Logo

मंसिर, धान र भकारी

कृषिप्रधान देशमा विदेशी चामल किनेर न्वाँगी खाइयो । असारमा मानु रोप्ने मंसिरमा मुरी फलाउने भनिन्थ्यो पहिले । अस्तिको असार १५ को नारा थियो— जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि । हरेक वर्ष विश्वमा १० करोड मान्छे थपिन्छन्, उत्पादनमा सुधार नभए खाद्य संकट निश्चित नै छ । युएस अन्तर्राष्ट्रिय खाद्य नीति तथा अनुसन्धान संस्थाले विश्वव्यापी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै भनेको छ, हालको विश्व परिवेश कायम रहने हो भने खाद्य असुरक्षा बढ्नेछ र बर्सेनि २० करोड ४ लाख मान्छे भोकमरीमा पर्नेछन् । हाल भइरहेको खाद्यान्न उत्पादनमा दोब्बरले बढाउनुपर्छ ।

एडम स्मिथ अर्थशास्त्रका पिता हुन्, पश्चिमा हुन् उनी । जुन ५, १७२३ मा स्कटल्यान्डमा जन्मिएका स्मिथ सन् १७९० मा बिते र १७७६ मा उनले पुस्तक लेखे । उनको पुस्तक ‘वेल्थ अफ नेसन्स’ नामले प्रसिद्ध छ र अहिले पनि त्यो स्मरणयोग्य नै छ । उनले सो पुस्तकमा उत्पादन र वितरणको सिद्धान्त प्रतिपादन गरे, धनको प्रकृतिबारेमा सटिक व्याख्या र विश्लेषण गरे । श्रम विभाजन, प्राविधिक ज्ञान, प्रविधि, उन्नति र प्रगति, पुँजी निर्माण, व्यापार र आर्थिक विकासको अवधारणा दुनियाँलाई दिए । नाफा, लगानी पुँजीको प्रकृति र उपयोग, कृषि, बजार र औद्योगिक विकासको खुलेर वर्णन गरे उनले । वैदेशिक व्यापार, सार्वजनिक वित्तलगायतमा जानकार हुन चाहनेले उनको पुस्तक पढेनन् भने अर्थशास्त्रको ज्ञानमा अधुरै हुन्छन् सबै ।

धेरै शतकअगाडि जाऔँ योभन्दा, इपू ३७० देखि इपू २८३ को कालखण्डतिर । हाम्रो नजिकैको भारतवर्षमा मौर्य वंशको शासन थियो । तक्षशीलाका प्राचार्य थिए, पुर्बेली दार्शनिक, कूटनीतिक क्षेत्रका हस्ती, सामाजिक अभियन्ता, अर्थशास्त्री, इतिहासकार, विख्यात र कालजयी पुरुष कौटिल्य । कौटिल्यको अर्थशास्त्र भनेपछि अहिले पनि सबैको ध्यान आकृष्ट हुन्छ । नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले आममान्छेलाई बाँच्न देऊ, पुर्बेली व्यवहारमूलक दर्शन हो यो, जसलाई जीवन र जगत् अनि धर्मदर्शन भनिन्छ र हामी केही वर्षअघिसम्म मंसिरमा धान भकारी भर्दा रातो अबिर, फूलसमेत सजाएर वर्षभरिका लागि अन्न सञ्चित गथ्र्यौं । त्यो अब एकादेशको कथा भयो र अब अरूले कोटामा दिएको चामल बढीमा ५ किलोको प्याकेट, स्कुटीको भरिया राखी कोठामा पुर्‍याउने गर्छौं, जहान घर हो भने खड्कुँलामै हराउँछ यो ।

१९ औँ शताब्दीमा आइपुग्दा अर्का प्रसिद्ध विद्वान् देखा परे । अर्थशास्त्री कार्ल हेनरिक माक्र्स, उनको ‘दास क्यापिटल’ भन्ने पुस्तक हाम्रा कम्युनिस्ट नेताहरूले पढेनन्, भुइँमान्छे र सर्वहाराको नेतृत्व गर्ने भन्दै शासनसत्ता चुँडेर लिए, जनता खाडीमा धकेलेर तिनको खुन पसिनामा नेताहरूले फागु खेल्दै छन् । पृथ्वीनारायण शाहको दिव्योपदेश देशलाई आत्मनिर्भर र हराभरा पार्नुपर्ने भन्ने सन्देश आउँदा हाम्रा नेताहरूले नाम कण्ठ पार्ने माओ, लेनिन र माक्र्स सायद यो लोकमा आइसकेका थिएनन् । अहिले भनिने सायद संसारका क्रान्तिकारी नेताहरू नै जन्मिएका थिएनन् । जुन देश अस्तितिर मात्रै जन्मेका हुन् तीप्रति भीक्षार्थी भएका छौँ हामी । सत्ययुगदेखि स्थापित नेपाल अहिले किन भीक्षार्थी बनेको छ, हिजोअस्ति जन्मेका देशहरूसँग चामललगायत अन्य वस्तुको कोटा किन माग्दै छ ?

भर्खरै हाम्रो देश दक्षिण एसियाको अब्बल गरिब भनी प्रमाणित भएको छ । अरू पनि छन् संकटमा यहाँ । श्रीलंका, पाकिस्तानपछि बंगलादेश आर्थिक संकटमा छ अहिले र चौथोमा परेका छौँ हामी । ठूलो व्यापारघाटा, उच्च मुद्रास्फीति, विदेशी मुद्रा सञ्चितिमा कमी, ऊर्जा संकटका कारण विश्व बैंक र आईएमएफबाट ऋण धेरै लिनुपरेको छ बंगलादेशले । हाम्रो संकट पनि उस्तै हो, देश श्रीलंका त हुँदै हुन्न भन्छन् सत्ताको साँचो लिनेहरू, तर सडकमा विरोध गर्नेहरूलाई च्याप–च्याप समातेर नियन्त्रणमा लिन थालिएको छ । महिला साक्षरता बढेको, शिशु मृत्युदर घटेको, मानव विकास सूचकांक राम्रो रहेको नजिकको भारत, पाकिस्तानभन्दा राम्रो भएको भनेर फुर्केको बंगलादेशले चमत्कारै गरेको छ भनेको केही समय बित्न नपाउँदै उसको संकट चुलिएको खबर बाहिरियो केही समयअघि मात्र ।

असार सकिन लाग्दा आधा रोपाइँ भएन, धान काट्न र रोप्नैका लागि विदेशीहरू आउनुपर्छ यहाँ, स्वदेशीहरू खाडीतिर भेडा गोठाला भए । असारमै ६५ प्रतिशत रोपाइँ हुँदा गत वर्ष चामलको कत्रो हाहाकार, छिमेकीले भन्सार बढाएर यहाँ कति महँगो भयो, पछि निर्यात नै रोकियो, अब त कोटा तोकेको अवस्था छ, पहिले गहुँ, आँटा, सुजी निर्यात रोक्दा यहाँको महँगी कति बढ्यो, अवगतै छ । गत वर्षको तुलनामा मध्यसाउनमा आउँदा २० प्रतिशतले रोपाइँ कम भयो, खेती हुने कर्णाली क्षेत्रमा गोरुको अभाव छ, अरू पहाडी क्षेत्रमा त्यही हालत दोहोरियो र अन्न भण्डार भनिने तराईमा अनाज उब्जाउ कमी छ र गत वर्षमै भारतबाट मात्रै २० अर्ब बढीको धान, ३५ अर्ब बढीको चामल आयात भयो । यो वर्षको हालत के होला, नेतृत्व लिनेहरू देश दौडाहामा मात्रै छन्, आपूर्ति श्रृंखला के छ हेर्नसम्म भ्याउँदैनन् । खेतीपातीका लागि पशु पनि चाहियो, प्रांगारिक मल पनि । गाईभैँसीमा लागेको लम्पी स्किन रोगले गएको चैतदेखि वर्षाकै समयसम्म पनि ७ लाख ६४ हजार चौपाया संक्रमित भएको खबर आयो, चार महिनामा २६ हजार पशु मरेछन्, किसानहरूको ३७ अर्ब ५० हजारको नोक्सानी भएको खबर पनि आयो । साउनमा पुग्दा साढे १० लाख बढी पशु संक्रमित भएका र झन्डै ५० हजार मरेका खबर आयो ।

देशलाई वार्षिक ७६ लाख मे.टन धान आवश्यक छ, आगामी सन् २०३५ सम्ममा वार्षिक १ करोड २ लाख ६० हजार मे.टन चाहिन्छ । सरकार भन्छ, ७६ लाख मे.टन उत्पादन हुन्छ, हालको लगानीले १२ वर्षमा यति उत्पादन कसरी होला ? जलवायु संकट बढ्दो छ । यो साललाई ५६ अर्बको बजेट हालियो, गत सालको बजेट १० अर्ब नै फिर्ता भयो, खर्चै गरिएन, अहिले रोपाइँ नै कम छ, सिँचाइ मुस्किलले ३० प्रतिशत छ, खाने बेलाको अन्न बाढीपहिरोले बढार्ने गरेको छ । दैनिक प्रतिव्यक्ति २ सय ५० ग्राम चामल खपत हुन्थ्यो पहिले, सन् २०१० मा आउँदा प्रतिव्यक्ति वार्षिक १३२.१६ केजी भयो, २०१५ मा पुग्दा १३६.९ केजी भयो, हाल १३८.७४ केजी छ, आउने दिनमा थप होला पक्कै । कुल उत्पादन नियमित भएछ भने पनि ३० प्रतिशत चामल त आयात नै हुने हो । खाद्य सुरक्षा भन्दै विदेशीले खाद्यान्न निर्यातमा रोक लगाउन थालेको धेरै समय भइसक्या छ । भारत, चीन, अमेरिका, कोरियालगायत १७ देशबाट चामल आयात गरेर पेट धान्नुपर्ने नेपालीप्रति विश्वको धारणा के होला त ?

संक्षेपमा भन्नुपर्दा वार्षिक ३ खर्ब बढीका कृषि उपजको आयात हुने गरेको छ, २८ अर्ब बढीको तरकारी नै आयात हुन्छ, यही मौका छोपी सरकारले भान्छामा पनि भ्याट लगाएको छ । देशमा प्याजको हाहाकार भयो, छिमेकीले निर्यात बन्द गर्दा, ९८ प्रतिशत प्याज विदेशबाटै आउँछ, आलुमा पनि परनिर्भर नै हौँ हामी, आधा आलु छिमेकीले दिनुपर्छ, आलुप्याज बिकेजस्तै नेपाली विदेशमा बिक्छन् र आलुप्याज बंगलादेश, इन्डोनेसिया, बेल्जियम, मलेसिया र अमेरिकाबाट समेत आउँछ, यहाँ हामी मुडेको आलु भन्दै किन्छौँ, मुडेमा कति आलु उत्पादन हुन्छ थाहा छैन । कृषि पेसामा ६६ प्रतिशत जनता हुँदाको हालत यो छ देशमा । आयात–निर्यातको सन्तुलन के छ भनी भन्सार विभागसँग जिज्ञासा राख्दा १६ खर्ब ११ अर्ब ७३ करोडबराबरका सामान आयात गर्दा निर्यात हाम्रो १ खर्ब ५७ अर्ब १४ करोडको डेटा प्राप्त भएको छ र तिर्न बाँकी ऋण २३ खर्बभन्दा माथि नै पुगेको छ । गत वर्ष मात्रै १६ अर्ब बढीको फलफूल आयात गरिएछ, स्याउ मात्रै ७ अर्ब ९ करोड ४४ लाखको, चीनबाट आएको स्याउ ५ अर्ब १५ करोड ५८ लाखको, यहाँसम्म कि अमेरिका, स्वीजरल्यान्डबाट समेत स्याउ आएछ, अंगुर २ अर्बको, केरा १ अर्ब ६२ करोडको, जबकि यी सामानका लागि उर्वर उत्पादन क्षेत्र हाम्रो छ ।

तिहारमा मात्रै छिमेकीबाट झिलिमिली बत्तीका सामान नै ४५ करोडको आएछ, १४ कराडको काजु, १९ करोड ओखर, अरू त कति–कति ! दसैंतिर मात्रै सरकारले भारतबाट १० लाख मे.टन धान खरिद गर्ने भन्यो, उताबाट कोटा ९५ हजारको मात्रै छ । मधेस स्वर्ग थियो पहिले, अहिले कस्तो छ, के यही निमी भनौँ जनकजस्ता दार्शनिक राजाले राज गरेको देश होइन र ? भूपतीन्द्र मल्लले पनि रैतीको चुलो नजलेसम्म आफू खाना खान्नथे रे । चुरेको संरक्षण छ र अहिले ? नदी, वन, सिमाना, सिमसार, कर्णाली, कोसी, गण्डकी, चुरेबाट बग्ने नदी जलप्रवाहका बारे अध्ययन नै भएन, कमला, बागमती आदि ६ हजारभन्दा बढी नदीनाला अरूलाई जिम्मा दिने कि आफैं प्रयोग गर्ने त ? मास्ने को हुन् त नि ? अहिले तीन महिनामा खाद्यान्न आयात २५ प्रतिशतले बढेको छ भन्छ भन्सार विभाग, धान, मकै, जौ, कोदो, गहुँको माग बढेको छ त, पूर्ति कसरी गर्ने नि ?

परदेशबाटै लादिएको हाम्रो देशमा गन्तव्य नै नभएको संघीयता र अति खर्चालु गणतन्त्र छ । विदेशी ऋणको भारी, उत्पादनका कटौती र बेरोजगारीका कारण युवाहरू यहाँ टिक्न सकेका छैनन् । बजेट १७ खर्बको छ, त्योभन्दा धेरै व्यापारघाटा र ऋण छ । लोकतन्त्रको दुर्दशा केन्द्रीय गृह प्रशासनलाई छुटाउन अदालतको हारगुहार आवश्यक परेको छ । आममाफी दिन राष्ट्रपति माहिर छन्, अदालतले कतिवटा निर्णय उल्ट्याउनु, सबै केस जाने गरेको छ अदालततिर । देशमा बालेन, हर्क, हमाल, रवि, ज्ञानेन्द्र शाही, दुर्गा प्रसाईंहरूको आवश्यकता थियो भने बीसौँ हजार नेपालीको ज्यान किन लिइएको ? चालु खर्च र विकास खर्च अनि ऋणको साँवाब्याज हेर्दा त सय वर्षमा पनि देश समृद्ध हुन्न, नेताका कुरा पत्याउने खालका छन् र ? नेपालीको टाउकोमा नजन्मदै कति ऋणभार छ भन्ने कुरो हुम्ली वा जुम्लीलाई थाहा पनि छैन । हालको संयन्त्रलाई कसरी पाल्ने नि ? अहिले कोरियाको नाम लिन्छन् सबैले, दक्षिण कोरियामा हाम्रो इपिएस प्रणालीबाट श्रमिकहरू पनि गएका छन् ।

त्यहाँका पूर्वराष्ट्रपति मुन्जेइन रहेछन् एक जना । आफ्नो कार्यकाल सकिएपछि उनी माटोको भाँडा बनाउने उद्योगतिर लागेछन्, हामीकहाँ सेरामिक उद्योग थियो पहिले, अहिले त राजनीति मिसियो यसमा पनि, दुई कार्यकाल बिताएका ओबामाले छोरी पढाउन होटलमा जागिर खाएको खबर आयो । हाम्रा चुसकहरू किन देशलाई लुँड्याइ मात्र रहन्छन् बाँचुन्जेल र मरेपछि स्मृतिकोषमार्फत पनि । कुरा डोकाको गर्ने, ठूलासँग फोटो खिचाउन ठूला जहाज चढ्ने, काम भने सिन्को नभाँच्ने किन ? मंसिरमै किसानको घरगोठमा धान, चामल छैन र पशुपन्छीहरू पनि, दसैंका च्याङ्ग्रालाई अझै सास हालिँदै छ रे ! यो दूरदर्शिता हो र ? किन बनाउने पञ्चवर्षीय योजनाहरू, जुन सबै अहिलेसम्म अधुरा छन् ?

प्रतिक्रिया दिनुहोस्