सूचना प्रविधिको प्रयोगबाटै समृद्धि: मुख्यमन्त्री पोखरेल «

सूचना प्रविधिको प्रयोगबाटै समृद्धि: मुख्यमन्त्री पोखरेल

सूचना प्रविधिसम्बन्धी बृहत् प्रदर्शनी मेला (क्यान–इन्फोटेक) पाँच नम्बर प्रदेशस्तरीय बुटवलमा सुरु भएको छ । आइतबारबाट सुरु भएको मेलाको प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले रोबोटको स्विच थिचेर उद्घाटन गरे । पोखरेलले सूचना प्रविधिको पहुँच र प्रयोगबाटै नागरिक र राष्ट्रको समृद्धि हुने बताए ।
उनले ५ नम्बर प्रदेशलाई डिजिटल प्रदेशका रूपमा विकास गर्न सकिने धारणा राखे । कम्प्युटर शिक्षा अवको अनिवार्य शिक्षा भएको भन्दै उनले नेपाली समाजमा सुहाउँदो सफ्टवेयरहरूको विकासमा लाग्नुपर्ने धारणा राखे ।
सो अवसरमा क्यानका जिल्ला अध्यक्ष नारायण श्रेष्ठ, क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरासिया, संस्थापक अध्यक्ष बिमलकुमार शर्मा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमाल, हिसान रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, रामुदेव गौतम बिरु क्षेत्री, कमला कंँुवरलगायतले बोलेका थिए ।
१ सय ३० स्टल रहेका मेलामा १ लाख दर्शकलाई अवलोकन गराउने र २ करोडको कारोबार हुने लक्ष्य रहेको छ । मेलामा हार्डवेयर, पावर सोलुसन, मोबाइल एसेसोरिज, टेलिकम्युनिकेसन, आईएसपी, सफ्टवेयर सोलुसन्स र सुरक्षा उपकरणलगायतका स्टल छन् । “हामीले मेलामा जतिसक्दो धेरै दर्शकलाई अवलोकन गराई सूचना प्रविधिको महत्व र यसमा आम नागरिकको पहुँच बढाउने विषयलाई प्राथमिकतामा राखेका छौं,” अध्यक्ष नारायण श्रेष्ठले भने, “‘विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास र नयाँ–नयाँ प्रविधि मेलामा प्रदर्शन गरिनेछ ।” मेलामा नेपालमै पहिलोपटक अत्याधुनिक सुरक्षा उपकरण जडित प्रविधियुक्त घर, नेपाली वैज्ञानिकहरूले बनाएको रोबोट र ड्रोन प्रदर्शनी, भोटिङ मेसिन, कम्प्युटर, प्रिन्टर तथा ल्यापटप निःशुल्क मर्मत, नेपाली टाइपिङ प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, आइसिटी क्विज, वेब पेज डिजाइन प्रतियोगिता, सफ्टवेयर प्रिजेन्टेसनलगायत आकर्षणका रूपमा रहने क्यान रुपन्देहीका सचिव वीरबहादुर क्षेत्रीले बताए । मेलामा अनलाइनबाट टिकट काट्ने दर्शकलाई मेला स्थल प्रवेश गर्ने बित्तिकै टिकटको रकम फिर्ता गर्ने व्यवस्था गरिएको क्षेत्रीले बताए । करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मेलामा विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्