हेटौंडामा प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी

हेटौंडा– हेटौंडामा चैत २ गतेबाट आठौं प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिले बागमती प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी आयोजना गर्न लागेको हो ।
‘पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यकता’ भन्ने नाराका साथ चैत ६ सम्म प्रदर्शनी सञ्चालन गर्न लागिएको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । महिला उद्यमी विकास समितिकी सभापति अंकिता सुमार्गीले प्रदर्शनीले महिलाहरूको उद्यमशीलताको प्रवद्र्वनमा टेवा पुग्ने अपेक्षा राखेको बताइन् ।
प्रदर्शनीमा महिला उद्यमीहरूको हस्तकलाका उत्पादन, अन्य वस्तु तथा सेवाहरूको प्रदर्शनी साथै कृषि सम्बन्धी स्टलहरू रहने उनले जानकारी दिइन् । प्रदर्शनीमा ३७ वटा स्टलहरू रहने र मकवानपुर, सिन्धुली, चितवन, काठमाडौं, नुवाकोट, इटहरीदेखिका उद्यमीहरूबाट स्टल बुक भएको छ ।
प्रदर्शनी अवधिभर महिला उद्यमीहरूको वस्तु तथा सेवाहरूको प्रदर्शनी तथा बिक्री, कृषि उपजहरूको प्रदर्शनी तथा बिक्री, स्थानीय कलाकारहरूको दैनिक मनोरञ्जनात्मक प्रस्तुति, महिला उद्यमीहरूको सफलताको कथा, महिला उद्यमशीलतालगायतका विषयमा प्यानल छलफल, कृषि सम्बन्धी खुल्ला अन्तरक्रिया कार्यक्रम हुनेछ ।