घाँसलाई ‘साइलेज’ गर्न माडीमा ६ करोड लगानी «

घाँसलाई ‘साइलेज’ गर्न माडीमा ६ करोड लगानी

चितवन-माडी नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने प्रविधि सञ्चालन गरिने भएको छ । साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ ।
माडी नगरपालिकामा रहेको रेवा नदीले कटान गरेका क्षेत्रमा बृहत घाँस उत्पादन योजना सञ्चालन हुने क्रममा छ । हाल बगरका रूपमा रहेको सो क्षेत्रमा काँस उम्रेको छ । नगरपालिका र माउन्ट अन्नपूर्ण ग्रुप प्रालिबीच भदौ २५ गते सम्झौता भएको थियो । सम्झौता अनुसार पहिलो चरणमा ३ सय हेक्टर जग्गामा घाँस खेती हुनेछ । रेवा नदीले कटान गरेको चितवन राष्ट्रिय निकुञ्ज नजिकैको सार्वजनिक जग्गामा घाँस उत्पादन गरेर साइलोपिट मार्फत साइलेज बनाउने काम हुनेछ ।
नगरपालिका, मध्यवर्तीले दिएको सिफारिससहित निजी लगानीकर्ताले निकुञ्जमा स्वीकृतका लागि कात्तिक १९ गते निवेदन पेश गरेका छन् । तर, मौखिक सहमति भए पनि लिखित सहमति आइ नसकेकाले घाँस उत्पादन गर्ने गरी अन्य काम अघि बढ्न सकेको छैन । माउन्ट अन्नपूर्ण ग्रुप प्रालिका सञ्चालक राम केसीले ठूलो परिमाणमा साइलेज बनाउने यो योजना नेपालकै एकमात्र भएको दाबी गरे । “सुरुका चरणमा हामीले वार्षिक २३ हजार मेट्रिक टन साइलेज उत्पादन गर्छौं, जुन ३ हजार गाईलाई वर्षभरि खान पुग्छ,” उनले भने । उनका अनुसार साइलेज गरिएको घाँस नियमित खुवाउँदा पशुको स्वास्थ्य राम्रो हुने, दूध उत्पादन बढ्ने र लागत पनि कम पर्नेछ । “सम्झौताअनुसारको जग्गा बेलैमा नगरपालिकाले उपलब्ध गराएमा ९० दिनमा हामीले घाँस उत्पादन गर्न सुरु गर्नेछौं”, उनले भने, “साइलेजले बाह्रैमास हरियो घाँस खुवाएजस्तो हुन्छ, घाँस खेती गर्न किसानलाई पनि झन्झट हुँदैन ।” उनले किसानकै फर्ममा माग भएअनुसार साइलेज उपलब्ध गराउन ढुवानी सेवा पनि दिइने बताए ।
उनका अनुसार पहिलो चरणका लागि ६ करोड रूपैयाँ खर्चेर मेसीन तथा उपकरण ल्याउन लागिएको छ । खेत खन्न, बिउ छर्ने, घाँस काट्ने, घाँस सुकाउने, घाँस उठाउने, बेलर गर्ने (साइलेज बनाउने) लगायतका अत्याधुनिक मेसिन जर्मनबाट ल्याइने छ । “५ हजार हेक्टरमा घाँस खेती गर्ने लक्ष्य छ, जसले वार्षिक डेढ लाख मेट्रिक टन साइलेज उत्पादन हुनेछ”, उनले भने, “नेपाललाई मात्रै होइन, हामी भारतसम्म माडीको साइलेज गरिएको घाँस बिक्री गर्ने सोच छ ।” उनले हाल व्यावसायीक फर्मले गर्ने गरेको घाँस खेती, पराल, दाना चापटमा लाग्ने लागतलाई हटाएर न्यून लागतमा दूध उत्पादन गर्न साइलेजले सघाउने दाबी गरे । “साइलेज गरिएको घाँस सरदर प्रतिकेजी १२ रूपैयाँ पर्छ, एउटा गाइलाई दैनिक करिव २५ केजी साइलेज आवश्यक पर्छ”, उनले भने, “किसानलाई दैनिक ५ सय रूपैयाँ खर्च कम हुन्छ, न त घाँस खेती गर्नुप¥यो, न जग्गा भाडामा लिनुप¥यो, न घाँस खेती गर्न कर्मचारी चाहियो ।”
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले नदीले कटान गरेको सार्वजनिक जग्गालाई घाँस उत्पादन क्षेत्रका रूपमा विकास गरी माडीलाई पशुपालनको हब बनाउन अन्तर्राष्ट्रिय स्तरका घाँसखेतीका प्रविधि भिœयाउन लागिएको बताए । “निजी क्षेत्रसँग सहमति भएको छ, हामीले छिट्टै जग्गा छुट्टाएर दिनेछौं,” उनले भने, “माडी प्रवेशद्वार नजिकै रहेको रेवा पुलको पूर्व र पश्चिमखण्डको झन्डै १५ सय विघामा घाँस खेती हुनेछ ।” सो क्षेत्रमा नदीले कटान गरेका क्षेत्रमा व्यक्तिगत रूपमा झन्डै १ सय विघा जग्गासमेत भाडामा लिएर माउण्ट अन्नपूर्ण ग्रुपले घाँस खेती गर्नेछ ।
“रिउ खोला करिडोरअन्तर्गत हाल ८ सय मिटरमा ड्याम निर्माण भइरहेको छ,” माडी–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले भने, “भाडामा दिइएको जग्गा नदी कटानको उच्च जोखिममा छ, ड्याम निर्माण गरेर दिनेछौं ।” रेवा पुलको पूर्वतिर ३ किमी र पश्चिमतर्फ ७ सय मिटर किनारमा ड्याम बनाउनुपर्ने देखिन्छ । नगरपालिकाले जग्गा भाडामा दिएवापत वार्षिक १४ लाख ६२ हजार रूपैयाँ आम्दानी गर्नेछ ।
चितवनमा गत वर्ष जिल्ला पशु सेवा कार्यालयमार्फत ९ वटा साइलोपीट निर्माणका लागि ५० प्रतिशत अनुदान दिइएको थियो । जसबाट प्रत्येक साइलोपीट मार्फत वार्षिक २ मेट्रिक टन साइलेज उत्पादन हुने गर्छ । जुन सम्बन्धित व्यावसायिक फर्मलाई मात्रै पुग्ने साइलेज उत्पादन हुन्थ्यो । यो वर्ष साइलोपीट निर्माण गर्न अनुदान पशु कार्यालयले दिएको छैन । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज माडीका अध्यक्ष सूर्यप्रसाद भुसालले साइलेज उत्पादन गर्ने योजनाले किसानमा आशा पलाएको बताए । “माडीमा पशुपालन फस्टाउँदो क्रममा छ, उन्नतजातका पशुपालन गर्ने फर्म खुल्न थालेका छन्,” उनले भने, “वर्षभरी पर्याप्त घाँस पाउने अवस्था यो योजनाले ल्याउने अपेक्षा छ ।” माडीमा हाल एक दर्जन बढी व्यावसायिक पशुपालन फर्म दर्ता छन् ।

 विप्लव काफ्ले

प्रतिक्रिया दिनुहोस्