Logo

करको दायरा बढाएर दर घटाउन सुझाव

विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले करको दायरा बढाएर दर घटाउन आन्तरिक राजस्व विभागलाई सुझाव दिएको छ । महासंघ प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउत नेतृत्वको टोलीले विराटनगर आएका विभागका महानिर्देशक दीर्घराज मैनालीलाई भेटेर यस्तो सुझाव दिएको हो ।

अध्यक्ष राउतले देश चरम आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा उद्योगी व्यवसायीलाई राहत महसुस हुनेगरी करको नीति परिमार्जन गर्न सुझाव दिएको बताए । ‘चरम आर्थिकमन्दीका कारण उद्योग व्यवसाय चलाउन निकै गाह्रो छ,’ राउतले भने, ‘यस्तो अवस्थामा करमा कसीकसाऊ गर्न भएन भन्ने हाम्रो सुझाव हो । राज्य सञ्चालनका लागि कर लिनुपर्छ तर अहिलेको अवस्थामा करको दर बढाउनुहुँदैन ।’

महानिर्देशक मैनालीले अर्थ मन्त्रालय र नेपाल सरकारसँग सहकार्य गरेर उद्योगी व्यवसायीलाई राहत प्रदान गर्ने गरी करको नीति परिमार्जन हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ । महासंघले भूकम्प तथा कोभिडका कारण आयातमा लगाइएको प्रतिबन्धलगायतका कारण आर्थिक कारोबार खुम्चिएको तथा अनौपचारिक कारोबार बढिरहेकोले सरकारको राजस्व वृद्धि हुन नसकेको औंल्याएको छ ।

आन्तरिक राजस्व कार्यालयलाई करको लक्ष्य दिएर राजस्व असुली गर्न लगाउँदा करदातालाई अनावश्यक भार पर्ने भएकोले करको दायरा परिमार्जन गर्नुपर्ने महासंघको सुझाव छ । महानिर्देशक मैनालीको उपस्थितिमा कर अन्तरक्रिया आयोजना गरेको महासंघले पछिल्लो समयमा औद्योगिक उत्पादन ६० प्रतिशतमा झरेको छ र आयातमुखी कारोबार झन् बढेको जनाएको छ ।

महासंघले मूल्य अभिवृद्धि कर लागू भइसकेको सन्दर्भमा हरेक वर्ष राजस्व संकलन गर्ने नाममा स्वदेशका धेरै उत्पादनहरूमा अन्तःशुल्क लगाइदिँदा आयातित वस्तुमा प्रतिस्पर्धा हुन नसकेको भन्दै मदिरा र चुरोटबाहेक अन्य वस्तुमा लगाइएको अन्तःशुल्क खारेज गर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्