Logo

इलाम–२ र बझाङ प्रदेशसभा–१ मा वैशाख १५ मा उपनिर्वाचन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत इलाम–२ र सूदुरपश्चिम प्रदेशसभा अन्तर्गत बझाङ–१ मा वैशाख १५ गते शनिबार उपनिर्वाचन हुने भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले ती क्षेत्रमा वैशाख १५ गते चुनाव गराउने मिति तोकेको हो ।

इलाम– २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ–१ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि ती स्थान रिक्त भएका थिए । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो । यस्तै संविधानसभाका अध्यक्षसमेत रहेका इलामका नेम्बाङको गत भदौ २६ मा निधन भएको थियो ।

स्थानीय तहमा पनि दुई दर्जन स्थान खाली छन् । आयोगले नै मिति तय गर्ने अधिकार भएकाले प्रतिनिधिसभा र प्रदेशसभाको चाहिँ चुनाव गरिहाल्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । स्थानीय तहको निर्वाचन मिति भने सरकारले तोक्ने व्यवस्था छ ।

उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावली संकलन स्थगित
आयोगले उपनिर्वाचनको मिति तोकिएका क्षेत्रमा मतदाता नामावली दर्ता कार्य स्थगित गरेको छ । निर्वाचनको मिति तोकिएपछि मतदाता नामावली दर्ता नगर्ने कानूनी व्यवस्था भएका कारण आयोगले आइतबारदेखि मतदाता नामावली स्थगित गर्ने निर्णय गरेको आयोगका प्रवक्ता थानेश्वर भुसालले जानकारी दिए ।

‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले हाल नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्ने निर्णय भएको छ’ विज्ञप्तिमार्फत् उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्