Logo

विद्युत महशुल नबुझाउने प्रदेश प्रमुखसहित जलस्रोत मन्त्रालयको लाइन काटियो

सुर्खेत– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने प्रदेश प्रमुखको क्वाटरदेखि प्रदेशका मन्त्रालयको लाइन काटेको छ । सुर्खेतका सरकारी कार्यालयदेखि प्रदेशका मन्त्रालयले विद्युत रकम भुक्तान नगरेपछि लाइन काटिएको विद्युत प्राद्यिकरण सुर्खेतले जनाएको हो ।

विद्युत महशुल नरिरेको भन्दै प्रदेश प्रमुखको क्वाटर, नापी कार्यालय, स्वास्थ्य कार्यालय, जलस्रोत तथा सिँचाइ ऊर्जा विकास मन्त्रालय, जिल्ला समन्वय समितिको क्वाटर र रेडक्रसको लाइन काटिएको छ । अझै सरकारी कार्यालयहरू पनि रहेको प्राद्यिकरणले जनाएको छ । जलस्रोत तथा सिँचाइ ऊर्जा विकास मन्त्रीको क्वाटरको लाइन काट्न खोज्दा दुई दिनको भाका मागेर रकम तिरेपछि मात्र रोकिएको थियो ।

हालसम्म नौ सय ७६ जना ग्राहकको विद्युत लाइन काटिएको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म लामो समयदेखि विद्युत महशुल नतिरेका सुर्खेत जिल्ला र सल्यानको सल्लीबजारका करिब नौ सय ७६ जनाको लाइन काटेको हो । ६० दिनभित्र महशुल नतिरे लाइन काटिने जानकारी दिए पनि सूचनाको अटेर गर्दै उपभोक्ताले बक्यौता रकम नतिरेको प्राधिकरणले बताएको छ । विद्युत बक्यौता नतिर्नेमा सरकारी कर्मचारी तथा मन्त्रीहरू समेत रहेका छन् ।

उनीहरूले आफू बस्ने क्वाटरको समेत विद्युत बापतको बाँकी विद्युत महशुल नतिरेको पाइएको छ । प्राधिकरणले १५ हजार भन्दामाथि र समयका आधारमा ६० दिनदेखि नतिरेका ग्राहकको लाइन काट्ने गरेको छ । महशुल नतिर्नेमा संघसंस्था, कार्यालयभन्दा पनि व्यक्ति बढी छन् । प्राधिकरण वितरण केन्द्र सुर्खेतका सूचना अधिकारी बेनी नेपालीले चालु आवमा जिल्लामा लामो समयदेखि महशुल नतिर्ने झन्डै एक हजार ग्राहकको लाइन काटेको जानकारी दिए ।

लाइन काट्न थालेपछि बक्यौता रकम बुझाउन धेरै संख्यामा ग्राहकहरू वितरण केन्द्र पुग्ने गरेको नेपालीले जानकारी दिए । उनका अनुसार लाइन काटिसकेपछि बक्यौता रकम तिरेका करिब सात सय ५१ जनाको लाइन भने फेरि जोडिएका छन् । उनका अनुसार सुर्खेतमा सुर्खेत वितरण केन्द्र र जहरे वितरण केन्द्र गरी दुई वटा वितरण केन्द्र रहेका छन् । जहरेबाट एक सय ५९ जनाको लाइन काटिएको थियो । त्योमध्ये लाइन काटिसकेपछि एक सय सात जनाले बक्यौता रकम तिरिसकेका छन् । रकम तिरिसकेकाको लाइन पनि पुन: जोडिएको छ ।

यस्तै सुर्खेत वितरण केन्द्रबाट भने आठ सय १७ जनाको लाइन काटिएकोमा ६ सय ४४ जनाले मात्रै बक्यौता रकम तिरेका छन् । दुई वितरण केन्द्रबाट गरी दुई करोड २३ लाख ९७ हजार सात सय ३५ रुपैयाँ उठेको छ । अझै प्राधिकरणले २८ लाख ६९ हजार सात सय ६६ रुपैयाँ असुल गर्न बाँकी रहेको छ । प्राधिकरणले सामाजिक सञ्जालमार्फत सूचना जारी गरी सुर्खेत र सल्यानको सल्ली बजारका उपभोक्ताहरूलाई विद्युत बापतको बाँकी विद्युत महशुल तिर्न ताकेता गरेको थियो ।

सडक बत्तीकै पाँच करोड रकम बक्यौता
स्थानीय निकायले सडक बत्ती महशुल नतिर्दा सुर्खेत प्राधिकरणले असुली गर्नुपर्ने बक्यौता रकम ५ करोड बढी पुगेको छ । सल्यानको सल्ली बजार र सुर्खेतका नौ स्थानीयतहले सडक बत्ती प्रयोग गरेवापतको महशुल रकम नतिर्दा प्राधिकरणले असुली गर्नुपर्ने बक्यौता रकम ५ करोड २३ लाख २७ हजार ५ सय ६० रुपैंया पुगेको हो । यतिबेला स्थानीय तहको चेपुवामा विद्युत प्राधिकरण परेको छ । प्राधिकरणले बिजुली किनेर बिक्री गर्ने र स्थानीय तहले बक्यौता नतिर्ने हुँदा प्राधिकरण अप्ठ्यारोमा परेको हो ।

प्राधिकरणले दिएको जानकारी अनुसार मिटर जडान भएका सडक बत्तीबाट ६३ हजार ८ सय ६७ रुपैयाँ र मिटर नै जडान नभएका सडकका बत्तीबाट ५ करोड २२ लाख ६३ हजार ६ सय ९२ रुपैयाँ गरी पाँच करोड २३ लाख २७ हजार रुपैयाँ असुल गर्न बाँकी छ । ‘बक्यौता नतिर्नेमा वीरेन्द्रनगरका ग्राहक बढी छन्’, सूचना अधिकारी नेपालीले भने, ‘पटकपटक आग्रह गर्दा पनि अटेरी गरेकाले लाइन काट्ने गरेका हौं ।’ हाल सुर्खेत वितरण केन्द्रका उपभोक्ताहरूको संख्या करिब ६३ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्