कोष र खाँडाचक्रबीच सम्झौता

काठमाडौं– नगर विकास कोषले सहरी पूर्वाधार विकास आयोजनाअन्तर्गत खाँडाचक्र नगरपालिकासँग सम्झौता गरेको छ । कोषले ‘खाँडाचक्र वहुउद्देश्यीय भवन’ आयोजना निर्माणका लागि सम्झौता गरेको हो ।
कालिकोटको खाँडाचक्र नगरपालिका–१ मा निर्माण हुने खाँडाचक्र वहुउद्देश्यीय भवनको लागि दुई पक्षिय खाँडाचक्र नगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको हो । निर्माणका लागि कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र खाँडाचक्र नगरपालिका नगर कार्यपालिका प्रमुख कमलबहादुर शाहीबीच आयोजनाको कुल अनुमानित लागत २५ करोड ५३ लाख ३५ हजार रहेको छ ।
सो कुल रकमको ३५ प्रतिशतले हुन आउने रकम ८ करोड ९३ लाख ऋण र १५ प्रतिशतले हुन आउने रकम ३ करोड ८३ लाख रुपैयाँ अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । खाँडाचक्र वहुउद्देश्यीय भवन आयोजना निर्माणको कुल अनुमानित लागत २५ करोड ५३ लाख ३५ हजार रुपैयाँको ५० प्रतिशत बराबरले हुन आउने रकम १२ करोड ७६ लाख ६७ हजार मात्र नगरपालिकाले लगानी गर्ने छ ।
सम्झौता कार्यक्रममा नगर प्रमुख शाहीले नगरवासीहरुलाई छिटो, छरितो किसिमले सेवा प्रवाह गर्नका लागि कार्यालय भवनसहित नगरपालिकालाई आन्तरिक आय आर्जन गर्ने उद्देश्यले निर्माण हुन लागेको बहुउद्देश्यीय भवन नगरपालिकाको लागि उपयोगी हुने बताए ।
कार्यक्रममा कोषको कार्यकारी निर्देशकले सापकोटाले नगरपालिकाहरुको पूर्वाधार विकासमा वित्तीय तथा प्राविधिक सहयोग गरी नगरपालिकालाई सक्षम र सबल बनाउने कोषको उद्देश्यसँगै कालीकोट जिल्लामा निर्माण हुने यो आयोजना कोषको लागि समेत नमूना आयोजना हुने विश्वास लिएको बताए ।
उनले भने,‘आयोजनाको डिजाईनको चरणदेखि नै बृहत रुपमा छलफल गरी अन्तिमरुप दिइएकोले आयोजनालाई गुणस्तरीय रूपमा सम्पन्न गर्नका लागि नगरपालिकाले प्राविधिक तथा वित्तीय पक्षलाई प्राथमिकतासहित गुणस्तरीय रुपमा व्यवस्थापन गर्नको लागि सुझाए ।’