घरजग्गा मेला: एउटा घर किन्दा ३० लाखसम्म छुट

काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा पौष १२ गतेदेखि सञ्चालन भइरहेको आठौं घरजग्गा मेलामा उपभोक्ताहरुले उल्लेख्य उपस्थिति जनाएका छन् । लामो समयपछि घरजग्गा मेला सञ्चालन भएकाले घरजग्गा किन्ने क्रेता र बिक्रेताहरुको उपस्थिति मेलामा उल्लेख्य रहेको हो । मेला कोरोना भाइरस लगायतका कारण लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन ।
लामो समय घरजग्गाको कारोबार भौतिक रुपबाट बुझ्न र गर्न नपाएको उपभोक्ता र व्यवसायीहरु मेलामा उल्लेख्य रुपमा प्रस्तुत भएका छन् । मेलामा उपभोक्ताहरु आकर्षक छुट र गुणस्तरीय घर तथा जग्गाको कारोबारमा लोभिएका छन् । मेलामा स्टल राखेर उपभोक्ताहरुलाई जानकारी र आफ्ना सामग्री बिक्री गरिरहेका छन् । मेलामा रहेका सिडी डेभलपर्स, रोहनी हाउजिङ एण्ड सप्लायर्स प्रा.लि., ग्रिन हिल सिटी, ग्रिन सिटी नेपाल, सिजी प्रपर्टी रियल स्टेटले विशेष छुटसहित मेलामा आफ्ना प्रपर्टीहरु राखेका छन् । सिडी डेभलपर्सले मेलामा एउटा घरको २५ लाखसम्मको छुट दिएको छ ।
डेभलपर्सका निर्देशक दीपक कुवँरले आवास आकृति कोलोनी भने एउटा घर किन्दा ३० लाखसम्मको छुट मेलामा आउने र किन्ने उपभोक्ताहरुलाई दिइएको बताए । आवास कोलोनी भनेर टोखामा नयाँ प्रोजेक्ट बनाइरहेको र सो कोलोनीमा एउटा घर किन्दा २५ लाखसम्मको छुट दिएको बताए । यता, रोहनी हाउजिङ एण्ड सप्लायर्स प्रा.लि.ले हेटौँडा, विराटनगरदेखि नगरकोटसम्म जग्गा र नगरकोट ड्रिम सिटीको योजना अघि सारेको छ ।
यो व्यवस्थित र अहिलेको मापदण्डअनुसार खुला क्षेत्रसहित राखेर खुला क्षेत्रमा पनि कम्युनिटी हल गार्डेनसहित बनाउने काम भइरहेको प्रा.लि.का अध्यक्ष ध्रुव घिमिरेले बताए । उनले हेटौंडामा पनि ड्रिम सिटी बनाइरहेको र हेटौँडाको १० धुरमा बनेका घरको मूल्य एक करोडसम्म पर्ने बताए । नगरकोटको काम शुरु भएको ६ महिना भएको र सो अवधिमा अहिले सबै काम सकिसकेर बाटोको रेखांकनको काम भइरहेको बताए ।
त्यस्तै, ग्रिन हिल सिटीका अध्यक्ष भेषराज लोहनी, ग्रिन हिल सिटीले अहिले मुलपानीमा ग्रिन हिलसिटी भनेर नेपालकै एउटा ठूलो आयोजना सञ्चालन गरिरहेको बताउँछन् । जसमा ८ सय वटा घरमध्ये करिव १३ वटा घरहरु मात्रै बन्न बाँकी रहेका छन् । नयाँ प्रोजेक्टको रुपमा भक्तपुरमा सिपाडोलमा सूर्यविनायक कोलोनी रहेको र जसमा करिव ५५ रोपनीमा १५० वटा घरहरु बनाउने योजना रहेको बताए । उनले एउटा युनिट बुक भएको खण्डमा १० लाखसम्मको छुट दिएको बताए । आफ्नो कम्पनीले बनाएका साढे दुई तलाका घरहरु दुई हजारदेखि तीन हजार स्क्वायरफिटका घर दुई करोडदेखि ५ करोडसम्म पर्ने बताए । एक्स्पोको सहभागिता उत्सहजनक रहेको बताए ।
त्यस्तै ग्रिन सिटी नेपालले पनि साढे दुई तलाको घर ५० लाखमा बनाएर दिने योजनाअनुसार सुनसरीस्थित इनरुवामा स्मार्ट सिटी बनाइरहेको जनाएको छ । ग्रिन सिटी नेपालका डिजिटल मार्केटिङ हेड विनुप कपालीले ग्रिन सिटी ५५ बिगाहमा फैलिएको बताए । सिटीमा हस्पिटल, कलेज, फनपार्कहरुको सुविधा रहेको बताए । २ वर्षभित्रमा नेपालकै नमूना स्मार्ट सिटी बनाउने तयारीअनुसार काम गरिरहेको बताए ।
त्यस्तै सिजी प्रपर्टी रियल स्टेटले एक करोड ९५ लाखदेखि १३ करोडसम्मको घरहरु ल्याएको छ । कम्पनीसँग सुविधासम्पन्न घरहरु भएको बताउँछिन् स्टेटकी सिनियर म्यानेजर शारदा प्रसाईं । उनले भैँसेपाटी, सुनाकोटी, धापाखेल र पनौतिमा ४ वटा प्रोजेक्ट बनिरहेको बताइन् । स्टलमा आएर बुकिङ गर्दा ५ प्रतिशत डिस्काउण्ट राखेको उनले सुनाइन् ।
यता पद्य ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक सुवास शर्माले मेलामा आएर बुक गर्ने उपभोक्ताहरुलाई कम्युनिटी चार्ज छुट दिइरहेको बताए । उनले पद्य रेसिडेन्सी भनेर डाँडापौवामा कम्पनीले सञ्चालन गर्न गइरहेको र अपार्टमेण्ट २३ तलाको हुने बताए । उनले फस्र्ट वान बिएचकेलाई ६० लाख, टु बिएचकेलाई ८५ लाख,थ्रि बिएचकेलाई ९९ लाखमा र फोर्थ बिएचकेलाई १ करोड १५ लाखसम्म मूल्य निर्धारण गरिएको बताए ।
यता, नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले मेलामा उपभोक्ताहरुको उल्लेख्य उपस्थिति रहेको बताए । उनले अवलोकन कर्ताहरु भन्दा बढी उपभोक्ताहरु मेलामा आएको बताए । मेला लामो समयपछि सञ्चालन भएकाले उपभोक्ताहरुको उपस्थिति बढेको उनको भनाइ छ । अध्यक्ष धमलाले मेलाबाट सुलव र राम्रो मूल्यमा घरजग्गाको कारोबार गर्न सकिने स्पष्ट पारे ।