वाणिज्य बैंकहरूको चुक्ता पुँजी १ सय २० प्रतिशतले वृद्धि

नेपाल राष्ट्र बैंकले चुक्तापुँजी वृद्धिको नीति अख्तियार गरेपछि बैंक तथा वित्तीय संस्थाले पुँजी ८५ प्रतिशतले बढाएका छन् ।
बैंक तथा वित्तीय संस्थाको चुक्तापुँजी ०७२ सालको असार मसान्तमा १ खर्ब ४१ अर्ब ७० करोड रुपैयाँ रहेकामा गत पुस मसान्तमा २ खर्ब ६२ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष ०७२-७३ को मौद्रिक नीतिमार्फत न्यूनतम चुक्तापुँजी वृद्धिको नीति अवलम्बन गरेको थियो । राष्ट्र बैंकको नीतिपश्चात् बैंक तथा वित्तीय संस्थाहरूले चुक्तापुँजी १ खर्ब २१ अर्ब ५ करोड रुपैयाँ बढाएका हुन् ।
हाल २८ वटा वाणिज्य बैंक, ३६ वटा विकास बैंक, २५ वटा वित्त कम्पनी र ५८ वटा लघुवित्त गरी १ सय ४७ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् ।
सञ्चालनमा रहेकामध्ये वाणिज्य बैंकहरूले चुक्तापुँजी १ सय २० प्रतिशतले बढाएका छन् । २०७२ सालको असार मसान्तमा वाणिज्य बैंकहरूको चुक्तापुँजी ९८ अर्ब ३० करोड रहेकामा त्यस्तो पुँजी गत पुस मसान्तसम्म १ खर्ब १७ अर्ब ९० करोडले बढेर २ खर्ब १६ अर्ब २० करोड रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूले १ खर्ब १७ अर्ब ९० करोडमध्ये ७१ अर्ब ९० करोड बोनस सेयर तथा ४६ अर्ब हकप्रद सेयरमार्फत बढाएका हुन् ।
यस्तै विकास बैंकहरूको चुक्तापुँजी भने ७ अर्ब ३० करोड अर्थात जम्मा २६ दशमलव ४४ प्रतिशतले मात्र बढेको छ । ०७२ सालको असार मसान्तमा विकास बैंकहरूको चुक्तापुँजी २७ अर्ब ६० करोड रहेकामा गत पुस मसान्तमा ३४ अर्ब ९० करोड पुगेको छ । कतिपय विकास बैंक वाणिज्य बैंकहरूसँग मर्जरमा गएका कारण चुक्तापुँजीको वृद्धि कम देखिएको हो । विकास बैंकहरूले पुँजी बढाउने क्रममा यो अवधिमा १६ अर्ब ८१ करोड रुपैयाँको हकप्रद निष्कासन गरेका छन् ।
यसैगरी, मर्जरमा गई संख्या उल्लेख्य रूपमा घटेका कारण वित्त कम्पनीको पुँजी वृद्धि भने ऋणात्मक देखिएको छ । ०७२ सालको असार मसान्तमा वित्त कम्पनीहरूको चुक्तापुँजी १५ अर्ब ८० करोड रहेकामा हाल त्यो पुँजी २६ दशमलव ५८ प्रतिशतले घटेर ११ अर्ब ६० करोड कायम भएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूले ८ अर्ब, राष्ट्रियस्तरका विकास बैंकले २ अर्ब ५० करोड र राष्ट्रिय स्तरका फाइनान्सले ८० करोड चुक्तापुँजी पुर्याउनु पर्ने नीति लिएपछि धमाधम पुँजी बढाउने क्रम चलेको हो ।