Logo

समृद्धिका लागि स्थानीय आर्थिक विकास

प्रमुख आर्थिक परिसूचकहरूको दिगो सकारात्मक परिवर्तन नै आर्थिक विकास हो । स्थानीय सरकारको नेतृत्वमा स्थानीय स्रोतसाधनको प्रयोगद्वारा स्थानीय जनताका लागि गरिने आर्थिक विकासलाई स्थानीय आर्थिक विकासका रूपमा लिन सकिन्छ । यो स्थानीय सरकार, स्थानीय समुदाय र स्थानीय नागरिकको सामूहिक प्रयत्नको उपज हो ।

नेपालमा लामै कालखण्डदेखि नै स्थानीय आर्थिक विकासलाई महत्व दिँदै विभिन्न कार्यक्रम र क्रियाकलापहरू सञ्चालन भएको पाइन्छ । पछिल्लो समयमा संघीयताको कार्यान्वयनसँगै स्थानीय सरकारहरूको नेतृत्वमा स्थानीय आर्थिक विकासका थुप्रै गतिविधि सञ्चालन भइरहेका छन् । तथापि, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य प्राप्तिमा त्यस्ता गतिविधिको सकारात्मक प्रभाव पर्न र आमनागरिकको जीवनस्तर अपेक्षित रूपमा समृद्ध र उन्नत बन्न सकेको छैन ।

स्थानीय आर्थिक विकास समग्र आर्थिक विकासको एक मोडेल हो; जसमा आर्थिक क्रियाकलाप सञ्चालनका पात्रहरू खासगरी स्थानीय सरकार, निजी क्षेत्र र नागरिक समाजद्वारा स्थानीय समुदायको सहभागितामा आर्थिक वृद्धि, उत्पादन बढोत्तरी र रोजगारी सिर्जनामार्फत समुदायको गुणस्तरीय जीवन कायम गर्न विभिन्न क्रियाकलाप सञ्चालन गरिन्छ । स्थानीय आर्थिक विकास खासगरी स्थानीय तहमा आर्थिक सशक्तीकरण, सीप विकास, उद्यमशीलता विकास, औद्योगिक प्रवद्र्धन, विशिष्टीकृत वस्तु उत्पादन र आर्थिक विकासका पूर्वाधार निर्माणको माध्यमबाट उत्पादन र रोजगारी वृद्धि गरी स्थानीयवासीको आर्थिक स्तरमा अभिवृद्धि गर्ने कार्य हो । स्थानीय आर्थिक विकासको मूल लक्ष्य स्थानीय जनताको आर्थिक समृद्धि हो ।

नेपालमा स्थानीय आर्थिक विकासका लागि सरकारी तवरबाट विभिन्न प्रयास भने हुँदै आएका छन् । ग्रामीण विकास बैंक स्थापना गरी सामूहिक जमानीमा लघुकर्जा उपलब्ध गराउने, कृषि विकास बैंकमार्फत कृषकहरूलाई लगानीका लागि वित्तीय पहुँच पुर्याउने जस्ता कार्यहरू लामै समयदेखि भइरहेका छन् । स्थानीय आर्थिक विकासका लागि स्थानीय विकास कोष, युवा स्वरोजगार कोष, गरिबी निवारण कोष, गरिबसँग विश्वेश्वर कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, लघुउद्यम विकास कार्यक्रमजस्ता संस्थागत पहल पनि हुँदै आएका छन् । संघीयताको कार्यान्वयनसँगै स्थानीय तहको प्रस्तावका आधारमा औद्योगिक ग्राम स्थापना गर्न संघीय सरकारबाट लगानी गर्ने जस्ता थुप्रै कार्यक्रम कार्यान्वयन भइरहेका छन् । तथापि, यस खालका अधिकांश कार्यक्रम केन्द्र सरकारबाट स्रोत वितरण गरी केन्द्रकै नियन्त्रणमा सञ्चालन हुने राजनीतिक प्रकृतिका कार्यक्रमहरू रहेका र यही कारण यस्ता कार्यक्रम अपेक्षित रूपमा सफल बन्न नसकेको तीतो यथार्थ रहेको छ ।

स्थानीय तहमा आय र रोजगारी सिर्जनाको मेरुदण्ड नै स्थानीय आर्थिक विकास हो । यही तथ्यलाई आत्मसात् गरी संघीयताको कार्यान्वयनसँगै स्थानीय तहले समेत संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँडको रकम एवं आफ्नो आन्तरिक आयसमेतको परिचालन गरी विकासका विभिन्न क्षेत्रगत कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन् । तथापि, धेरैजसो स्थानीय तहले आर्थिक विकासका नाममा सञ्चालन गरेका कार्यक्रमहरूले पुँजी निर्माण र रोजगारी सिर्जना गर्नतर्फ उल्लेख्य योगदान पुर्याउन सकेको देखिँदैन । केही अपवादबाहेक यस्ता कार्यक्रमहरू उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र उद्यमशीलताको विकास गर्ने दिशामा भन्दा सस्तो राजनीतिक लोकप्रियता हासिल गर्नतर्फ प्रेरित रहेका देखिन्छन् ।

स्थानीय अर्थतन्त्रको मुख्य आधारस्तम्भका रूपमा रहेको कृषि र पशुपालन क्षेत्रको विकासका नाममा पकेट क्षेत्र घोषणा गर्ने, कृषिको आधुनिकीकरण र यान्त्रीकरणका लागि ट्रेलरलगायतका औजारहरू वितरण गर्ने, मल, बीउ र पशुपालनमा अनुदान दिनेजस्ता कार्यक्रमहरू धेरै स्थानीय तहले सञ्चालन गरेको पाइन्छ । पर्यटन क्षेत्रको विकासका लागि धेरैजसो स्थानीय तहले भ्युटावर बनाउने, स्वागतद्वार बनाउने गरेका छन् भने व्यावसायिक भवनहरू निर्माण गर्ने, होमस्टेको प्रवद्र्धन गर्ने, मन्दिर र प्राकृतिक स्रोतहरूको संरक्षण एवं निर्माण गर्नेजस्ता कार्यलाई प्राथमिकता दिएको देखिन्छ । तथापि, करोडौं लागतमा निर्माण भइरहेका भौतिक संरचनाहरूले स्थानीय जनताको आर्थिक समृद्धिमा प्रत्यक्ष योगदान गर्न सकिरहेका छैनन् । स्थानीय तहबीचमा होडबाजीकै रूपमा यस्ता क्रियाकलापहरू सञ्चालन भइरहे तापनि यस्ता कार्यक्रमले समग्र स्थानीय तहको आर्थिक विकासमा कस्तो प्रभाव परिरहेको छ भन्ने सूक्ष्म रूपमा अध्ययन हुन सकेको छैन ।

स्थानीय आर्थिक विकासका सन्दर्भमा मुलुकभरका सबै खाले भूगोलमा रहेका ७ सय ५३ स्थानीय तहका आआफ्नै किसिमका सम्भावना र चुनौती छन् । यो स्थितिमा स्थानीय तहले स्थानीय आर्थिक विकासको कार्यक्रमलाई योजनाबद्ध रूपमा अघि बढाउन आफ्नो वर्तमान स्थिति पत्ता लगाउन स्थानीय आर्थिक विकासको प्रोफाइल तयार गर्नुपर्ने हुन्छ । तत्पश्चात्, स्थानीय तहको आवधिक योजनाको अंगका रूपमा स्थानीय आर्थिक विकास योजना तयार गर्न अपरिहार्य हुन्छ । यसका साथै, सालबसाली रूपमा स्थानीय आर्थिक सर्वेक्षण जारी गरी आर्थिक विकासको यथार्थ अवस्थालाई सार्वजनिक गरिन आवश्यक हुन्छ ।

नेपालको सन्दर्भमा हरेक स्थानीय तहमा फरक–फरक प्राकृतिक स्रोतसाधनको प्रचुरता रहेको पाइन्छ । त्यसैले, स्थानीय तहहरूले आफ्नै भूभागमा उपलब्ध प्राकृतिक स्रोत–साधनको उच्चतम परिचालनमार्फत स्थानीयवासीको आयआर्जन, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जनातर्फ पर्याप्त ध्यान पुर्याउन आवश्यक छ । खुला बजारको अन्तर्राष्ट्रिय परिवेशअनुकूल कृषिक्षेत्रलाई व्यवसायीकरण तथा विविधीकरण गरी तुलनात्मक लाभ एवं प्रतिस्पर्धाको माध्यमबाट सक्षम बनाउनतर्फ स्थानीय सरकारको ध्यान पुग्न सके यसबाट स्थानीय आर्थिक विकासमा फड्को मार्न सकिन्छ ।

स्थानीय तहहरूमा अन्धाधुन्ध रूपमा भइरहेको डोजरे विकास र अव्यवस्थित एवं अनावश्यक पूर्वाधार निर्माणको होडबाजीलाई निरुत्साहित गर्न र विकास क्रियाकलापहरूलाई प्राथमिकीकरण गरी स्थानीय जनताको मागमा आधारित तुल्याइन जरुरी छ । परम्परागत प्रकृतिका स्थानीय रैथाने उत्पादनको आधुनिकीकरण, प्रविधीकरण र उद्यमशीलतामार्फत त्यस्ता उत्पादनलाई मूल्यश्रृंखलामा जोड्न सके स्थानीय आर्थिक विकासलाई दिगो तुल्याउन सकिन्छ । उपलब्ध जनशक्ति, स्थानीय प्रविधि र कच्चा पदार्थ तथा न्यून लगानीमा सहज रूपमा व्यवस्थापन गर्न सकिने साना र मझौला उद्योगहरूको सञ्चालन एवं उद्यमशीलता विकासमार्फत औद्योगिक अर्थतन्त्र निर्माणतर्फ स्थानीय तहहरूको पर्याप्त ध्यान पुग्नुपर्ने देखिन्छ ।

स्थानीय आर्थिक विकाससम्बन्धी सही योजना, नीति र प्रभावकारी कार्यान्वयनमार्फत समग्र स्थानीय विकासको अभियानलाई दिगो र फलदायी तुल्याउन सकिनुका साथै सिंगो मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउन धेरै समय लाग्दैन । नेपालमा राजनीतिक प्रणालीको परिवर्तन जुन गतिमा भयो सोही गतिमा आर्थिक विकासको सिलसिला अघि बढ्न नसकेको तथ्यमा दुईमत छैन । त्यसैले अहिलेको स्थितिमा स्रोतसाधन सम्पन्न स्थानीय तहहरूको अगुवाइ एवं संघ, प्रदेश सरकार र सरोकारवालाहरूको समन्वयात्मक प्रयासबाट स्थानीय आर्थिक विकास कार्यक्रमलाई तीव्र गति दिनुपर्ने टड्कारो आवश्यकता देखिएको छ । यसो हुन सकेमा मुलुकले अभ्यास गरिरहेको संघात्मक शासन पद्धतिको दिगोपना र सुखद भविष्यको आशा राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्