Logo

हाते कागज उत्पादन प्रभावित

इलाम– मौसम प्रतिकुलताले हाते कागज उत्पादन प्रभावित भएकोछ । उच्च पहाडी क्षेत्रमा पाइने लोक्ता र अर्गेली उत्पादन गर्न पर्याप्त घाम आवश्यक पर्ने हुँदा मौसमकै कारण उत्पादन प्रभावित भएको हो । मौसम अनुकुल नहुँदा इलाममा करिब आधा दर्जन उद्योग दर्ता भए पनि नियमित रूपमा एउटा उद्योग मात्र सञ्चालनमा रहेको छ ।

हाते कागज सरकारी कामकाजमा प्रयोग हुँदै आएको छ । तर यसको कच्चा पदार्थ जिल्लामा प्रशस्तै उत्पादन भए पनि अनुकूल मौसम नहुँदा उद्योग फस्टाउन सकेका छैन । सन्दुकपुर गाउँपालिकाको माईपोखरी घर भएका महेश्वर फागो दक्षिणी इलामको चुलाचुलीमा झरेर हाते कागज उद्योग सञ्चालन गरिरहेका छन् । अर्गेली र लोक्ता प्रशोधन गरी हाते कागज बनाउँदा घाममा सुकाउन अनिवार्य भएकाले तराइमा आएर उद्योग सञ्चालन गर्नुपरेको उनको भनाइ छ ।

लोक्ताको उत्पादन उच्च पहाडी क्षेत्रमा हुन्छ । तर सुकाउन घाम आवश्यक भए पनि उच्च पहाडी क्षेत्रमा नियमित घाम नलाग्दा उत्पादनमा समस्या हुने गरेको छ । तराईमा समेत जाडो याममा बाक्लो हुस्सु कुहिरो लाग्ने भएकाले हाते कागज उत्पादन प्रभावित भएको उद्योग सञ्चालक फागो बताउँछन् । उच्च पहाडी भेगमा अर्गेली र लोक्ताको राम्रो उत्पादन हुने गरेको भए पनि पहाडमा मौसम अनुकूल नहुँदा उद्योगहरू फाट्टफुट्ट सञ्चालनमा आएर बन्द हुने गरेको स्थानीयले बताएका छन् । कच्चा पदार्थ लेकाली क्षेत्रबाट तराई लगेर समेत उद्योग सञ्चालन गर्ने गरिएको छ ।

पहाडबाट कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गर्न नौ कट्ठा जमिन खरिद गरेको उद्यमी दिलमाया चेम्जोङले बताइन् । उनले ढुवानीमा नै बढी रकम खर्च हुने गरेको बताइन् । हाते कागजबाट धूप बनाइने भएकाले बढी पातलो कागज बिक्री हुने गरेको छ । सरकारी कार्यालयहरूमा तमसुक लेखनका लागि पनि पहाडे कागजको माग हुने गरेको छ । बढी मात्रामा झापाकै दमक, बिर्तामोड, धरान र पोखरामा यसको माग हुने गरेको उद्यमीहरूको भनाइ छ । वार्षिक ४० लाख रुपैयाँसम्मको कारोबार लिने गरेको चेम्जोङको उद्योगमा १० दश जनाले रोजगारी पाएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय इलामले केही हाते कागज उद्योग दर्ता भए पनि एउटा मात्र सञ्चालन भइरहेको जनाएको छ । यसको उत्पादन नेपालमा र पहाडी भूभागमा राम्रो हुन्छ । आधुनिक तरिकाबाट यसलाई प्रयोग गर्न सके अझ फाइदा मिल्ने उद्योगी तथा किसानहरूको भनाइ छ । जापानमा पैसा छाप्न प्रयोग हुने यस प्रकारको कागज जापानलगायत विदेश समेत जाने गरेको छ । तर सरकारले किसान तथा उद्योगीलाई पर्याप्त सहयोग गर्न नसकेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्