Logo

आन्तरिक यात्रु घटे, अन्तर्राष्ट्रियमा उच्च रेकर्ड

फाइल तस्बिर ।

काठमाडौं– सन् २०२३ मा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा वृद्धि भएको छ । यो वर्ष अन्तर्राष्ट्रियतर्फ त्रिभुवन विमानस्थलको प्रयोग ३१ हजार ४ सय ६० उडान–अवतरण मार्फत ४५ लाख ४१ हजार १ सय ३७ जना यात्रुले गरेका छन् । यो संख्या हालसम्मकै उच्च भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

अघिल्लो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजारभन्दा बढीले हवाई यात्रा गरेका थिए । गत वर्ष अन्तर्राष्ट्रिय हवाई यात्रु संख्यामा वृद्धि हुँदा आन्तरिक यात्रुको संख्यामा भने कमी आएको छ । आन्तरिकतर्फ ९६ हजार ९ सय ८९ उडान–अवतरण हुँदा ४१ लाख ५० हजार ३ सय २६ जनाले यात्रा गरेका छन् । सन् २०२२ मा आन्तरिकतर्फ ४४ लाख ६६ हजार १ सय ५२ र अन्र्तराष्ट्रियतर्फ ३४ लाख ८८ हजार ३ सय २८ जनाले हवाई यात्रा गरेका थिए ।

सो वर्ष कुल ७९ लाख ५४ हजार ४ सय ९५ यात्रुले हवाई यात्रा गरेका थिए । गत वर्ष आन्तरिक हवाई यात्रुमा कमी आउनुमा हवाई इन्धन र भाडामा सरकारले मूल्य अभिवृद्धि कर १३ प्रतिशत लागु गर्नु मुख्य कारण रहेको वायुयान कम्पनीहरुले जनाएका छन् । हवाई यात्रा महँगो हुँदा यात्रुको संख्यामा कमी आएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उनले भने, ‘पछिल्लो समय देखिएको आर्थिक मन्दीले पनि आन्तरिक यात्रुको संख्यामा गिरावट भएको हो । अन्य विभिन्न कारणले हवाई भाडामा उच्च वृद्धि हुँदा पनि यात्रुको संख्या घटेको छ ।’

धेरै विमानस्थलमा रात्रीकालिन उडान हुने भएकाले पनि उपत्यकामा काम विशेषले बिहान अवतरण गरेर साँझ फिर्ता हुने सहज वातावरण बनेको उनको भनाइ छ । हवाई यात्रुको संख्यामा विगतका वर्ष वृद्धि हुनुमा कोभिडपछि लामोभन्दा छोटो यात्रा सुरक्षित भएकाले र विभिन्न राजनीतिक दलका सभा–सम्मेलन तथा स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनले गर्दा पनि उडान तथा यात्रु वृद्धि भएको प्रवक्ता बर्तौलाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्