Logo

‘उद्योगी व्यवसायीले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको सकारात्मक सन्देश दिनसके अर्थतन्त्र तत्काल लयमा आउने बताएका छन् । शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष ढकालले उद्योगी व्यवसायीहरुले मनोवबल कमजोर भयो, व्यवसायी वातावरण भएन भन्दा पनि सकारात्मक रुपमा सोच्न आवश्यक रहेको बताए ।

उनले मुलुकभरका उद्योगी व्यवासायीहरुलाई मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा रहेको सन्देश दिनसके छोटो समयमा व्यवसायीहरुले चाहेको जस्तो आर्थिक विकास हुनसक्ने विश्वास व्यक्त गरे । उनले अब उद्योगी व्यवसायीहरुले निरासको मात्रै कुरा गरेर, व्यवसायिक वातावरण छैन भनेर निरास हुन आवश्यक नभएको बताए । उनले मुलुकको वाह्य अर्थतन्त्र विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स, पर्यटक वृद्धि र बैंकमा तरलता सकारात्मक रहेको बताए ।

अध्यक्ष ढकालले सरकारले आगामी बजेट र मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा निश्चित प्रतिशत लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरे । उनले बैंक तथा वित्तीय संस्थाहरुले कृषि, जलविद्युत लगायत अन्य क्षेत्रमा जस्तै निर्माण क्षेत्रमा पनि प्राथमिकताका साथ लगानी गर्ने व्यवस्था गर्दा विकास निर्माण चलायमान हुनसक्ने बताए ।

यस्तै, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको वाह्य अर्थतन्त्रमा सुधार आएपनि आन्तरिक अर्थतन्त्रमा सुधार हुन नसकेको बताए । उनले मागमा वृद्धि र निजी क्षेत्रको मनोवल पनि माथि उठ्न नसकेको अवस्थाले उद्योगी व्यवसायीहरुले नयाँ लगानीका योजनाहरु अघि बढ्न नसकेको जानकारी गराए । उनले निजी क्षेत्रको मनोबल बढाउन र अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले सरकारले पुँजीगत खर्च बढाएर अर्थतन्त्रलाई गतिशिलता दिन आवश्यकता रहेको उल्लेख गरे । उनले अर्थतन्त्र चालयमान बनाउन सक्ने उपाय प्रभावकारी बजेट कार्यान्वयन भएको भन्दै प्रभावकारी बजेट कार्यान्वयनबाट पुँजीगत खर्च बढ्ने र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने धारणा राखे । उपाध्यक्ष पाण्डेले सरकारले पुँजीगत खर्च बढाउन नसक्दा विकास निर्माणका काम अघि बढ्न नसकेको दाबी गरे । उनले चालु आर्थिक वर्षको ८ महिना पूरा हुँदा पनि पुँजीगत खर्च ३० प्रतिशत भन्दा माथि नगएको बताए ।

उनले निर्माण व्यवसायीहरुले पाउनुपर्ने रकम भुक्तानी भए अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले सरकार आगामी वर्षको बजेटमा स्वदेशी उद्योगहरुलाई प्रवर्द्धन गर्ने रणनीति लिनुपर्नेमा जोड दिए । उनले स्वदेशी उद्योगहरुको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर हुन आगामी बजेट कोषेढुङ्गा सावित हुनुपर्ने परिसंघको माग रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्