पोखरामा मेला र महोत्सव बढ्यो

पोखरा– पर्यटकीय सहरको रुपमा स्थापित पोखरामा मेला र महोत्सव बढ्न थालेको छ । नेपालमै पहिलो पटक महोत्सवको अवधारण ल्याएको पोखरामा लगातार मेला र महोत्सव हुन थालेको हो । कोभिड १९ पछि अर्थतन्त्रमा परेको प्रभावले धेरै उद्योग तथा व्यावसायिक क्षेत्र प्रभावित भएको थियो ।
यस्तो अवस्थामा पोखरामा हुने मेला महोत्सवले यस क्षेत्रको व्यावसायिक प्रवर्द्धन गरी आर्थिक क्रियाकलाप केही हदसम्म चलायमान बनाउने व्यवसायीहरुले बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा उद्योग वाणिज्य संघदेखि विभिन्न क्लब, रेवान पोखरासहितका विभन्न संघ संस्थाले आयोजना गर्दै आएका मेला महोत्सवको सिजन सुरु भएको छ ।
अर्थशास्त्री लेखनाथ भट्टराईले यस्ता मेला महोत्सवले व्यक्तिहरुमा खर्च गर्ने प्रवृत्ति बढाउने बताए । उनले मेला महोत्सवले अर्थतन्त्रमा केही हदसम्म चलायमान बनाउनेमा जोड दिए । विदेशबाट आयातित वस्तु मेला महोत्सवमा बिक्री भए पनि अधिकांश रकम विदेशीने गरेको अर्थशास्त्री भट्टराईको भनाइ छ । ठूला उद्योगी व्यवसायीले अनलाइनको माध्यमबाट आफ्नो बजारीकरण गर्ने गरेको अवस्थामा साना र मझौला उद्योगहरुलाई यस्ता मेला महोत्सवले प्रवर्द्धन गर्नुपर्ने बताए ।
२०५२ मा पहिलो पटक पोखरामा महोत्सव भएको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका पूर्व अध्यक्ष संजिव कोइरालाले बताए । राज्यले देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै यहाँ उत्पादित वस्तुको बजारीकरण र प्रर्दशनीमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने कोइरालाको भनाइ छ । पोखरा क्षेत्रमा मंसिर २१ देखि लगातार दुई महिना हुने मेला महोत्सवले पालिका क्षेत्रमा आर्थिक क्रियाकलाप चलायमान बनाउन सहयोग पुग्नेमा उनले जोड दिए ।
प्रायः मंसिरको तेस्रो सातादेखि पुस महिना भरी नै पोखरामा विभिन्न मेला र महोत्सव हुने महोत्सव आयोजक संस्थाहरुले जनाएका छन् । कोभिडपछि आर्थिक मन्दीले देशको अर्थतन्त्र निकै शिथिल भएको अवस्थामा विभिन्न मेला र महोत्सव हुनुले केही हदसम्म भए पनि अर्थतन्त्रलाई चलायमान बनाउन आफूहरुको विश्वास लिएको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए ।
पोखरा क्षेत्रमा हुने मेला महोत्सवले यहाँको कृषि उत्पादनको बजारीकरणमा केही पर्यटन प्रवर्द्धन गर्नुका साथै आर्थिक क्रियाकलापलाई थोरै भए पनि चलायमान बनाउने उनको भनाइ छ । पोखरामा मेला र महोत्सवको सहरको रुपमा विकसित हुँदै आएको छ । पोखरामा एकै मितिमा धेरै मेला र महोत्सव हुँदै आएका छन् ।
पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २१ देखि पुस १ सम्म पोखराको प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । तीन सयभन्दा बढी स्टल रहने महोत्सवको अन्तिम तयारीमा रहेको संघका अध्यक्ष पवन कुमार प्रजापतिले बताए । एकै मितिमा विभिन्न मेला र महोत्सवको रौनक हुने गर्दछ । पोखरामा आठौं संस्करणको पर्वतीय महोत्सव मंसिर २२ देखि २६ सम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आउँदो पुष ५ देखि १६ सम्म १९ औ संस्करणको लेखनाथ महोत्सव हुने भएको छ । सुन्तला महोत्सवबाट सुरु भएको उक्त महोत्सव हरेक वर्ष जसो उत्कृष्ट रुपमा सफल हुँदै आएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले बताए । त्यसैगरी पोखरामा विगत लामो समयदेखि लाखौं पर्यटक भित्र्याउँदै पोखरा सडक महोत्सवले अर्को रौनक थप्ने गरेको छ ।
यो वर्षको २५ औं पोखरा सडक महोत्सव पुष १२ देखि १६ सम्म हुने भएको महोत्सव संयोजक विश्वराज पौडेलले बताए । पोखरामा एउटा क्लबले आयोजना गरेको महोत्सव नमुना महोत्सवकै रुपमा स्थापित भएको छ । पोखराको यूनाइटेड क्लवको आयोजनामा यो वर्ष पुषको अन्तिम साता १२ औं संस्करणको पोखरा महोत्सव हुने भएको क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए । पोखरामा केही संस्थाको मात्र नाम उल्लेख भए पनि कैयौं संघ संस्थाले मेला र महोत्सव आयोजना गर्दै आएका छन् ।