Logo

बिग्रिएको अर्थतन्त्र सुधारेँ: अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्र आफूले सुधारेको दाबी गरेका छन् । सोमबार गोदावरीमा जारी नेपाली काँग्रेसको महासमितिको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था विषयक प्रतिवेदन पेश गर्दै अर्थमन्त्री महतले सरकारमा चैतमा अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपश्चात खुम्चिएको आर्थिक वृद्धि, स्रोतमा रहेको चापको अवस्था, असन्तुलन रहेको वाह्य क्षेत्रलगायतको सुधार गरेको जिकिर गरे ।

अर्थमन्त्री महतले अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकुल अवस्थामा भएपनि कार्यभार सम्हालेको ११ महिनामा अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक बनाउन सफल भएको उल्लेख गरे । अर्थमन्त्री महतले पर्यटक आगमन, होटल र रेस्टुरेण्ट, निर्माण, उत्पादन, खुद्रा र होलसेल व्यापार समेत बढेको सभालाई जानकारी दिए । उनले नेपालमा रेमिट्यान्स उल्लेखनीय रूपमा बढेको, विद्युत उत्पादन र निर्यात बढेको, घरजग्गा र शेयर बजार कारोबार वृद्धि हुँदै गएको र सार्वजनिक खर्च बढ्दो क्रमा रहेको उल्लेख गरे ।

उनले आगामी दिनमा सरकारको पूँजीगत खर्च वृद्धि हुने विश्वास रहेको बताए । उनले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार प्रयत्नशील रहेको बताए । उनले सरकारको बजेट प्रणाली र बजेट विनियोजन भन्दा बाहिर गई लगाइएका ठेक्का थुप्रिएको रहेका आयोजनालाई रोक्ने काम गरेको बताए । उनले चाहिने भन्दा ज्यादा खुकुलो र पछि चाहिने भन्दा कठोर मौद्रिक नीतिले आर्थिक क्रियाकलापको बिस्तारमा अवरोध खडा गरेको अवस्थामा आफूले राष्ट्र बैंक सँगको समन्वयमा मौद्रिक नीतिमा सहजता ल्याएको दाबी गरे ।

उनले निजी क्षेत्रमा निराशा रहेकोमा अहिले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताए । अर्थमन्त्रीले समष्टिगत अर्थतन्त्रका अधिकांश परिसूचकमा सुधारसँगै अन्तर्राष्ट्रिय मुद्राकोषले गरेको प्रक्षेपणअनुसार सन् २०२५ मा ५.० प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको बताए । उनले वित्तीय प्रणालीमा लगानीयोग्य रकम उल्लेख्यरुपमा रहेको र कर्जाको व्याजदर एकल अंकतर्फ झर्ने क्रममा रहेको बताए । उनले मुलुकमा लगानी वृद्धि गर्न बजेटको माध्यमबाट लिइएका सुधारका प्रयास र निजि क्षेत्रको मनोबल वृद्धि गर्न चालिएका कदमको कारण आर्थिक गतिविधिमा सुधार आएको दाबी गरे ।

उनले आर्थिक विकासको लागि उत्पादन बढाउन निजी क्षेत्रलाई आर्थिक वृद्धिको वाहक शक्तिको रुपमा विकास गरी सरकारले सेवा प्रवाह, नियमन सुशासन र साधनको सही वितरणमा केन्द्रित गरिने बताए । उनले यिनै समष्टिगत मार्गचित्रभित्र रही आगामी वर्षको वार्षिक नीति तथा बजेट तर्जुमा प्रक्रियालाई अगाडी बढाइने प्रतिवद्धता जनाए । उनले सार्वजनिक खर्च व्यवस्थापनमा थप गम्भीर खालका चुनौतिहरु रहेको बताए । उनले बजेट सुनिश्चित नहुँदै ठेक्का लगाउने प्रवृतिले थप समस्या सिर्जना गरेको उल्लेख गरे ।

अर्थमन्त्री महतले वैदेशिक सहायताको उपयोग क्षमता कमजोर रहेको बताए । उनले सार्वजनिक ऋण व्यवस्थापनमा चुनौति कायमै रहेको बताए । यस्तै उनले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न उत्पादन र रोजगारी सिर्जना गर्ने क्रियाकलापमा वित्तीय साधनको परिचालन गरिने जानकारी दिए । उनले नेपालमा सम्भावनाको रुपमा पहिचान गरिएका जलविद्युत, पर्यटन, कृषि व्यवसाय र सूचना प्रविधि उद्योगमा आन्तरिक र वाह्य लगानी परिचालन गर्ने बताए ।

उनले निजी क्षेत्रलाई उत्पादन, उत्पादकत्व र आर्थिक वृद्धिको संवाहकको रुपमा विकास गरी यस क्षेत्रको नेतृत्वदायी भुमिकालाई प्रोत्साहन गर्ने बताए । उनले खर्च प्रणालीको प्रभावकारिता बढाउन आयोजना र कार्यक्रमको प्राथमिकीकरणमा जोड दिनुका साथै उत्पादनशील क्षेत्र र आर्थिक–सामाजिक पूर्वाधारमा लगानी उल्लेख गरे । उनले सामाजिक सुरक्षा खर्चलाई लक्षित वर्गमा प्राथमिकताको आधारमा व्यवस्थित गरिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्