काउन्टर बन्द गर्ने बेलासम्म ८५७ जनाले दशैकोलागी नयाँ नोट साटे «

काउन्टर बन्द गर्ने बेलासम्म ८५७ जनाले दशैकोलागी नयाँ नोट साटे

नेपाल राष्ट्र बैकले यो बर्षको दशैमा झण्डै १३ अर्ब रुपैयाँको नयाँ नोट सर्वसाधारणलाई वितरण गर्ने जनाएको छ ।
राष्ट्र बंैकले दशै तिहारलाई लक्षित गरि ५, १०, २०, ५० र १०० दरका झण्डै १३ अर्बको नयाँ नोट ल्याउने मुद्रा ब्यवस्थापन विभागका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिएका छन् । अघिल्लो बर्ष राष्ट्र बैंकले साढे १२ अर्ब नयाँ नोट ल्याएकोमा यस बर्ष झण्डे १३ अर्ब ल्याउने उनले बताए ।
राष्ट्र बैंकले शुक्रबारदेखि १७ गतेसम्म सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा सुरु गरेको हो । राष्ट्र बैंकले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट मात्र नयाँ नोट रकम वितरण गर्ने गरेको थियो । यसपटक भने मुद्रा व्यवस्थापन विभाग नै बालुवाटारमा सरेकाले यहीँबाट सटही गरिएको छ । शुक्रबार दिउँसो काउन्टर बन्द गर्ने बेलासम्म ८५७ जनाले मात्रै नयाँ नोट सटही गरेको राष्ट्र बैंकले जनाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार सर्वसाधारणलाई लक्षित गरि उपत्यकाभित्र राष्ट्र बैंकका अतिरिक्त नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट नयाँ नोट सटहीको सुविधा लिन सकिने छ
निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराएको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट सटही गर्न चाहनेले नेपाल बैंकको न्यूरोड, कीर्तिपूर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपूर शाखाबाट पाइने छन् भने राष्ट्र वाणिज्य बैंकको सिंहदरबार प्लाजा, सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार, नक्साल, बालाजु र टोखा शाखाबाट पनि साट्न पाइने छन् । गत बर्षको दशैंमा २७ हजार रुपैयाँसम्म नोट साट्न पाइने व्यवस्था गरेको राष्ट्र बैंकले यो पटक भने जम्मा १८ हजार पाँच सयसम्म मात्रै नोट साट्न पाउने व्यवस्था गरेको छ । उपत्यका बाहिर राष्ट्र बैंकको विराटनगर, जनकपुर, बीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयहरु तथा राष्ट्र बैंकको नोटकोष रहेका बाणिज्य बैंक शाखाहरु, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंक मार्फत नयाँ नोट सटही गरिने ब्यवस्था राष्ट्र बैंकले मिलाएको छ ।
यसैबिच राष्ट्र बैंकले नयाँ नोटको हिफाजतका लागि आग्रह पनि गरेको छ । केन्द्रीय बैंकको एक सर्वेक्षणले देखाएअनुसार ठूला नोटको तुलनामा साना नोट छिटो काम नलाग्ने अवस्थामा पुग्छन् ।  त्यसैले सर्वसाधारणलाई दशैँमा वितरण गरेका नयाँ नोट जतन गरेर चलाउन आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्