बेरोजगारीको यो रूप
कोभिड महामारीले दुई वर्षभन्दा धेरै समय संसारलाई प्रभावित बनायो । कोभिडकै कारण करोडौं मानिसले ज्यान गुमाउन पुगे । अहिले त्यसैको प्रभावस्वरूप विश्वका धेरै मुलुकमा आर्थिक मन्दी छाएको छ । धेरैले कोभिड सकिएपछि यसले अर्थतन्त्रमा ठूलो प्रभाव पार्दैन भन्ने धारणा बनाएका थिए । तर, अहिले त्यो भाष्य गलत भएको छ । संसारका धेरै मुलुकको अर्थतन्त्र मन्दीमा छ र त्यसको प्रत्यक्ष–अप्रत्यक्ष कारण कोभिड नै बनेको छ । मन्दीसँगै महँगी पनि चुलिएको छ । सानो वा ठूलो जस्तो खालको अर्थतन्त्र भएका मुलुक पनि यसबाट प्रभावित बनेका छन् ।
संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको शक्तिशाली मुलुक अमेरिकामा महँगीले ठूलो दबाब सिर्जना गराएको छ । विश्वको यो अवस्थाबाट हामी पनि बाहिर रहन सक्ने अवस्था छैन । कोभिडको अन्त्यपछि अर्थतन्त्रमा दबाब देखिन थालेको थियो । त्यसको प्रभावस्वरूप झन्डै दुई वर्षसम्म अर्थतन्त्र सुस्ताएको छ । अब कति समयसम्म यस्तो अवस्था रहन्छ भन्नेमा अन्योलता छ । यसले आम मानिसमा झनै निराशा छाएको छ । मुलुकको अर्थतन्त्र कतिसम्म सुस्त बनेको छ भन्ने उदाहरण मुलुककै सबैभन्दा ठूलो औद्योगिक करिडोर ‘पथलैया–वीरगन्ज’ बनेको छ । यो औद्योगिक करिडोरमा दैनिक हजारौं मजदुर काम गर्छन् । तर, अहिले करिडोरकै मजदुर बेरोजगार बनेका छन् ।
सुस्त अर्थतन्त्रका कारण बजारमा सामान बिक्री भएको छैन । यसले उद्योगहरूको उत्पादन घटेको छ । यो करिडोरमा करिब १ हजार उद्योग सञ्चालनमा छन् । मुलुकको कुल औद्योगिक लगानीमा यस क्षेत्रको हिस्सा मात्र ७० प्रतिशत र राजस्वमा ४५ प्रतिशत योगदान छ । तर, अर्थतन्त्र सुस्ताएपछि बजारमा सामान नबिकेको भन्दै उद्योगहरूले क्षमताको २५ प्रतिशतमात्र उत्पादन गरेका छन् । विगतमा तीन सिफ्ट चलेका उद्योग अहिले एक सिफ्ट त्यो पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । उत्पादनै खुम्चिएपछि यससँग जोडिएका मजदुर बेरोजगार हुनु स्वाभाविकै बनेको छ ।
अर्थतन्त्रमा आएको समस्याको एउटा प्रमुख कारण कसिलो नीति पनि हो । अवस्था यस्तै रहने हो भने बेरोजगारीको दर अझै फराकिलो हुनेछ । विदेश पलायन हुनेहरू बढ्दै जानेछन् ।
करिडोरमा काम गर्दै आएका मजदुरमध्ये कति संख्यामा मजदुर बेरोजगार बने भन्ने आधिकारिक तथ्यांक सरकारी र गैरसरकारी कुनै पनि निकायसँग छैन । तर पनि हजारौंको संख्यामा मजदुरले काम नपाएको अवस्था छ । औद्योगिक करिडोरमा तीन किसिमका मजदुरले काम गर्दै आएका छन्; दैनिक ज्यालादारी, करार र स्थायी । घट्दो उत्पादन र तयारी वस्तु पनि बिक्री नभएपछि व्यवसायीले दैनिक ज्यालादारीमा श्रम गर्ने मजदुरलाई पहिले हटाएका छन् । उद्योगको अवस्था हेरेर स्थायी र करार प्रकृतिका कतिपय श्रमिक कर्मचारी आफैंले मिलाएर बिदा बस्ने गरेका छन् ।
यसो गर्नुको मुख्य विषय अहिलेको समस्याको अल्पकालीन समाधान हो । मजदुरहरूले हाजिर भएको दिनको मात्र पैसा लिने गरी व्यवस्थापन गरेका छन् । कतिपय उद्योगमा सातामा चार दिनसम्म छुट्टी बस्नुपर्ने अवस्था छ । करिडोरमा पाँचतारेदेखि पर्यटकस्तरका होटल, विभिन्न किसिमका उद्योग, निर्माण क्षेत्र, मनोरञ्जन, मार्ट, व्यापारिक कम्प्लेक्सलगायत छन् । प्राय: यी सबै क्षेत्रमा काम गर्ने श्रमिक–कर्मचारीले रोजगारी गुमाएको अवस्था छ । यो समस्यामा नेपाली मजदुर मात्र होइन, भारतीय पनि परेका छन् । करिडोरका अधिकांश उद्योगमा कामका आधारमा ज्याला लिने गरी भारतीय मजदुर आउने गरेका थिए ।
उद्योगहरूले भारतीय मजदुरलाई सातामा तीन दिन पनि पूर्ण रूपमा काम दिन सकेका छैनन् । काम नपाएपछि उनीहरू फर्कन बाध्य बनेका छन् । मुलुककै मुख्य औद्योगिक करिडोरको यो अवस्थाले समग्र देशको स्थितिलाई चित्रण गरेको छ । अवस्था निकै गम्भीर बनेको छ । कोभिडकालमा ठूला र मझौला उद्योग जेनतेन सञ्चालनमा रहे पनि अधिकांश साना उद्योग विलीन भएर गएका थिए । कोभिड अन्त्य भएको डेढ–दुई वर्ष हुन लागेको छ, तर यस्ता उद्योग पुनर्जीवित हुन सकेका छैनन् । मजदुर बेरोजगार हुनुदेखि साना उद्योग फेरि आउन नसक्नुको मूल कारण सुस्त बनेको अर्थतन्त्र हो ।
अर्कातिर सरकारी नीति पनि उद्योगी–व्यवसायीको पक्षमा नहुँदा समस्या जस्ताको तस्तै रहन पुगेको हो । कोभिडकालमा साना–ठूला धेरै मुलुकले सर्वसाधारण नागरिकदेखि उद्योगी–व्यवसायी सबैलाई सक्दो राहत वितरण गरेका थिए । हामी भने यसबाट विमुख हुनुपर्यो ।सरकारले राहत दिनुको विषय त परै छाडौं, गरिखाने नीति–नियमलाई सरलीकरण पनि बनाइदिएन । अर्थतन्त्रमा आएको समस्याको एउटा प्रमुख कारण कसिलो नीति पनि हो । अवस्था यस्तै रहने हो भने बेरोजगारीको दर अझै फराकिलो हुनेछ । विदेश पलायन हुनेहरू बढ्दै जानेछन् ।