साझा चासोका मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरे । राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले चिन्तित तुल्याएको पनि बताए ।

त्यसक्रममा कतारका अमिरले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौताको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद् वातावरण तयार हुने बताए । कतारका अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे । अमिरले कतारको विकासमा नेपालीको ठूलो योगदान रहेको भन्दै आभार प्रकट गरे ।

उनले दुई देशबीच हुने समझदारी तथा सम्झौताले नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रमा लगानीको नयाँ सम्भावना बढाउन सक्ने विश्वास व्यक्त गरे । मंगलबार नै कतारी अमिरको सम्मानमा राष्ट्रपति पौडेलले रात्रिभोज आयोजना गरेका थिए ।

यस्तो छ नेपाल–कतार सम्बन्ध
नेपाल र कतारबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा खोलेको थियो ।

राससका अनुसार दुई मुलुकबीच विभिन्न क्षेत्रगत सहकार्यका लागि सम्झौताहरु भएका छन् । तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको भ्रमणका क्रममा सन् २००५ मार्च २१ मा नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो । सन् २०२१ डिसेम्बर २ र ३ मा काठमाडौंमा सम्पन्न भएको दुई देशका श्रममन्त्रीस्तरीय संयुक्त कमिटीको चौथो बैठकले सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति जुटाएको थियो ।

यद्यपि हालसम्म उक्त सम्झौता पुनरावलोकन हुन सकेको छैन । दुई देशबीच सन् २००५ मा आर्थिक, व्यापारिक तथा प्राविधिक सहकार्यसम्बन्धी सम्झौता पनि भएको थियो । सन् २००७ मा नेपालले कतारसँग दोहोरो करमुक्ति सम्झौता गरेपछि त्यहाँका लगानीकर्ताले नेपालका कृषि, पूर्वाधार, ऊर्जालगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

नेपाल र कतारबीच द्विपक्षीय हवाई सेवा (नागरिक उड्डयन)सम्बन्धी सम्झौता सन् २००२ जुलाइ ८ मा सम्पन्न भएको थियो । त्यस्तै दुई देशबीच पर्यटन प्रवद्र्धनका लागि पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा सन् २०११ मा हस्ताक्षर भएको थियो ।

दुई देशका निजी क्षेत्रबीच पनि सहकार्य हुँदै आएको छ । नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सले सन् २०१८ मा दुईपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । त्यसैगरी, कतारको मुख्य बैंकमध्ये एक दोहा बैंकले सन् २०१८ डिसेम्बरमा काठमाडौंमा सम्पर्क कार्यालय खोलेको थियो । नेपालका उद्यमीहरु कतारमा संगठितसमेत भएका छन् । सन् २०२१ मार्चमा कतार वित्तीय प्राधिकरण (कतार फाइनान्सियल अथोरिटी) मा ‘नेपाली विजनेस एशोसिएसन कतार’ नाममा नेपालीहरु संगठित भएर संस्था दर्ता भएको थियो ।

कतार बेलायतबाट सन् १९७१ मा स्वतन्त्र भएको मुलुक हो । स्वतन्त्र हुनुअघि कतारले आफ्नो अस्थायी संविधान लागु गरिरहेकामा औपनिवेशिक स्वतन्त्रतापछि उक्त संविधानलाई थप संशोधन र परिस्कृत गरी कार्यान्वयनमा ल्याएको थियो । कतारको शासकीय व्यवस्था, कानुन प्रणाली, कार्यकारी अधिकार तथा शासनको उत्तराधिकारीलगायत महत्वपूर्ण विषयहरु समेटेर सन् १९९९ मा स्थायी संविधानको मस्यौदा निर्माणका लागि समिति गठन गर्न अमिरी आदेश जारी गरियो । कतारले सोही वर्ष अर्थात् सन् १९९९ मा पहिलोपटक केन्द्रीय नगर परिषद्को चुनाव गरेको थियो । यसलाई लोकतन्त्रप्रतिको पहिलो कदमका रुपमा कतारले लिँदै आएको छ ।

विभिन्न समयमा दुवै देशबाट उच्चस्तरीय भ्रमणहरु भएका छन् । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले सन् २०११ को अक्टोबरमा कतारको औपचारिक भ्रमण गरेका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१८ को अक्टोबर ३० देखि नोभेम्बर २ सम्म कतारको राजकीय भ्रमण गरेकी थिइन् । सन् २०२२ मार्च २१ देखि २३ गतेसम्ममा नेपालका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कतार भ्रमणमा गएका थिए । त्यसैगरी सन् २०१९ नोभेम्बर २० देखि २२ गतेसम्म तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले कतारको भ्रमण गरेका थिए ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा सन् २०१९ अप्रिल ६ देखि १० गतेसम्म कतार भ्रमणमा गएका थिए । तत्कालीन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सन् २०१८ नोभेम्बर १३ देखि १४ कतार भ्रमण गरेका थिए ।
नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेका अवसरमा सन् २०१७ जनवरीमा तत्कालिन परराष्ट्रमन्त्री प्रकाशशरण महत कतारको आधिकारिक भ्रमणमा गएका थिए । त्यस्तै तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सन् २०१५ अप्रिल ११ देखि १४ गतेसम्म भ्रमण गरेका थिए ।

कतारका तर्फबाट नेपालमा भएका उच्चस्तरीय भ्रमणहरुमा सन् २०१५ अप्रिल ४ देखि ७ गतेसम्म कतारको श्रम तथा सामाजिक मामिलामन्त्री अब्दुल्लाह विन सलेह मुबारक अल–खुलाफी नेपाल भ्रमणमा आएका थिए । कतारका वातावरणमन्त्री अब्दुल्लाह विन मुवारक विन अबुद अल–मिधाधी सन् २०१२ अप्रिल ५ देखि ९ गतेसम्म नेपाल भ्रमणमा आएका थिए । कतारका वैदेशिक मामिला मन्त्री शेख हमाद विन जसिम विन अल थानी सन् २००९ मा नेपाल भ्रमणमा आएका थिए ।

नेपाल र कतारबीचको वैदेशिक व्यापारको क्षेत्र पनि विस्तारै बढ्दै गएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०–८१ को चैत मसान्तसम्ममा एक अर्ब ५३ करोडबराबरको आयात र नौ करोड १९ लाखबराबरको निर्यात भएको छ । नेपालको चिया, कफी, पिउने पानी, मसला, अलैंची, कतार निर्यात हुने गरेका छन् भने कतारबाट धुलो दूध, मह, काजुलगायत ड्राइ फ्रुट, कफीलगायत वस्तुको बढी आयात बढी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्