Logo

लगानीकर्ताको स्वागतमा कर्णाली प्रदेश सरकार

सुर्खेत– लगानीकर्ताको स्वागतमा सरकार रहेको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बताएका छन् । शनिबारबाट सुरु भएको कर्णाली उत्सवअन्तर्गत आइतबार ‘लगानीको लगन’ सत्रमा मन्त्री सिंहले त्यस्तो बताएका हुन् । ‘कर्णाली भित्र, पर्यटन, जलविद्युत, जडीबुटीलगायत लगानीका लागि प्रचुर सम्भावनाले लगानी पर्खिरहेका छन्’,मन्त्री सिंहले भने,‘यी क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई प्रदेश सरकार स्वागत गर्न तत्पर छ ।’

मन्त्री सिंहले लगानी भित्र्याउने उद्देश्यले वैशाख १९ र २० गते कर्णाली लगानी विकास सम्मेलनको आयोजना गर्न लागेको भन्दै ढुक्क भएर कर्णालीमा लगानीको लागि निजी क्षेत्रलाई आग्रह गरे । लगानीकर्ताको सुरक्षा र सहजताका लागि प्रदेश सरकार आफ्ना भूमिका खेल्न तयार रहेको उनले बताए । भौतिक पूर्वाधार विकासको कमीले गर्दा कर्णालीमा लगानीकर्ता आउन नमानेको भन्दै मन्त्री सिंहले भेरी र कर्णाली करिडोरलाई संघ सरकारले प्राथमिकताका साथ स्तरोन्नति गर्नुपर्नेमा जोड दिए ।

‘व्यवस्था परिवर्तनपछि कर्णालीले विकासको जग बसालेको छ, कर्णाली र भेरी करिडोर सम्पन्न भयो भने विकासको पूर्वाधारको जग पूर्ण हुन्छ,’उनले भने,‘भेरी कर्णाली करिडोर चाँडो बनिदियो भने लगानीका लागि सहजता हुन्थ्यो भन्ने हाम्रो पनि बुझाइ हो ।’ प्राकृतिक स्रोत र सुन्दरताका हिसाबले सबैभन्दा महत्व राख्ने भूमि कर्णाली रहेको भन्दै कर्णालीमा लगानी गर्न चाहने निजी क्षेत्रको लागि सम्भावना धेरै रहेको उनले औँल्याए । मन्त्री सिंहले कर्णालीमा लगानीको लागि लगन पर्खिराख्न पर्ने अवस्था नभएको र आएर ढुक्कसँग लगानी गर्न सक्ने वातावरण रहेको जिकिर गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उपयुक्त वातावरण सरकारले बनाइ दिए लगानीका लागि लगन कुरिराख्न नपर्ने बताए । कर्णालीमा लगानीका लागि सबैभन्दा ठूलो चुनौतीको रूपमा भौतिक पूर्वाधारको कमी रहेको छ । ‘कर्णालीमा भौतिक चुनौती प्रमुख कारण हो भने नीति नियम वातावरण पनि हो,’ श्रेष्ठले भने, ‘व्यावसायिक वातावरण बनाउन नसकेको र आर्थिक पाटोलाई प्रश्रय दिन नसकेकाले लगानी हुन सकेको छैन ।’

उनले २०७४ पछि राजनीतिक परिवर्तन भए पनि व्यवसायीले अपेक्षा गरे अनुसार व्यवसायमैत्री वातावरण बन्न नसकेको जिकिर गरे । ‘व्यवसायीले खोजेको वातावरण स्पष्ट नीति हो । लगानीको लागि एउटै नीतिले केही वर्ष काम गर्न पर्‍यो’ श्रेष्ठले थपे,‘कार्यान्वयन पक्ष पनि सहज हुनुपर्‍यो ।’ प्रदेश र स्थानीय सरकार व्यवसायीलाई दिने सहुलियत अनुदानहरू वितरणमा उद्योग वाणिज्य संघलगायत निजी क्षेत्रसँग सहकार्य नगरेको श्रेष्ठले गुनासो गरे ।

नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले लगानीका लागि सुरक्षित वातावरण पहिलो सर्त हुने बताए । ‘बैंक भनेको पानी जस्तै हो । जतातिर ओरालो र सम्भावना छ, त्यतैतिर बग्छ । यसलाई कुलो बनाएर कर्णालीले ल्याउन सक्नपर्छ । त्यसको लागि व्यवसाय गर्ने वातावरण हुन जरुरी देखिन्छ । व्यवसाय भएपछि बैंकहरू आउँछन् ।’ साना लगानी तथा उद्यमशीलताका लागि भने उद्यमी तयार गर्नेदेखि नै बैंकको भूमिका हुनुपर्ने पौडेलले बताए । पछिल्लो समय दूर दराजमा पनि बैंकहरू पुगेको प्रसंग उल्लेख गर्दै पौडेलले दिगो लगानीका क्षेत्रमा कर्णालीमा लगानी गर्न बैंकहरू तयार हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्