Logo

उद्योगको लाइन काटने काम तत्काल रोक्न माग

भैरहवा– रुपन्देहीका उद्योगी तथा निजी संस्थाले विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइन विद्युत उपभोग गरी महशुल नतिरेका उद्योगहरूको लाइन काटने काम गरेकाले तत्काल रोक्न माग गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी रुपन्देहीमा रहेको अर्घाखाँची सिमेन्ट उद्योगको विद्युत लाइन काटिएको र भैरहवा बुटवल करिडोरमा रहेका २२ उद्योगहरूको लाइन काटिने धम्कीपूर्ण अभिव्यक्तिको विरोध गरेका हुन् ।

संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्योगी व्यवसायीले हालसम्म विद्युत उपभोग गरेवापतको सबै महशुल भुक्तानी गरेको तर मागनै नगरेको डेडिकेटेड तथा ट्रंक लाइन विद्युत उपभोग गरेको भन्दै छुट बिलका नाममा उद्योगीलाई आतंक पार्दै उद्योगनै बन्द गर्ने नियती राज्यले देखाउनु दुखद भएको बताए । श्रेष्ठले उच्चस्तरिय विशेष छानविन समिति बनाइ विवादको कानुनी समाधान गर्न सरकारसँग माग गरे ।

पत्रकार सम्मेलनमा उद्योगहरूले तिनु पर्ने बक्यौता वास्तविक नभइ फर्जि भएको दाबी उद्योगीहरूले गरे । उनीहरूले तत्कालिन समयमा घोषित लोडसेडिङको समयमा विद्युत प्राधिकरणको डेडिकेटेड तथा ट्रंक लाइन सेवा कुनै पनि उद्योगले उपभोग नगरेको तर्क गरे । प्राधिकरणको विद्युत के कुन समयमा के कति उपभोग भएको हो सो को विवरण टोड मिटरमा सुरक्षित रहने र प्रत्येक वर्ष चैत महिनामा वर्षभरिको डाटा डाउनलोड अनिवार्य गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएको व्यवसायीहरूले बताएका छन् ।

त्यस्को नियमन प्रधिकरणको नियन्त्रणमा रहने तथा उद्योग प्रतिष्ठानले बारम्बार विवरणहरू माग गर्दा पनि उपलब्ध नगराएकोले माग गरिएको बक्यौता वास्तविक नभई फर्जि भएको उनीहरूको दाबी थियो । लोडसेडिङ ६ घण्टा कायम रहेको बखत २० घण्टा वा सो भन्दा बढी विद्युत उपभोग गर्ने ट्रंक लाइनका ग्राहकले डेडिकेटेड फिडरको दरमा महशुल तिर्नुपर्ने गरी महशुल निर्धारण आयोगको निर्णय विपरीत ३३ केभिए र ६६केभिए को औद्योगिक ग्राहकहरूलाई ट्रंक लाइनको ग्राहक भनि विशेष दर लगाउने विद्युत प्राधिकरणको कार्य गैरकानूनी भएको जिकिर श्रेष्ठको छ ।

उद्योग प्रतिष्ठानमा डेडिकेटेड र ट्रंकलाइनबाट विशेष सुविधा लिनको लागि माग निवेदन पेस गरेको हुनुपर्ने र सो सम्बन्धमा प्राधिकरण सञ्चालक समितिको निर्णय अनिवार्य रहेकोमा उद्योग प्रतिष्ठानको विना माग र सञ्चालक समितिको निर्णय विना नै उद्योगहरूलाई डेडिकेटेड र ट्रंक लाइनका ग्राहक वर्गमा कसरी सामेल गरियो त्यसको विवरण प्राधिकरणले सार्वजनिक गर्नु पर्ने उनीहरूको माग छ ।

अहिलेसम्म विद्युत खपर गरे वापतको सबै महशुल रकम तिरिसकेको र बक्यौता पुष्टि हुने प्रमाण उपलब्ध गराएमा तत्काल उक्त रकम तिर्न तयार रहेको अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले बताए । अहिले क्षमताको २५ देखि ३० प्रतिशतसम्म उद्योग मुस्किलले चलेको अवस्थामा हचुवाको भरमा लाइन काटिएको उनको भनाइ थियो । चामल उद्योगी चन्द्रमान श्रेष्ठले बिना जानकारी आफूहरू माथि डेडिकेटेड तथा ट्रंक लाइन सेवा उपभोग गरेको भन्दै थोपरीएको बक्यौता शुल्क तिर्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्