Logo

अन्नपूर्ण गाउँपालिकाको बजेट बाँडफाँड

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले तीन करोड ८१ लाख रुपैयाँको बजेट बाँडफाँड गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न १८ औं गाउँसभाले गत आर्थिक वर्ष २०७९/८० मा खर्च नभएर मौज्दात रहेको तीन करोड आठ लाख र ७३ लाख रोयल्टी रुपैयाँ विभिन्न ७५ वटा योजना तथा कार्यक्रमहरूमा बाँडफाँड गरेको हो ।

गाउँसभाबाट सबैभन्दा धेरै रकम अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन पूर्वाधार गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आधार शिविरमा लज निर्माण गर्न उक्त बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए । उनका अनुसार गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गर्न १५ लाख रुपैयाँको बजेट छुट्याइएको छ ।

सभाले वडा नम्बर ८ को वडा कार्यालय भवनलाई पूर्णता दिन १५ लाख, बालमैत्री स्थानीय शासनको कार्यान्वयनका लागि सात लाख, भिरकाटे–दोबा सडक स्तरोन्नति गर्न ११ लाख, दानाकोट मोटरबाटो स्तरोन्नतिमा १२ लाख, फोहोरमैला संकलन केन्द्र स्थापना गर्न १५ लाख, गाउँपालिकाको प्रशासकीय भवनको जग्गा व्यवस्थापन गर्न २० लाख, खोप्रामा जिविकोपार्जन पुर्नउत्थानको लागि दिगो पर्यटन परियोजनाको लागि १६ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

गाउँसभाबाट विभिन्न ३० वटा योजनालाई संशोधनसहित कार्यान्वनय गर्ने निर्णय समेत भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनका अनुसार, सभाले एक करोड ४६ लाख ५० हजार रुपैयाँ नियमित गर्नुपर्ने बेरुजुलाई लेखा समितिमा छलफल गरी फस्र्यौटका लागि अनुमोदन समेत गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष पुन र उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले गाउँपालिकाबाट चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जुट्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्