Logo

६ महिनामा ३२३ उद्योग–व्यवसाय बन्द

दाङ– जिल्लामा चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनाको अवधिमा उद्योग र व्यवसाय गरेर ३२३ वटा बन्द भएका छन् । यसरी बन्द हुनेमध्ये उद्योगतर्फ १४१ रहेका छन् । जसमा १३४ वटा प्राइभेट फर्म र सातवटा साझेदारी फर्म रहेका छन् । वाणिज्यतर्फ १८२ वटा बन्द भएका छन् । जसमा १८० वटा प्राइभेट फर्म र दुईवटा साझेदारी फर्म रहेका छन् । यो संख्या घरेलु तथा साना उद्योग कार्यालय दाङमा पुगेर बन्द गराउनेको संख्या हो ।

कार्यालयमा नपुगेर बन्द हुने पनि धेरै रहेको उद्योगी तथा व्यवसायी बताउँछन् । कतिपय व्यवसाय बन्द भए पनि बैंकको ऋणका लागि मात्र भए पनि बन्द नगराउने छन् भने कतिपयले बैंकबाट ऋण निकाल्नका लागि सहजता हुने भएकाले दर्ता गराउने गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिजजन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता हुँदै आएका छन् ।

कार्यालयका प्रमुख युवराज न्यौपानेले ६ महिनाको अवधिमा दर्ता गर्नेको आधा बन्द गर्नेको संख्या रहेको उनको भनाइ छ । ‘नयाँ दर्ता गर्नेको संख्याको करिब आधा बन्द गर्नेको संख्या रहेको छ,’ प्रमुख न्यौपानेले भने । नयाँ दर्ता गर्नेतर्फ नागरिकमा उत्साह पाइएको छैन । दर्ता गर्नेमध्ये उद्योगतर्फ कृषिजन्य बढिरहेको उनको भनाइ छ । ‘नयाँ उद्योग तथा व्यवसाय दर्ता गर्नतर्फ नागरिकमा उत्साह देखिएको छैन,’ उनले भने, ‘मन्दीका कारण व्यवसायी समस्यामा रहेको जस्तो देखिन्छ ।’

उद्योगको लगत कट्टा गर्ने व्यवसायीले व्यवसाय नचलेकै कारण बन्द गर्न परेको बताउने गरेका छन् । उनीहरूले मन्दीको कारण पसल नचलेको बताउने गरेका छन् । साना उद्योग बन्द गर्न आउँदा लिखित रूपमा अधिकांशले पसल/व्यवसाय नचलेको र सोही कारणले बाहिर जान चाहेकोले व्यवसाय दर्ताको लगत कट्टा गर्न चाहेको कारण समावेश गर्ने गरेका छन् ।

बन्द गराउन आउनेलाई कार्यालयले के कारणले बन्द गराउन लागेको भनेर सोध्ने गरेको छ । ‘केही नहुनुभन्दा व्यवसाय सुरु गरम भन्ने मनसायले दर्ता गर्न आएको पाइयो,’ उनले भने, ‘दर्ता गर्नेमा पनि फूर्ति देखिएको छैन । नयाँ दर्ता लोन खानका लागि तथा पुँजी वृद्धिका लागि पनि गरेको पाइएको छ । समग्रमा व्यवसायी उत्साहित छैनन् ।’ चालु आवको ६ महिनाको अवधिमा उद्योग र व्यवसाय गरेर ६३४ वटा दर्ता भएका छन् ।

कार्यालयको तथ्यांकअनुसार उद्योगतर्फ २७४ वटा दर्ता भएका छन् । जसमा प्राइभेट फर्म २६५ वटा र साझेदारी फर्म नौवटा रहेका छन् । वाणिज्यतर्फ ३६० वटा दर्ता भएका छन् । जसमा ३५७ वटा प्राइभेट फर्म र तीनवटा साझेदारी फर्म दर्ता भएका हुन । यसै अवधिमा दर्ता भएका उद्योगमा १५५ जना पुरुष र १३५ जना महिला उद्यमी बनेका छन् । जसमा ४९७ जना पुरुषले रोजगारी प्राप्त गरेका छन् भने २९५ जना महिलाले रोजगारी प्राप्त गरेको तथ्यांकले देखाएको छ ।

पुस समान्तसम्म उद्योगतर्फ ६१८ वटा प्राइभेट फर्म र ३५ वटा साझेदारी फर्मले नवीकरण गरेका छन् भने १५८ वटा फर्मले अन्य संशोधन गरेका हुन् । वाणिज्यतर्फ ६ महिनाको अवधिमा ९२१ वटा प्राइभेट र २३ वटा साझेदारी फर्मले नवीकरण गरेका छन् भने २०६ वटा प्राइभेट फर्म र दुईवटा साझेदारी फर्मले अन्य संशोधन गरेको कार्यालयले जनाएको छ । उद्योग व्यवसाय बन्द हुनेक्रम बढे पनि राज्यले उद्योग व्यवसाय बन्द हुन नदिनका लागि ठोस योजना ल्याउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्