नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनको तेस्रो बैठक नयाँ दिल्लीमा

नेपाल भारत वाणिज्य सन्धि पुरावलोकन सम्बन्धि तेस्रो बैठक भारतको नयाँ दिल्लीमा बिहिबारदेखि सुरु हुने भएको छ ।
दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलका सहसचिव नवराज ढकालले गरेका छन् । दुई देशका सहसचिवस्तरमा हुने बैठकमा नेपाल भारत वाणिज्य सन्धि २००९ को पुनरावलोकनको विषयमा छलफल हुने छ । वाणिज्य सन्धिलाई पुनरावलोकन गर्ने विषयमा दुई देशका उच्च अधिकारीबीचमा छलफल हुने मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिइन ।
भारतको नयाँ दिल्लीमा हुने उच्चस्तरीय बैठकमा वाणिज्य सन्धि पुनरावलोकन गर्ने विषयमा गहनरुपमा छलफल हुनेछ । २ दिन चल्ने बैठकमा नेपालका तर्फबाट मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा अर्थ, कानून, परराष्ट्र मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग प्रमुख, क्वारेन्टाइन प्रमुख र भारतस्थित नेपाली राजदुतावासका प्रतिनिधि रहने छन् । यसअघि वाणिज्य सन्धि पुनरावलोकन सम्बन्धि दोसो बैठक माघमा पोखरामा भएको थियो ।
यसअघिको छलफलमा व्यापार घाटा न्यूनीकरण गर्न गैरभन्सार अवरोध हटाउने, रेल्वे, वाटर वे र रोडवेलगायतका कनेक्टिभिटी, नेपाल–भारत अवैध व्यापार रोक्ने विषयमा छलफल गरिएको थियो ।
मन्त्रालय सहसचिव रविशंकर सैजुले वाणिज्य सन्धि पुनरावलोकन गर्न प्राविधिक पक्षमा छलफल गरिने जानकारी दिए । सन्धिको बिस्तृत पक्षमा छलफल गरी अहिलेको सन्धिमा उपयुक्त नभएका विषयलाई हटाइने उनले जानकारी दिए ।
भारतसँगको व्यापारघाटा बढिरहेका बेला त्यसलाई घटाउने तथा समयानुकूल उक्त सन्धि परिमार्जन, संशोधन वा नयाँ शिराबाट गर्नेलगायत विषयमा बैठकमा छलफल गरिने मन्त्रालयले जानकारी दिएको छ । छिमेकी मुलुक भारतसँग दुई तिहाई व्यापार हुने भएकाले स्वदेशी वस्तुको निर्यात कसरी बढाउने भन्ने विषयमा समेत छलफल हुने मन्त्रालयले जनाएको छ ।
भन्सार विभागका अनुसार गत वर्ष पनि नेपालको सबैभन्दा धेरै व्यापारघाटा भारतसँगै छ । गएको वर्ष नेपालले भारतबाट ९ खर्ब १७ अर्ब ९२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । निर्यात भने जम्मा ६२ अर्ब रुपैयाँको मात्रै भएको छ । छिमेकी मुलुक भारतमा नेपालको आयात र निर्यात दुवै सबैभन्दा धेरै हुने गर्छ । नेपालको धेरै व्यापार भारतसँग रहेको छ । स्वदेशी वस्तुको निर्यातमा बेला बेला समस्या आउने गर्छ ।